Comments Add Comment

दिल्लीमा के-के गर्छन् प्रधानमन्त्री ओलीले ?

२३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार भारतको तीनदिने औपचारिक भ्रमणमा गएका छन् । प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको नियमित उडानबाट बिहान ९ बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओली इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पौने एघार बजे अवतरण गर्नेछन् । प्रधानमन्त्री ओली, पत्नी राधिका र मन्त्रीहरुलाई हैदरावाद हाउसमा बस्ने व्यवस्था मिलाइएको छ । भ्रमण टोलीका अन्य सदस्यहरुलाई ताजमानसिंह होटलमा बस्ने व्यवस्था मिलाइएको छ ।

भारत भ्रमणको पहिलो दिन शुक्रबार ओली केही साना कार्यक्रमहरुमा सहभागी हुनेछन् । दिल्ली पुगेलगत्तै उनी ताज होटेलमा भारतीय उद्योगी व्यावसायीहरुसँग अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

पाँच बजे नेपाली समुदायसँग छलफल गर्ने र साँझ साढे सात बजे ओलीको सम्मानमा भारतस्थित नेपाली दूतावासले इम्पेरियल होटलमा आयोजना गरेको रात्रीभोजमा सहभागी हुने कार्यक्रम छ ।

शनिबार भ्रमणको महत्वपूर्ण दिन

प्रधानमन्त्री ओलीको भारत भ्रमणको दोस्रो दिन शनिबार भने महत्वपूर्ण छ । प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग विहान ९ बजे भेटघाट गर्ने कार्यक्रम तय भएको छ । त्यहाँ गार्ड अफ अनर ग्रहण गरेपछि १० बजे राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम छ ।

त्यसैदिन समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रपति भवन हैदरावाद हाउसमा भेटघाट हुनेछ । भेटघाटको क्रममा दुई पक्षबीच भएको सहमतिमा हस्ताक्षर गरी संयुक्त पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने कार्यक्रम छ ।

ओली भारतका बिशिष्ट पाहुना र फरक परिस्थितिमा भ्रमण भैरहेकोले मोदीले महत्वपूर्ण सहयोग घोषणा गर्न सक्ने भाजपा उपाध्यक्ष तथा सांसद भगतसिंह कोशियारीले अनलाइनखबरलाई जानकारी दिए ।

शुक्रबार नै हैदरावाद हाउसबाट ओली र मोदीले संयुक्तरुपमा पञ्चेश्वर जलविद्युत आयोजनाको शिलान्यास तथा वीरगञ्जमा निर्मित एकीकृत जाँच चौकी (आईसीपी)को उदघाटन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा दिल्लीका सडक किनारमा र सार्वजनिक स्थलमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।

यस्तै शनिबार साँझ साढे पाँच बजे प्रधानमन्त्री ओलीले इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागीता जनाउने र कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने छन् ।

दिल्ली बसाइँको क्रममा प्रधानमन्त्री ओलीले शनिबार नै भारतीय जनता पार्टीका नेता, कांग्रेस आईका नेता, भारतीय कम्युनिष्ट पार्टीका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

भारत भ्रमणको अन्तिम दिन आइतबार उत्तराखण्डको पन्तनगरस्थित कृषि विश्वविद्यालयको कार्यक्रममा ओली सहभागी हुनेछन् । त्यहाँ विश्वविद्यालयले ओलीलाई डक्टरेट (विद्यावारिधी)को सम्मानार्थ उपाधीबाट बिभूषित गर्ने छ ।

प्रधानमन्त्री ओली आइतबार साँझ ६ बजे स्वदेश फर्किने कार्यक्रम रहेको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment