Comments Add Comment

भारतमा बेचिएकी चेली १७ वर्षपछि घर फर्किइन्

२१ चैत, कञ्चनपुर । भारतमा बेचिएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाकी तारा कामीले आफू घर फर्कने कल्पना समेत गरेकी थिइनन् ।

विसं २०५८ मा पन्ध्र वर्षकै कलिलो उमेरमा घर नजिकैको झलारी बजारमा किनमेल गर्न गएका बखत दलालहरूले नशालु पदार्थ खुवाएर पुर्याएर बेचेका थिए ।

‘यहाँबाट लगेपछि कोठामा थुनेर राख्थे, होशमा आउने बित्तिकै नशालु सूई लगाएर बेहोस बनाउँथे’ ३२ वर्षीया ताराले भनिन्, “कहाँ लग्दैछ थाहा पाउने कुरै भएन । कार चढेर आउनेसँग एक हातमा पैसा लिन्थे, अर्का हातले मेरो हात सुम्पन्थे । चार पाँच ठाउँमा यसैगरी बेचिएँ ।’

‘डेढ वर्षसम्म रोइ नै रहेँ, रोएको कसैले सुनेनन्, नशालु सूईका कारण अहिलेसम्म मेरो दिमागले कति बेला कामै गर्दैन, के बोल्दैछु, कहाँ हिँड्दैछु थाहा हुँदैन’ उनले भनिन् ।

भारतको पन्जाब प्रान्त हुँदै हरियाणाको कैथल जिल्ला गुलाँ तहसिलका जसकरण सिंहसँग बेचिएपछि उनी सँगै घरजम गरेकी छन् । अहिले १५ वर्षको छोरो छ ।

‘सिसैया झलारी नेपाल मात्रै नाम थाहा थियो’ ताराले भनिन्, ‘छोरोले गुगल म्याप हेर्दै यहाँ ल्याए । यसमा भारतमा काम गर्दै आएका नेपालीको पनि सहयोग छ ।’

‘यहाँ आउँला, परिवारजनसँग भेटघाट होला भनेर सपनामा समेत कल्पना गरेको थिइनँ, छोरोको प्रयासले सबै जनासँग भेटन पाएँ’ उहाँले गहभरि आँशु पार्दै भनिन्, “मलाई यहाँबाट लगेर बेच्नेलाई फाँसी दिनुपर्छ । मैले त हुनसम्म यातना पाएँ । अरूले पाउन नपरोस् ।’

उनले भनिन्, ‘अहिले कुनै दुःख छैन, घर र गाउँमै सल्लाह गरेर माइती भेट्न पुगेकी छु ।’

घरजमका लागि आफू बस्दैआएको गाउँमा भारतकै उत्तराखण्डका र नेपाली चेलीलाई आफूलाई जस्तै किनेर घरजम गर्नेहरु धेरै रहेको उनले बताइन् ।

उहाँका अनुसार यस गाउँमा किनेर विवाह गर्ने चलन छ । “धनीले किनेर विवाह गर्छन्, गरिब भए विवाह नै हुँदैन” उनले सुनाइन् ।

ताराकी आमा वीरमा कामीले भने छोरी अब जीवित छैन भनेर माया मारिसकेको सुनाइन् । उनले भनिन्, ‘भेट्न पाएपछि हर्षका आँसु थाम्नै सकिनँ ।’

स्थानीय बासिन्दाका अनुसार सिसैया गाउँबाट मात्रै छ जनाभन्दा बढी किशोरी बेपत्ता भएकामा अहिलेसम्म तीन जना मात्रै दलालको पञ्जाबाट छुटेर गाउँ फर्केका छन् ।

तीन जनाको अवस्था अज्ञात छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment