Comments Add Comment

नौ महिनामा डेढ खर्बले निक्षेप बढ्दा कर्जामा दुई खर्बले वृद्धि

राष्ट्र बैंक छाडेर एक आपसबाट पुँजी जोहो गर्दै बैंक


२१ चैत, काठमाडौं । चालु आवको नौ महिना वित्न लाग्दा यो अवधिसम्ममा वाणिज्य बैंकहरुमा एक खर्ब ६१ अर्ब रुपैयाँले निक्षेप बढेको छ । निक्षेपको तुलनामा कर्जा लगानी दोब्बरले वृद्धि भएको छ । कर्जा लगानी दुई खर्ब ३९ करोड रुपैयाँले वृद्धि भएको छ ।

एक सातामै बैंकहरुमा १२ अर्ब रुपैयाँले निक्षेप बढेको हो । चैत नौ गतेसम्म २२ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप रहेको संस्थामा चैत १६ गतेसम्ममा यो रकम २२ खर्ब ४८ अर्ब पुगेको हो ।

एक सातामा निक्षेपमा १२ अर्बले वृद्धि हुँदा कर्जा लगानी पाँच अर्ब रुपैयाँले वृद्धि भएको छ । कर्जा लगानी १९ खर्ब ७४ अर्ब रुपैयाँ छ । निक्षेपको तुलनामा कर्जा लगानी ८७ प्रतिशत छ ।

राष्ट्र बैंकबाट पाइने र आपसमा लिने सापटी दर उही

बैंकहरुले पुँजी अभाव हुँदा राष्ट्र बैंकबाट दुई तरिकाले सापट लिन सक्छन् । एउटा स्थायी तरलता सुविधा (एसएलएफ) लिएर वा अर्को राष्ट्र बैंकले जारी गर्ने रिपोबाट पैसा उठाएर ।

सरकारी वा विकास ऋणपत्रको धितोमा पाइने एसएलएफको दर ७ प्रतिशत छ । रिपो रेटलाई पाँच प्रतिशतमा सिमित राख्ने नीति ब्याजदर कोरिडर मार्फत लिइएको छ । माघसम्ममा बैंकहरुले राष्ट्र बैंकबाट २४ अर्ब स्थायी तरलता सुविधा लिएका छन् ।

गत चैत एक गते राष्ट्र बैंकले १० अर्ब रुपैयाँको रिपो जारी गर्दा मात्रै चारवटा संस्था सहभागी भएर पुँजी लिएका थिए । कोरिडरले नै यसको ब्याजदर पाँच प्रतिशत तोकेको छ ।

तर, यता बैंकहरुले एक आपसबाट भने पाँच प्रतिशत ब्याजदर तिरेरै सापटी लिएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको उपलब्ध तथ्यांक अनुसार फागुन २८ गते यस्तो दर पाँच प्रतिशत पुगेको छ । यस्तो सापटी एक साता अवधिको लागि लिन पाइन्छ ।

त्यसयताको तथ्यांक तत्काल उपलब्ध छैन । ‘स्वेच्छिक अवकाशले कर्मचारीहरु नभेटिएपछि तथ्यांक लिन सकिएन,’ नेपाल राष्ट्र बैंकका सहप्रवत्ता राजेन्द्र पण्डितले भने ।

कम अवधिको भएपनि बैंकहरुले राष्ट्र बैंकसँग पैसा लिनेभन्दा अन्य बैंकबाट सापट लिन इच्छुक देखिएका छन् । बैंकहरुले रिपोको माध्यमबाट लिएको रकम कर्जा लगानीको लागिभन्दा पनि प्रावधानहरु पुरा गर्न लिइने तर एकआपससँगको सापटी भने कर्जा लगानीको रुपमा प्रयोग गर्न सक्ने भएकाले पनि यसमा बढि आकर्षित हुने गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment