Comments Add Comment

नेपालको धागो आयातमा लगाएको अवरोध हटाउन टर्की सकारात्मक


२२ चैत, काठमाडौं । नेपालको धागो (यार्न) आयातमा लगाएको अवरोध हटाउन  टर्की सकारात्मक देखिएको छ । उक्त मुलुकले विगत झण्डै तीन महिनादेखि नेपालको धागो आयातमा लगाएको अवरोध हटाउने संकेत गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको छ ।

वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर शैंजुको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसँगको छलफलका क्रममा टर्कीका सरकारी अधिकारीहरूले नेपालको धागो आफ्नो मुलुक आयात गर्दा पछिल्लो समय लगाइएको अवरोध हटाउने संकेत गरेका हुन् ।

चीन लगायतका कुनै मुलुकबाट आयात गरेर त्यही धागो आफ्नो मुलुकमा निर्यात गरेको आशंका टर्कीको छ । पछिल्लो समय आयात अत्यधिक बढेपछि त्यसलाई टर्कीले शंका व्यक्त गरेको थियो ।

वाणिज्य मन्त्रालयका अनुसार यो वर्षको अघिल्लो १० महिनामा मात्र टर्कीमा करिब १७ हजार मेटि्रक टन धागो निर्यात भएको छ । जबकि, अघिल्लो वर्ष यस्तो निकासी करिब १० हजार मेटि्रक टन थियो ।

त्यही आशंकाका आधारमा गत जनवरीदेखि टर्कीले नेपालका लागि जेनरलाइज्ड सिस्टम अफ पि्रफरेन्स -जीएसपी) सुविधा हटाएको थियो । जीएपी सुविधा अन्तर्गत नेपालले टर्कीमा धागो निर्यातमा शून्य भन्सार सुविधा पाउँदै आएको छ ।
अल्पविकसित मुलुकको बजार पहुँचका लागि विकसित मुलुकहरूले सीमित वस्तुका लागि जीएसपी सुविधा प्रदान गर्दै आएका छन् ।

उक्त सुविधाको कटौतीसँगै टर्कीले एन्टि-डम्पिङ ‘एन्टी-सर्कम्भेन्सन ड्युटी’ किन नलगाउने भनेर पनि नेपाली पक्षसँग प्रश्न गरेको थियो ।

‘नेपाली प्रतिनिधिमण्डलले निर्यात हुने नेपालको धागोको वास्तविक अवस्थाका बारेमा प्रश्ट पारेपछि सुविधा कटौतीका सम्बन्धमा पुनर्विचार गर्ने बताएका छन्,’ मन्त्रालयका सचिव चन्द्रप्रसाद घिमिरले भने ।

टर्की नेपालको धागो निकासीको प्रमुख निर्यात मुलुकमात्र नभएर सबैभन्दा ठूलो बजार पनि हो । नेपालले वाषिर्क झण्डै आठ अर्ब रुपैयाँ मूल्य बराबरको धागो टर्की निर्यात गर्छ ।

नेपालको कुल वस्तु निर्यातमा धागोको हिस्सा चार प्रतिशतको हाराहारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment