Comments Add Comment

भुवन केसीः सदाबहार नायक कि ‘प्ले ब्वाइ ?’

'म आफैं ह्यान्डसम छु, केटीहरू मेरो पछि लाग्छन् त म के गरौं ?'


भुवन केसीलाई दुई भिन्न डाइमेन्सनबाट हेर्न सकिन्छ । एक, सदाबहार नायक । अर्को, प्लेब्वाइ ।

आफ्नो जमानामा उनले सम्झना, कुसुमे रुमाल, कोसेली, चिनो, दुई थोपा आँसु जस्ता फिल्म दिए, जसको ‘ह्याङओभर’बाट अहिले पनि नेपाली दर्शक मुक्त हुन सकेका छैनन् । हिसाब-किताब गर्ने हो भने, हिट फिल्मको सूचीमा भुवन केसीलाई अरूले उछिन्न सक्दैनन् । ‘महानायक’का पगरी पहिरिएका राजेश हमालदेखि अहिलेका सर्वाधिक बिकाउ हिरो दयाहाङ राईसम्मले  भुवन केसीको उचाइ छुन सक्दैनन् ।  यस हिसाबले भुवनलाई ‘सदाबहार हिरो’को तक्मा भिराइदिँदा कसैमाथि अन्याय हुँदैन ।

अब अर्को पाटो हेरौं,

यी सदाबहार नायकसँग ‘लफडाबाजी’का अनेकौं किस्सा सुरक्षित छन् । समकालीन हिरोइनदेखि छोरी पुस्ताका हिरोइनसम्मलाई आफ्नो बहुपासमा बाँधिसकेका उनी शहरका नामी ‘खेलाडी ब्वाइ’ हुन् । कुनै बखतकी हिरोइन सारङ्गा श्रेष्ठले भनेकी थिइन्- ‘भुवन केसी नभएको भए धेरै नायिका कुमारी नै हुन्थे होलान् ।’

अहिले भुवन सिनेमाको पर्दाबाट ओझेल छन् । तर, उनी चर्चा र विवादबाट मुक्त छैनन् । सम्भवतः हुन सक्दैनन् पनि । भुवनलाई केही न केही उटपट्याङ गर्नैपर्छ । यो उनको ‘प्राइभेट’ स्वभाव हो ।

भर्खरै मात्र उनी फिल्म ‘कृ’को गीत चोरी लफडामा मुछिए । त्यसअघि ‘होटलको बिल नतिरेको’ । त्यसअघि ‘पार्टीले सभासद नपत्याएको’ । त्यसअघि ‘जिया केसीसँग लिभिङ टुगेदरमा रहेको’ । त्यसअघि ‘कथित गर्लफ्रेन्डका पतिले सडकमै हेलमेटले कुटेको’ । खोजतलास गर्ने हो भने, लफडाको महाभारत नै बन्नसक्छ ।

अफस्क्रिन हिरोइज्म

सुहाउँदिलो जिउडाल, औसत उचाइ, मिलेका जुँगा, हँसमुख चेहरा । फिटिङ ज्याकेट, चुज पाइन्ट, डिंगो जुत्ता । यस्तो आवरणमा भुवन केसी ‘हिरो’ देखिन्छन् । आवरण मात्र होइन, उनको चालढाल पनि हिरोकै छ । आफ्नो जमानामा सिल्भर स्क्रिन कब्जा गरेका उनी अहिले पनि रंगिला जीवनबाट विमुख छैनन् ।

उमेरले ६ दशकमा हिँड्दै छन् । तर, उनको तन्नेरी वय अझै निखि्रएको छैन । अझै नाच्छन्, गाउँछन्, मदिरा पिउँछन्, पार्टी गर्छन्, लङ ड्राइभ जान्छन्, गर्लफ्रेन्ड घुमाउँछन्, मस्ती गर्छन् । उनको जीवन-चरित्र कुनै रोमान्टिक हिरोको भन्दा कम कहाँ छ ?

उमेरको भाग लगाउने हो भने, उनी पूजा-पाठतिर दत्तचित्त भइसक्नु पर्नेर् हो । तीर्थ-बर्तमा रुचि लाग्नुपर्ने हो । योग-ध्यानमा लागिसक्नुपर्ने हो । तर, भुवन लभ अफेयर र डेटिङको चक्करमा रमाइरहेका छन् । छोरो अनमोल बिहान उठेर भगवान्को आराधना गरिरहँदा भुवन मस्त सुतिरहेका हुन्छन् । अनलाइनखबरसँगको भेटमा भुवन स्वयंले भनेका थिए, ‘म बिहान चाँडै उठ्न सक्दिन, बरु अनमोल चाँडै उठ्छन् ।’

छोरोभन्दा बुबा तन्नेरी

अनमोलले भनेका थिए, ‘बिहान उठेपछि मन्त्र उच्चारण गर्छु । कृष्णको भक्त हुँ ।’ भुवनलाई भने अझै भक्तिभावमा लाग्ने फुर्सद छैन ।

आफ्नो मर्जीको जीवन जिउँछन् । खान्छन्, पिउँछन् । छोरो अनमोल शुद्ध शाकाहारी । भुवनलाई भने मासु नभई हुन्न । बारम्बार चुरोट पिउँछन् । मौका मिले मदिरा घुट्क्याउँछन् । विन्दास छन् । तैपनि उनी अव्यवस्थित छैनन् । सधैं सफाचट देखिन्छन् । सुकिला मुकिला देखिन्छन् । कहिले पाइन्ट कोटमा त, कहिले जिन्स र टिसर्टमा ठाँटिन्छन् । गेटअप जस्तोसुकै होस्, भुवन ताजा र तगडा देखिन्छन् ।

उमेरले ६ दशकमा हिँड्दै छन् । तर, उनको तन्नेरी वय अझै निखि्रएको छैन । अझै नाच्छन्, गाउँछन्, मदिरा पिउँछन्, पार्टी गर्छन्, लङ ड्राइभ जान्छन्, गर्लफ्रेन्ड घुमाउँछन्, मस्ती गर्छन् । उनको जीवन-चरित्र कुनै रोमान्टिक हिरोको भन्दा कम कहाँ छ ?

पहिरनको कम्बिनेसन कसरी मिलाउने भन्ने कुरा उनलाई सिकाइरहनु पर्दैन । यस सन्दर्भमा त अनमोलभन्दा भुवन अगाडि छन् । अनमोलले अनलाइखबरसँग भनेका थिए, ‘मैले कस्तो ड्रेसअप गर्ने भनेर उहाँ (भुवन केसी) ले मिलाइदिनु हुन्छ ।’

जिम धाउँदैनन्, व्यायाम गर्दैनन्, मनलाग्दो खान्छन् तर पनि उनी फिट एन्ड फाइन छन् ।

कुशल स्त्रिmप्टराइटले खिपेर निर्माण गरेको रोमान्टिक पात्र जस्तै छन्, भुवन । आफ्ना समकालीनहरूलाई युगले बिर्सिसक्यो, उनको चमक-दमक भने अझै ज्यूँका त्यूँ छ । हुनत, अहिले उनको छोरो पुस्ताले फिल्ममा कब्जा जमाउँदै छ । तर, अघिल्लो पुस्ताको भुवन विस्थापित भएका छैनन् ।

प्ले ब्वाइ ?

भुवनको नामको पुच्छरमा झुन्डिने अर्को विशेषण हो, प्ले ब्वाइ । सम्भवतः उनले झेल्ने सबैभन्दा पट्यारलाग्दो प्रश्न पनि यो हो कि, ‘तपाइर्ं स्त्रीलम्पट हुनुहुन्छ ?’

यसमा भुवनले आफ्नो बचाउको जवाफ जसरी पनि दिन सक्छन् । वर्षौंदेखि उनी मिडियाको घेराबन्दीमा छन् । उनीमाथि अनेक आरोप-प्रत्यारोप लागिरहन्छ । त्यस्ता कुरा सहन वा पचाउन उनलाई पाचक खाइरहनु पर्दैन । उनलाई कसैले ‘स्त्रीलम्पट हुनुहुन्छ’ भनेर सोध्यो भने उनले प्रश्नकर्तालाई जिल्याउने जवाफ दिन्छन्-‘म आफैं ह्यान्डसम छु, त्यसै पनि केटीहरू मेरो पछि लाग्छन् त म के गरौं ?’

सुरा र सुन्दरीसँग भुवन केसीको अभिन्न नाता छ । यस्तो लाग्छ, सुन्दरीको साथ छाडेर भुवन रमाउनै सक्दैनन् । उनी कहीँ न कतै युवतीको आलिंगनमा बेरिएकै हुन्छन् ।

अहिले जिया केसीसँगको रहस्यमयी सम्बन्धमा छन् भुवन । उनीहरूले औपचारिक रूपमा आफ्नो सम्बन्ध खुलाएका छैनन् । न बिहे गरेका छन्, न अलग भएका छन् । एउटै छानोमुनि बस्छन् । घोषित पति-पत्नी भने होइनन् । कुनै बेला जियाले ‘भुवनसँग विवाह गर्न तयार छु’ भन्दा भुवनले त्यसको डिफेन्समा जवाफ दिएका थिए, ‘उनी मेरो फ्यान भएकाले त्यसो भनिन् होला ।’

जियाअघि  भुवन एक महिलाको अफेयरमा थिए । हुनत उनीहरूले आफ्नो सम्बन्धलाई कहिल्यै स्विकारेनन् । यद्यपि भुवन र बुटिक सञ्चालन गर्ने ती महिलाबीचको सम्बन्धले बजार निकै रापिलो बनायो ।

उक्त महिलाको गाडीमा चढेर कतै बत्तिइरहेका भुवनलाई महिलाका श्रीमान्ले बाटो छेकेर हेलमेटले कुटेको खबरले सनसनी मच्चायो । खबरअनुसार त्यस दिन कोटेश्वरनजिक भुवन केसीले कुटाइ खाएका थिए ।

तर, पछि एक अन्तर्वार्तामा भुवनले त्यस प्रसंगमा यस्तो जवाफ दिए, ‘त्यस दिन म केटी साथीसँग उनको बुटिकको विज्ञापनका लागि लोकेसन हेर्न जाँदै थियौँ । उनको श्रीमान् र परिवार छ भन्ने थाहा भएन । कसैसँग मित्रता गाँस्नुअघि बायोडाटा माग्ने कुरा पनि भएन । कोटेश्वर पुग्न लाग्दा अचानक एक मोटरसाइल आएर हाम्रो गाडी रोक्यो । उहाँ मेरी केटी साथीको श्रीमान हुनुहुँदो रहेछ । उहाँहरूबीच भनाभन भएपछि एउटा जेन्टलमेनले त्यहाँ बसिरहनु मिल्दैन ।’ आफूमाथि कसैले हातपात गरेको कुरा निराधार रहेको भन्दै उनले त्यसको पुष्टि गर्न समेत चुनौती दिए ।

यद्यपि सारङ्गा श्रेष्ठले ‘भुवन केसी नभएको भए धेरै नायिका कुमारी नै हुन्थे होलान्’ भन्नु । दुईजना पत्नी विवाह गर्नु र दुवैसँग डिभोर्स गर्नु । नव नायिकासँग लिभ इन टुगेदरमा बस्नु । अर्काकी पत्नीसँग रहस्यमयी घनिष्ठता गाँस्नुले उनको छबी उदाङ्गो हुन्छ ।

त्यसो त जतिबेला उनी करियरको उत्कर्षमा थिए, त्यसबेला यस्तो लफडा झेलेकै थिए । कुनै जमानामा फिल्म ‘महादेवी’को एउटा दृश्यमा भुवनले करिष्मा मानन्धरलाई चुम्बन गर्नुपर्ने दृश्य बारम्बार रि-टेक भएपछि विवाद पैदा भएको थियो । उक्त दृश्य भुवनको नियोजित ‘षड्यन्त्र’ भएको चर्चा आज पनि सेलाइसकेको छैन ।

भुवनले जीवनमा दुई जनासँग विवाह गरे । दुवै जनासँग डिभोर्स भयो । जेठी पत्नी विजया केसी अहिले अमेरिकामा छन् । उनीतर्फका दुई छोरा र छोरी अमेरिकामै हुर्किसकेका छन् । कान्छी पत्नी सुष्मिता बमजन अलग्गै बस्छिन् । उनीतर्फका छोरो अनमोल केसी अहिलेका सर्वाधिक महंगा सुपरस्टार हुन् । उनै सुपरस्टार छोरोको ब्रन्डिङदेखि मार्केटिङसम्मको काममा भुवन अघि सर्छन् ।

सदाबहार नायक

आज भुवनको जुन क्रेज छ, त्योभन्दा बढी अनमोलको छ । तर, अनमोलको स्टारडम पछाडि भुवन ‘पावर व्याकअप’का रूपमा छन् । कतिले भन्छन्, भुवन अनमोलका निजी सहयोगी हुन् । कतिले भन्छन्, भुवन अनमोलका म्यानेजर हुन् । पिताभन्दा एक कदम अघि बढेर भुवनले अनमोलसँग हातेमालो गरेका छन् ।

कुनै जमाना भुवनको थियो । जसरी आज अनमोलको क्रेज छ, भुवनको क्रेज त्योभन्दा कम थिएन । सपना, कुसुमे रुमाल, सम्झना जस्ता एक से एक ब्लकबस्टर फिल्म दिइरहँदा भुवन केसीले असंख्य प्रशंसक कमाइसकेका थिए ।

नेपाली फिल्मको उर्वर कालखण्ड थियो त्यो । तुलसी घिमिरे, शम्भु प्रधान, उगेन छोपेलजस्ता निर्देशक फिल्म बनाउँथे । उनीहरूको रोज्जा नायक भुवन केसी । कहिले रोमान्टिक युवाको रूपमा त कहिले जिम्मेवार पतिको भूमिकामा भुवनले आफ्नो दर्बिलो उपस्थिति जनाइरहे । र, आज पनि उनको फिल्मी ह्याङओभरबाट दर्शकहरू मुक्त भइसकेका छैनन् । पर्दामा भुवन केसी खोज्नेहरूको जमात कम छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment