Comments Add Comment

बेदुराम भुसाल भन्छन्- बराबरी संख्या भन्नु पार्टी एकता नगर्ने अडान हो

'समान संख्यामा एकीकरण हुँदैन, यो एमालेको आधिकारिक धारणा हो'

१९ चैत, काठमाडौं । बेदुराम भुसाल एमाले पंक्तिभित्र लो प्रोफाइलमा बस्न रुचाउने नेता हुन् भने एमाले बाहिर ठूलो पंक्तिमा अपरिचित जस्तै लाग्ने पात्र हुन् । राष्ट्रिय राजनीतिमा भन्दा पार्टीभित्र सैद्धान्तिक र सांगठानिक काममा खटिने नेता भएका कारण पनि उनी चर्चामा कम रहन्छन् ।

पछिल्लो समय एमाले माओवादी एकीकरणका सन्दर्भमा गठित बिधान मस्यौदा र संगठन एकीकरण कार्यदलको सदस्य बनेपछि उनी मिडियाको नजरमा परे । कार्यदलभित्र पनि वर्षमान पुन र उनले अन्तरिम विधानको मस्यौदा लेख्ने जिम्मा पाएका थिए । जुन मस्यौदाका केही विषयमा सहमति हुन नसकेर पार्टी एकता संयोजन समितिमा पठाइएको छ ।

एमाले पोलिटव्यूरो सदस्य समेत रहेका भुसालसँग हामीले बिधानको प्रस्तावनामा जनयुद्ध राख्न एमालेले किन नमानेको ? चुनाव चिन्ह सूर्यमै किन अडिएको ? भनेर सोध्यौं ।

उनले प्रष्ट भनेका छन्- ‘जनयुद्ध’ शब्द नेपाली राजनीति र नेपाली समाजमा सबैभन्दा विवादित शब्द हो, यसलाई एमालेले शिरमा बोकेर भविश्यको बाटो हिँड्न सक्दैन ।

अर्कोतिर माओवादी पक्षले ५०/५० को अनुपातमा मात्र एकीकरण हुने बटमलाइन अघि सारेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग यसबीचमा दुईपटक भेटेर पार्टीको लाइन बुझेका भुसालले अनलाइनखबसँग भने, ‘समान संख्यामा एकीकरण हुँदैन, माओवादीको अहिलेको अडानले पार्टी एकता हुँदैन । यो मेरो होइन, एमालेको आधिकारिक धारणा हो ।’

एमाले नेता बेदुराम भुसालसँग अनलाइनखबरकर्मी मात्रिका पौडेलले गरेको कुराकानीः

कार्यदलमा जनयुद्ध, चुनाव चिन्ह र पार्टी एकताको अनुपातमा नमिलेको देखियो, तपाईहरुले नसकेर छाडेको हो कि, आफ्नो थाप्लोमा लिन नचाहेको ?

त्यो विषय हामीले छलफल गरेनौं, हामीलाई किटानीका साथ छलफल गर्ने भनिएको पनि थिएन । बाँकी दुईटा विषयमा छलफल गर्दा मतैक्यता नभएका विषय हुन् । प्रस्तावमा जनयुद्ध लेख्ने कि नलेख्ने र चुनाव चिन्ह के राख्ने भन्नेमा कुरा नमिलेकै हो ।

कम्युनिस्टहरु शब्दका कारण फुट्ने गरेका छन्, शब्दमा कुरा नमिलेको तपाईहरुको विवाद प्राविधिक मात्र हो कि, त्यसभित्र अन्तर्य पनि गम्भिर छ ?

प्राविधिक मात्र भन्न पनि सकिन्न । कुन शब्द प्रयोग गर्ने भन्ने त्यसको अर्थसँग जोडिएको हुन्छ ।

कार्यदलमा आइसकेपछि केही माओवादी साथीहरुले हैन जनयुद्ध नै शब्द राख्नुपर्छ भन्नु भएपछि कुरा मिलेन

कुन बेलामा के शब्द प्रयोग गर्ने भन्ने हुन्छ । इतिहासको सन्दर्भमा जनयुद्ध शब्द प्रयोग गर्न आपत्तिको विषय होइन । अहिले हामीले बनाउँदै गरेको बिधान भनेको वर्तमानको दस्तावेज हो । विधानको प्रस्तावना भनेको वर्तमानमा हामी के गर्दैछौं भन्ने कुरा हो । त्यसले गर्दा यो शब्द अहिलेको सन्दर्भमा उपयुक्त हो कि होइन भन्ने कुरामा हामी बहसमा छौं ।

‘जनयुद्ध’ भन्ने शब्दको विकल्पमा ‘सशस्त्र विद्रोह’, ‘जनक्रान्ति’ जस्ता शब्दमा पनि छलफल भएन ?

जनक्रान्ति भन्ने शब्द नै प्रयोग गरिएको छ त्यहाँ । त्यहाँ के छ भने-यो पार्टी आफनो स्थापना कालदेखि नै संघर्षका शान्तिपूर्ण र सशस्त्र दुवै रुप अबलम्बन गर्दै  राष्ट्रियता लोकतन्त्र जनजिविकाका निम्ति विभिन्न प्रकारका जनआन्दोलन र जनक्रान्तिमा निणर्ायक भूमिका खेलेको पार्टी हो भनिएको छ ।

यो भनेको सिंगो पार्टीको सन्दर्भमा हो । जुन पार्टी हामी बनाउदैछौं त्यसलाई  भनेको हो । २००६ साल वैशाख १० मा स्थापना भयो, २०१७ सालपछि विभाजन भयो । विभिन्न खालका समूहहरु बने । अहिले चाहिँ दुई समूहका बीचमा एकता गरेर हामी नयाँ पार्टी बनाउँदैछौं । यो पार्टीले विगतदेखि नै यो भूमिका खेलेको छ भन्ने सन्दर्भमा माओवादी साथीहरुले जनयुद्ध शब्द राखौं भन्नुभएको हो ।

जनक्रान्ति शब्दमा कसको विमति रहृयो ?

कार्यदलले वर्षमान पुनजी र मलाई विधान मस्यौदा गर्ने जिम्मा दिइएको थियो । हामीबीच  भएको छलफलमा जनक्रान्ति भन्ने शब्दमा सहमत भएका थियौं । तर कार्यदलमा आइसकेपछि केही माओवादी साथीहरुले हैन ‘जनयुद्ध’ नै शब्द राख्नुपर्छ भन्नु भएपछि कुरा मिलेन ।

जनयुद्ध शब्द राख्दा तपाईहरुलाई चाहिँ के आपत्ति ?

यो शब्द नेपालको राजनीतिमा विवादित शब्द हो । नेपाली राजनीतिको सबैभन्दा विवादित शब्द नै यो हो भन्न सकिन्छ । नेपाली समाजमा पनि विवादित शब्द हो जनयुद्ध । यहि विवादित शब्दकै कारण ३०० भन्दा बढी एमाले कार्यकर्ता मारिएका छन्, नेपाली जनता मारिएका छन् । त्यसलाई हामीले समिक्षा पनि गरेका छैनौं । त्यसै शिरमा बोकेर हिँड्न त गाह्रो हुन्छ नि ।

सूर्य चिन्हप्रति चाहिँ किन यस्तो विवाद ?

सूर्य चिन्ह एउटामात्रै पार्टीको हुने भयो, यसभित्र हँसिया हथौडा पनि राखौं भन्ने कुरा माओवादी पक्षबाट आयो । तर, चुनाव चिन्ह भनेको चाहिँ सरल र सहज हुनुपर्छ भन्ने हाम्रो कुरा हो । चुनाव चिन्ह भनेको बनाउन पनि सजिलो होस्, बताउन पनि सजिलो होस् । बनाउन पनि सजिलो छ, गोला पार्‍यो, रेखा तानेपछि जसले पनि बनाउन सक्छ । सरल र परिचित चिन्ह बोक्नु राम्रो हुन्छ ।

यो त २०४३ सालदेखि नेपाली जनताले चिनेको चुनाव चिन्ह हो । २०४३ मा मालेले जनपक्षीय उम्मेदवार उठाउँदा पद्मरत्न तुलाधरले सूर्य चिन्हबाट  जित्नुभयो । पछि एमालेले २०४८ को चुनावमा यहि चिन्ह लिएको हो ।

त्योबेला हामीबीच २०१५ सालको पार्टीको चुनाव चिन्ह लिने हो कि भन्ने पनि छलफल भएको थियो । त्योबेला नेपाल कम्युनिस्ट पार्टीको चुनाव चिन्ह मकैको घोगा थियो । तर, चुनाव चिन्ह जनताले बुझ्ने खालको र सजिलो हुनुपर्छ भनेर यो लिएको हो । त्यो बेला हँसिया हथौडा चुनाव चिन्ह लिने कि भन्ने पनि कुरा भएको थियो ।

सूर्य चिन्ह हुँदै हुँदैन भन्नेमा सबै माओवादी साथीहरु हुनुहुन्न । बहस र छलफल गर्दा यसमा सहमति हुन्छ जस्तो लाग्छ ।

अनि पार्टी एकता गर्दा समानतामा आधारित अर्थात समान संख्यामा हुनुपर्छ भन्ने कुरा माओवादीबाट आएको हो ?

कार्यदलमा यसको छलफल भएन । मैले यसबारे छलफल गरौं भन्दा यहाँ नगरौं भन्ने कुरा आयो । कत्रा कमिटी बनाउने भन्ने सन्दर्भमा छलफल गर्दा २९९ भनेका छौं । राष्ट्रिय परिषदमा धेरै साथीहरुलाई समेट्ने गरी १२/१३ सय जना रहन्छन् । प्रदेश कमिटी पनि १५१ बाट शुरु गर्ने भनेका छौं । त्यहाँ पनि प्रदेश परिषदको व्यवस्था गरिएको छ । यो चाहिँ धेरै नेताहरु जिल्ला तहबाट माथिल्लो तहमा आएका नेताहरुलाई ब्यवस्थापन गर्ने भनेर राखेका हौं ।

यसमा कुन पार्टीबाट कति राख्ने भन्ने कुरामा पार्टी एकता संयोजन समितिमा छलफल होला । तर, अहिले बाहिर समानतामा आधारित एकता भनिएको छ । एकीकरण गर्दा संख्यामामात्र समानता हो ? हामीले खोजेको बिचार, दृष्टिकोण र समानता हो ।

हामीले ६०/४० गर्दा जनताले त्यो पोजिसन त दिएन । जनताले दिएको मतको आधारमा एकता गरौं । दुई-चार अंक तलमाथि हुनसक्छ तर, आधार चाहिँ जनमतलाई बनाउनुपर्छ

समानता भएरै एकीकरण भयो नि ?

त्यहि हो समानता भनेको  ।

अहिले संख्यामा नमिलेर पार्टी एकतामा अवरोध आउनु त हात्ती छिर्‍यो, पुच्छर अड्क्यो जस्तो भएन र ?

उहाँहरुले अहिले बाहिर समानता र सम्माजनक भन्नुभएको छ । म पनि त्यहि भन्छु । बिचारमा समानता, दृष्टिकोण, दर्शन र सिद्धान्तमा समानता गरौं । बिचारमा समानता भएपछि पार्टी एकता हुने हो ।

सम्मानजनक गरौं भन्ने कुरामा पनि मेरो सहमति छ ।  सबैभन्दा ठूलो कुरा जनतालाई सम्मान गरौं । पार्टी एकता भनेको केही नेतालाई सम्मान गर्नका लागि मात्र होइन । जनताको सेवा गर्न एकीकरण गर्न जाँदैछौं । जनतालाई सम्मान गर्ने भनेको भर्खरै जनताले दिएको मतलाई सम्मान गर्ने भनेको हो । जनमतलाई सम्मान गरेरमात्र एकता गरियो भने दिगो हुन्छ ।

तपाईको मतलब चुनावमा आएको परिणामका आधारमा एकता गर्ने ?

जनमतको सम्मान भनेको त्यहि हो । हामीले माथि मात्र गरेर त हुँदो रहेनछ नि । उम्मेदवारी त हामीले ६०/४० को अनुपातमा गरेको हो । तर, परिणाम ७०/३० मा आयो । यो त जनताले दिएको पोजिसन हो । हामीले ६०/४० गर्दा जनताले त्यो पोजिसन त दिएन । जनताले दिएको मतको आधारमा एकता गरौं । दुई-चार अंक तलमाथि हुनसक्छ तर, आधार चाहिँ जनमतलाई बनाउनुपर्छ ।

तर, माओवादीले २०४७ मा तत्कालीन माले र मार्क्सवादी मिलेर एमाले बन्दाको जस्तो आधा आधा भनेको छ, त्यसमा तपाईहरुको आपत्ति हो ?

उहाँहरुले हामीसँग भन्नुभएको छैन तर, बाहिर प्रचार गर्नुभएको छ । २०४७ को माले मार्क्सवादी एकीकरण पनि समानतामा आधारित थिएन । इतिहास बंग्याउने प्रयास भइरहेको छ । त्यो एकतामा कार्यकारीयणी कमिटी राष्ट्रिय परिषद थियो । त्यो ७० सदस्यीय थियो र त्यसमा मालेका ४२ र मार्क्सवादीका २८ जना थिए । त्यो बेलाको केन्द्रीय कमिटी र पोलिटव्यूरोमा समान संख्या किन राखिएको थियो भने मार्क्सवादीका धेरै सिनियर नेता समेट्नका निम्ति गरिएको थियो । तर, कार्यकारिणी कमिटी राष्ट्रिय परिषद थियो । त्यहि नै महाधिवेशन आयोजक समिति बनेको थियो ।

सिंगो एमालेको बुझाइ हो कि संख्यामा बराबरीमा जान सकिँदैन । साँच्चै नै त्यो खालको अडान हो भने यो एकता नहुने खालको अडान हो

अर्को कुरा हामीले पार्टी एकीकरण गर्दा चुनाव भएको थिएन । चुनावमा नगएकाले जनमत कसको कति भन्ने थिएन । मनमोहन अधिकारी, साहना प्रधान, भरतमोहन अधिकारी, सिद्धिलाल सिंह, बलराम उपाध्याय जस्ता नेताहरुको सम्मान गर्नुपर्ने भएकाले गरिएको थियो । तर, देशब्यापी रुपमा मालेको संगठन ठूलो थियो । जिल्ला कमिटीहरु गठन हुँदा देशभरीमा १० वटा जिल्लाको नेतृत्व पनि माक्सर्ंवादीतर्फ गएको थिएन । किनभने संख्या कम थियो, नेता धेरै थिए उहाँहरुसँग ।

त्यो बेलाको परिस्थिति र अहिलेको परिस्थिति फरक छ । अस्ति भर्खर माओवादी र नेकपा संयुक्तबीच एकीकरण भयो, किन समानतामा आधारित भएन ? बादलजीहरु वैद्यबाट आएपछि पनि समानतामा आधारित भएन । त्यो त असंगत कुरा हो ।

अब यो समानतामा आधारित एकताको निष्कर्ष चाहिँ कसरी आउला त ?

समानताका आधारमा जान्छौं । तर, समान संख्यामा मात्र एकता हुन्छ भन्ने हो भने यो एकता हुँदैन । बराबरीमा त हुनै सक्दैन नि । ७० प्रतिशत त्यसै आएको हो ? नेता नभई कार्यकर्ता नभई, खट्ने मान्छे नभई त्यत्रो जनमत आएको हो ? २०६४ मा उहाँहरुको सिट बढी भए पनि जनमत उस्तैउस्तै थियो । त्यो बेला हामीबीच एकता गेको भए बराबरीमा मान्नुहुन्थ्यो उहाँहरु ? त्यसैले यसमा तलमाथि हुँदैन ।

यो एमाले अध्यक्ष केपी ओलीको पनि धारणा हो ?

अध्यक्षको धारणा त उहाँलाई नै सोध्दा राम्रो होला । तर, मैले आजसम्मको आफ्नो बुझाई भनेँ । यो सिंगो एमालेको बुझाइ हो कि संख्यामा बराबरीमा जान सकिँदैन । साँच्चै नै त्यो खालको अडान हो भने यो एकता नहुने खालको अडान हो ।

यो पनि पढ्नुहोस् 

प्रचण्डलाई ओलीको सन्देशः शीरमा जनयुद्ध, शरीरमा ५०/५० हुन्न !

‘प्रचण्डको व्यवस्थापन भइसक्यो, अब प्रधानमन्त्रीलाई साथ दिनुपर्छ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment