Comments Add Comment

माओवादी मागबारे छलफल गर्न एमालेले बैठक बोलायो

दुवै पार्टीका नेताले भने-संख्याको विवादले पार्टी एकीकरण भाँडिदैछ

२० चैत,काठमाडौं । पार्टी एकता संयोजन समितिको बैठक बस्नुअघि नेकपा एमाले स्थायी कमिटीको बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपरान्ह २ बजे स्थायी कमिटी बैठक डाकेका छन् । संयोजन समिति बैठक साँझ बस्दैछ ।

माओवादीले पार्टी एकीकरणमा बराबरी संख्या माग गरेको र जनयुद्ध शब्द राख्ने तथा सूर्य चिन्ह नमान्ने अडान लिएको सन्दर्भमा एमालेको आधिकारिक धारणा तय गर्न स्थायी कमिटी बैठक बोलाइएको हो । एमालेले सूर्य चिन्ह नछाड्ने र माओवादीलाई ५० प्रतिशत हिस्सा दिन नसकिने अनौपचारिक सन्देश दिइसकेको छ ।

पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले चुनावमा जस्तो प्रतिशत छुट्याएर एकीकरण नहुने भन्दै समानतामा आधारित एकता हुने बताइरहेका छन् । यसलाई एमाले पंक्तिले ५०/५० को अर्थमा बुझे पनि माओवादीका एक नेताले भने त्यसरी नबुझ्न आग्रह गरेका छन् ।

राजनीतिक दस्तावेज मस्यौदा कार्यदलका सदस्य समेत रहेका माओवादी स्थायी कमिटी सदस्य शक्ति बस्नेतले संख्याको कुराले पार्टी एकता नरोकिने बताए । उनले भने-अहिले संख्याको पोजिशन लिने कुरा होइन,पार्टी एकता २२ अपि्रलमा हुन्छ, संख्याको समाधान संयोजन समितिबाट हुनेछ ।

माओवादी नेताहरुले ५०/५० आफ्नो बटमलाईन नभएको समेत बताएका छन् । तर एमालेले भने जस्तो ७०/३० को आधारमा एकता नहुने र त्यो भनेको बिलयमात्र हुने उनीहरुको तर्क छ । दुवैपक्षले सम्मानजनक एकताको अनुभूति गर्नुपर्ने माओवादी नेताहरुको भनाइ छ ।

स्रोतका अनुसार एमाले नेताहरु पनि यस सन्दर्भमा बिभाजित छन् । माओवादीलाई ३० प्रतिशत भन्दा बढी दिन नसकिने एकथरी नेताको अडान छ भने केही नेता संख्याका कारण एकता भाँडिन नहुनेमा सचेत छन् । दुबै पार्टीका अध्यक्ष तहमा कुरा भएपछि संख्याको विवाद मिल्ने नेताहरुले बताए ।

पार्टी एकता प्रक्रियामा शुरुदेखि सामेल रहेका एमाले उपमहासचिव बिष्ण पौडेलले प्रतिशतका आधारमा भागबण्डा नहुने बताए । उनले भने-एमालेले ६० र माओवादीले ४० प्रतिशत सिट बाँडफाँड गरेर चुनाव लडेको जस्तो पार्टी एकीकरणमा त्यो सूत्र लागु हुन्न, अहिले भने जस्तो ५०/५० पनि हुन्न । संख्याको विवादनै होइन,सबै कुरा मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment