Comments Add Comment

नेप्सेमा एकै दिन चार पटकसम्म दोहोरो अंकको उतार चढाव

खेल्नेले टेलिकममा नि खेले

२६ चैत, काठमाडौं । नेप्से परिसूचक १३ सय विन्दुमा आएपछि एकै दिन चार पटकसम्म नेप्से दोहोरो अंकले तलमाथि गरेको छ । १२९५ बाट शुरु भएको बजार २० अंक बढेर १३१५ सम्म पुगेकोमा पुन २४ अंकले घटेर १२९१ मा आयो । पुनः बजार २१ अंकले बढेर १३१६ सम्म पुग्यो भने फेरी ११ अंक घट्यो, आठ अंक बढ्यो र २५ अंकले ओरालो लाग्यो । बजार बन्द हुँदा भने अघिल्लो दिनभन्दा करिब ७ अंकले नेप्से घटेको छ । नेप्से १२८७ विन्दुमा छ ।

एकै दिन बजारमा भएको तीव्र उतारचढावबारे लगानीकर्ताहरुमा मिश्रित धारणा देखिएको छ । ‘बजार उच्च रुपमा अस्थिर देखिनु भनेको परिपक्व हुन नसकेको संकेत हो । यसलाई बजारमा लगानीकर्ताहरु विश्वस्त हुन नसकेको संकेतको रुपमा लिनुपर्छ,’ एक विश्लेषकले भने । तर, केही ब्रोकर भने यसलाई स्वभाविक मान्छन् ।

‘यस्तो प्रवृत्ति भारतीय बजारमा पनि हुने गरेको छ । खासमा १३ सय विन्दुमा बजार आएपछि लगानीकर्ता बिभाजित देखिदाको यो परिणाम हो,’ सेयर ब्रोकर मेघराज उपाध्याय भन्छन् । १३ सय बिन्दुमा परिसूचक पुगेपछि बजार घट्न थाल्छ भन्ने एक किसिमका लगानीकर्ता रहेको र अर्का किसिम लगानीकर्तामा भने बजार थप बढ्छ भन्ने द्वन्द्व रहेकोले पनि बजारमा तीव्र उतार चढाव देखिएको उपाध्यायको भनाई छ ।

बजारलाई घटबढ गर्न लगानीकर्ताहरुले नेपाल टेलिकमको सेयर मूल्यमा पनि खेलिएको देखिएको छ । बजार घट्दा कम्पनीको १०/२० कित्ता सेयर किनेर खेलिएको पनि देखिन्छ । बजार अन्त्यमा भने टेलिकम सूचीकृत ‘अन्य’ समूहको परिसूचकमा मात्र सुधार भएको छ । मार्जिन कल आउन समय नजिकिदै गर्दा केही चलखेल हुनु स्वभाविक भएको उपाध्यायको भनाई छ ।

चैत मसान्त अन्त्य हुँदा बैंकहरुले सेयर मूल्य घटेका धितोपत्रको धितो बढाउन लगानीकर्ताहरुलाई मार्जिन कल गर्ने गर्छन् । यसको दबाबमा समेत लगानीकर्ता देखिएका छन् ।

बजारमा उच्च उतारचढाव देखिएपनि ९४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बजारमा भोलीका दिनमा कारोबार रकमले कत्तिको टेवा दिन्छ त्यही आधारमा बजारको गति सुनिश्चित हुने पनि ब्रोकरहरुको भनाई छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव समस्या समाधान भइनसकेको, व्याजदर नघटेको र आगामी वर्ष संस्थाहरुबाट के कस्तो दरमा लाभांश आउने हो भन्ने विषयको दबाब पनि बजारमा पर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment