Comments Add Comment

डोल्पा  सदरमुकाम राष्ट्रिय सडकमा जोडिन तीन किलोमिटर बाँकी

त्रिपुरासुन्दरीको खादाङसम्म पुग्यो सडक

फाइल तस्वीर

२६ चैत, डोल्पा । विकट हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने खदाङबस्ती राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।

सेनाले जिम्मा लिएको जाजरकोट डोल्पा सडकखण्डअन्तर्गत डोल्पा रुकुम सिमाना त्रिवेणी बजारदेखि खदाङसम्मको नौ किलोमिटर सडकखण्ड निर्माण कार्य पूरा भएसँगै खदाङ श्रीविण्डे हुँदै चिप्लेभिर राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो ।

आइतबार पूर्व शान्तिमन्त्री तथा वर्तमान संघीय सांसद सत्य पहाडीद्वारा त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने करोपगाड खदाङ श्रीविण्डे चिप्लेभिर खण्डको नौ किलोमिटर सडकखण्डको विधिवत् उद्घाटन गरिएको थियो ।

उक्त सडकखण्डको उद्घाटन गरेसँगै रुकुम डोल्पा सिमाना त्रिवेणी बजारदेखि खदाङसम्म जिप ट्र्याक्टरलगायत यातायातका साधन सञ्चालनमा ल्याइएको छ ।

करोपगाड, खदाङ र श्रीविण्डे हुँदै चिप्लेभिरसम्मको सडक उद्घाटन गरिएसँगै काठमाडौं नेपालगञ्ज सुर्खेतदेखि खदाङको हरियापानीसम्म यातायातको सुविधा भएको छ ।

जाजरकोट–डोल्पा सडकखण्डको कूल लम्बाइ ११७ दशमलव ७ किलोमिटर सडकखण्डमध्ये ११४ दशमलव ७ किलोमिटर सडकखण्डको निर्माण कार्य पूरा भइसकेको र बाँकी तीन किलोमिटर सडक निर्माण भएपछि डोल्पा पूर्णरुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिने जाजरकोट–डोल्पा सडकखण्डका कार्यदल प्रमुख तथा कर्णेल विश्वबन्धु पहाडीले जानकारी दिए ।

बाँकी तीन किलोमिटर सडकखण्ड भिर, पहरा र चट्टानयुक्त भए पनि आत्मविश्वासका साथ आगामी दशैंमा डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने गरी अहोरात्र सेनाले काम अगाडि बडाएको समेत पहाडीले बताए ।

सडक उद्घाटन कार्यक्रममा पूर्व शान्ति मन्त्री सत्य पहाडीले कल्पनै नगरेको भिर खोपेर मोटर कुदाएकामा नेपाली सेनाप्रति डोल्पाली जनता आभारी रहेको बताइन् ।

डोल्पा प्रदेश क्षेत्र नं ‘ख’ का सांसद वीरबहादुर शाहीले सडक पुगेसँगै समृद्धिको ढोका पनि विस्तारै खुल्दै गएको बताए । डोल्पा पर्यटन, जडीबुटीका हिसाबमा सम्पन्न जिल्ला भएकाले यसको दिगो विकास संरक्षण र प्रचारप्रचारका लागि प्रदेश सरकारले विशेष प्याकेज ल्याउनेसमेत बताए ।

त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाले मान्छे र सामान बोकेर डोल्पा पुग्ने गाडीलाई टनाटन पारेर फर्काउनका लागि अहिलेदेखि नै स्याउ, ओखर, अंगुरखेतीमा जोड दिएको बताए ।

घर आँगनमै मोटर कुदेको देखेपछि खदाङवासीले हर्षका आँशु झारेका थिए । सडक उद्घाटन कार्यक्रमको खुशियाली मनाउन हजारौँ सर्वसाधारणको उपस्थिति थियो ।

सेनाले चरासमेत उड्न नसकेर लड्ने विशाल काला भिर खोतलेर घर आँगनमै गाडी गुडाएकाले स्थानीयवासीले गीत, कविता, चुट्किला, नृत्यमार्फत सेनालाई भगवान्को रुपमा प्रशंसा गरेका थिए ।

डोल्पाको भूभागमा गाडी कुदाउन दिनराज नसुती सेनाले खदाङसम्म गाडी पुर्‍याएको भन्दै कार्यदल प्रमुख कर्णेल विश्वबन्धु पहाडीलाई त्रिपुरासुन्दरी नगरपालिका र प्रदेश सरकारको तर्फबाट दोसल्ला र प्रशंसापत्र वितरण गरेर सम्मान गरिएको थियो ।

“खदाङसम्म गाडी पुगेसँगै विभिन्न किसिममा सुविधा आएका छन्, पहिले हप्तौँ लगाएर गर्नुपर्ने नेपालगञ्ज, सुर्खेतको यात्रा पनि अहिले छोटिएर दुई दिनमै झरेको छ”, त्रिपुरासुन्दरी नगरपालिका–५ का स्थानीय कृष्णचन्द्र पाण्डेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment