२६ चैत, तनहुँ । बन्दीपूर ५ ढावमा ८ करोडको लगानीमा मस्याङ्दी रिभर भ्यू रिर्सोट सञ्चालनमा आएको छ । महेन्द्रमोहन भट्टराई र सिता भट्टराईले करीव २३ रोपनी जग्गामा फैलिएको रिर्सोट सञ्चालनमा ल्याएका हुन् ।
काठमाण्डौं–पोखरा पृथ्वीराजमार्गको विमलनगर चूनपहराभन्दा करीव १ किलोमिटर वर राजमार्गभन्दा २ सयमिटर तल मस्र्याङदी नदी किनारमा रिर्सोट छ ।
रिर्सोट निर्माण गर्न करीव १५ महिना लागेको रिर्सोटकी अध्यक्ष सीता भट्टराईले जानकारी दिइन् । रिर्सोटमा स्वीमिङ पुल, बालिकाका लागि चिल्ड्रेन गार्डेन, दुई सय जनासम्म अट्न सक्ने क्षमताको हल, ३० जना क्षमताको बैठक हल निर्माण गरिएको सञ्चालक महेन्द्रमोहन भट्टराईले बताए ।
तनहुँको डुम्रे बजार र त्यसभन्दा पर एवम् विमलनगर, आँबुखैरहनी, गोरखाको च्याङ्ली लगायतका क्षेत्रमा समेत कार्यक्रम गर्न एक सुविधा सम्पन्न हल नभएको र समस्यामा आफैं समेत परेकोले रिर्सोटमा सुविधा सम्पन्न हलको व्यवस्था गरिएको सञ्चालक भट्टराईले बताए ।
पृथ्वीराजमार्ग भएर यात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लक्षित गरी मस्याङदी नदीको किनारमा रिर्सोट निर्माण गरिएको उनले जानकारी दिए । आवासीय रुपमा बस्नका लागि १० वटा सेमी डिलक्स रुम निर्माण गरिएका छन् ।
‘पहिलो चरणमा ५ वटा ब्लक बनाएर १० वटा रुम निर्माण गरेका छौं’ अध्यक्ष सीता भट्टराईले भनिन्, ‘अर्को बर्ष १० वटा थप गर्दछौं, क्रमशः ४० वटा रुम पुर्याउँछौं ।’
एउटा कोठाको एक रात बसेको २५ सयदेखि तीन हजारसम्म लिइन्छ । स्वीमिङ, बिहान, बेलुकीको खानासहित बनाइएको प्याकेजको ४५ सय राखिएको छ ।
थप संरचना निर्माण गर्ने काम अझै बाँकी छ । यो सबै सकिँदा लगानी ९ करोड पुर्याउने लक्ष्य रहेको सञ्चालक सीता भट्टराईले जानकारी दिइन् ।
रिसोर्ट सञ्चालनसँगै डुम्रे, दमौली, बन्दीपूर, आँबुखैरहनी लगायतका क्षेत्रमा व्यक्ति स्वीमिङका लागि आउन थालेका छन् । दिनभर स्वीमिङ गरेको ५०० लिइन्छ ।
रिर्सोटमा २० स्थानीयसहित २२ जनाले रोजगारी पाएका छन् । यो टिमले सोही क्षेत्रमा अकलदेवी ट्रेडर्स २०६२ सालदेखि सञ्चालनमा ल्याएको छ ।