+
+

एनएमबीले विदेशबाट ल्याउँदैछ १ अर्ब ५० करोड ऋण

विजयराज खनाल विजयराज खनाल
२०७४ चैत २० गते १३:०७


२० चैत, काठमाडौं । एनएमबी बैंकलाई एक अर्ब ५० करोड ऋण ल्याउन बाटो खुलेको छ ।

राष्ट्र बैंकको सञ्चालक समितिले बैंकहरूले विदेशबाट ऋण ल्याउन सक्ने नीति पारित गरेसँगै एनएमबी बैंकलाई एक अर्ब ५० करोड ऋण ल्याउन बाटो खुलेको हाे ।

विश्व बैंकको सदस्य संस्था अन्तराष्ट्रिय वित्त निगमसँग एनएमबी बैंकले चैत १३ मा एक अर्ब ५० करोड रुपैयाँ (एक करोड ५० लाख डलर) ऋण लिने सम्झौता गरेको थियो ।

‘हामीले एक अर्ब ५० करोड रुपैयाँ ऋण ल्याउने तयारी गरेका हौं, राष्ट्र बैंकमा अनुमतिको लागि गएका छौं,’ एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने ।

राष्ट्र बैंकको सञ्चालक समितिले नीति पारित गरिसकेकाले केही दिनभित्रै नीति सार्वजनिक गरिने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।

‘विदेशबाट पुँजी ल्याउन हालसम्म एनएमबी बैंक र एनआइसी एशियाले मात्रै आवेदन दिएका छन्,’ राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक नारायण पौडेलले भने ।

वाणिज्य बैंकहरूले मात्रै विदेशबाट ऋण लिन सक्ने व्यवस्था गरिएको हो । यसअघिसम्म बैंकहरूले विदेशबाट ऋण ल्याउन सक्ने व्यवस्था थिएन ।

राष्ट्र बैंकले विदेशी ऋण दाताले लिने ब्याजदरमा तीन प्रतिशतसम्म मात्र लागत थप्न सक्ने व्यवस्था गरेको छ । ‘विदेशी बैंकहरूले एक आपसमा कारोबार गर्ने व्याज दरलाई ‘लिबर रेट’ भनिन्छ, यसमा तीन प्रतिशतभन्दा धेरै लिन नपाउने व्यवस्था गरेका छौं,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने । उनका अनुसार व्याजदर करिब १० प्रतिशत हाराहारी हुने भएको छ ।

विदेशबाट ऋण ल्याउँदा बैंकहरूले आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ल्याउन सकिने व्यवस्था गरिएको छ । यो प्रावधानले सबै वाणिज्य बैंकले अधिकत्तम सीमामा पुँजी भित्र्याउने पहल गरेमा ७५ अर्ब रुपैयाँ ल्याउन सक्नेछन् । यसरी ल्याउने कर्जाको अवधि कम्तीमा एक वर्षदेखि पाँच वर्षसम्मको हुने व्यवस्था नीतिमा गरिएको छ ।

विदेशबाट ल्याउने ऋणको लागि हेजिङ (एउटाको मूल्यको कारण हुने जाखिम कम गर्न अर्को वस्तुमा लगानी गर्ने तरिका) को सुविधा पनि दिइएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । नीति सार्वजनिक नभएकाले यसको सुविधा कस्तो हुन्छ खुलेको छैन ।

विदेशबाट ल्याइने यस्तो पुँजी राष्ट्र बैंकले तोकेको कृषि, ऊर्जा, पर्यटनजस्ता प्राथमिकता प्राप्त क्षेत्र र नाना तथा माझौला कर्जाको रूपमा लगानी गर्नुपर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थामा अपेक्षित रूपले निक्षेप वृद्धि नहुँदा र कर्जाको माग उच्च हुँदा पुँजी अभाव देखिएको छ । यसको समाधानका लागि बैंकहरूलाई विदेशबाट ऋण ल्याउन सकिने व्यवस्था मिलाइएको हो ।

बैंकहरूले विदेशमा रहेको आफ्नो निक्षेपलाई देखाएर पनि ऋण लिन सक्छन् भने बैंकको अवस्था हेरेर पनि ऋण पाइने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?