शुक्रबार, ४ साउन, २०७५
OnlineKhabar.com
Suzuki

कोमल ओली भन्छिन्ः ढिलो-चाँडो मन्त्री हुन्छु

'पोइला जान पाम् गाएकोमा पछुतो छैन'

Suzuki
अनलाइनखबर

२८ चैत, काठमाडौं । गायनबाट राजनीतिमा हाम्फालेकी कोमल ओली अहिले धेरै बदलिएकी छिन् । हरेक कुरा तौलि-तौलि बोल्छिन् । प्रस्तुतिमा गाम्भिर्यता झल्किन्छ । विचारमा गहिराई भेटिन्छ ।

पहिले न्यूजपेपर पढ्दा उनी मनोरञ्जन पेज पल्टाउँथिन् । अहिले पहिलो पेज र विचार पेजमा बढि आँखा डुल्छ । पहिले मनोरञ्जनात्मक उपन्यासहरुमा रुची थियो, अहिले राजनीतिक र दार्शनिक किताबहरु छिचोल्न थालेकी छिन् । पछिल्लो समयको कुरा गर्ने हो भने उनी शशी थरुरको ‘ह्वाई आइ एम हिन्दु’ पढ्दैछिन् ।

०००

एक वर्षभन्दा बढि भयो, उनले राजनीति गर्नलाई रेडियो नेपालको स्थाई जागिर छोडेको । २०७३ साल फागुन ६ गते रेडियो नेपालमा राजीनामा दिएर ७ गते उनी राप्रपाको केन्दि्रय महधिवेसनमा उम्मेदवारी दिन पुगेकी थिइन् ।

संगीतबाटै लोकप्रियता कमाइरहेकी उनलाई किन राजनीतिको भोक जाग्यो त ?

कोमल भन्छिन्, ‘गीत-संगीतका क्रममा म देशका लगभग सबै जिल्ला पुगेँ । यस नेपाली समाजका विभिन्न आयामहरुलाई नियाल्ने मौका पाएँ । त्यसपछि देखेँ, जता पनि पोलिटिक्स हावी छ । अनि महसुस गरेँ, समाज परिवर्तनका लागि राजनीति नै गर्नुपर्ने रहेछ । त्यसैले बोल्ड निर्णय लिएँ ।’

राजनीतिमा लाग्ने सोच बनाइसकेपछि कुन पार्टीबाट राजनीति गर्ने भन्ने प्रश्न आयो । उनी सबै पार्टीका नेताहरुसँग नजिक थिइन् । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बढि प्रभावित थिइन् । यो पार्टीले उठाएको राजतन्त्र र हिन्दू राज्यको एजेन्डा उनको मनको नजिक थियो ।

‘त्यहीबेला कमल थापाज्यू, पशुपति शम्शेर राणाज्यूले, लोकेन्द्रबहादुर चन्दज्यूले मलाई एप्रोच गर्नुभयो,’ कोमलले भनिन्, ‘उहाँहरुको आग्रह स्वीकारेर राप्रपामा गएँ ।’

त्यसो त उनी एमालेका अध्यक्ष केपी ओलीसँग पनि नजिक थिइन् । तर, ओलीले उनलाई कहिल्यै पार्टीमा निम्तो गरेका थिएनन् ।

तर, कोमल राप्रपामा धेरै टिकिनन् । छोटो समयमै सो पार्टीबाट विरक्तिइन् र एमालेमा प्रवेश गरिन् । उनलाई संसद बनाउने लोभ देखाएर एमालेमा ल्याइएको चर्चा पनि चल्यो ।

तर कोमल भने एमालेका एजेन्डाहरुबाट आकषिर्त भएर आएको बताउँछिन् ।

‘एमालेको सैद्दान्तिक आधारशीला बलियो देखेँ । नेताहरुमा इच्छाशक्ति देखेँ । पछिल्लो समयमा एमालेको विकासको एजेन्डाले आम जनतालाई क्याच गरेको पाएँ । समृद्ध मुलुकको मेरो परिकल्पना एमालेले पूरा गर्छ जस्तो लाग्यो । त्यसैले पार्टी परिवर्तन गरेँ,’ उनी भन्छिन् ।

एमालेले उनलाई राष्ट्रिय सभाको संसद बनायो । तर, त्यतिबेला कठोर प्रतिक्रियाहरुको सामना गर्नुपर्‍यो । पार्टीका त्यागी र संघर्षशील व्यक्तिहरुलाई पन्छाएर हिजो मात्र भित्रिएकी गायिकालाई मौका दिइएको भन्दै सामाजिक सञ्जाल उर्लियो ।

यस्ता आलोचनाहरु कत्तिको विचलित बनायो उनलाई ?

‘अहँ म विचलित भइनँ, बरु भन्नुहुन्छ भने,’ कोमलको तर्क छ, ‘यी आलोचनाले मलाई झन् इस्पात बनाए, दृढ बनाए । जसलाई माया गरिन्छ, उसैलाई त गाली पनि गरिन्छ नी होइन र ?’

कोमल अहिले आफू एउटा परिक्षामा बसिरहेकी छु भन्ने ठान्छिन् । उनलाई उत्तिर्ण हुनुछ, यनकेन प्रकारेण ।

अँ, उनी प्रत्यक्ष चुनाव लडेरै सांसद बन्न चाहन्थिन् । आफ्नो लोकपि्रयताको पारो नाप्नलाई पनि जनतामाझ परिक्षा दिनु थियो उनलाई । तर, अवसर मिलेन । किन उनले प्रत्यक्ष चुनावमा टिकट पाइनन् ?

‘म पार्टी एकताको कोपभाजनमा परेँ सायद’ उनले भनिन् ।

तर कुनै व्याख्या गरिनन् ।

सांसद पदको सपथ खाइरहँदा उनको दिमागमा के थियो ?

‘त्यतिबेला मेरो मन-मस्तिष्कमा देश र जनताको चित्र थियो । देश विकासको अठोट थियो । एकदमै ठूलो जिम्मेवारीवोधले थिचेजस्तो महसुस भइरहेको थियो,’ कोमल भन्छिन् ।

धेरै ठूला कार्यक्रमहरु सञ्चालन गरेकी, रेडियोमा बोलेकी कोमललाई संसदमा बोल्दा कति फरक अनुभूति भयो ?

‘त्यो मेरो जीवनको अविष्मरणीय दिन थियो । पहिलोपटक संसदमा बोल्दा मेरो छाति गर्वले ढक्क फुलेको थियो । विगतमा ठूला-ठूला कार्यक्रमहरुमा बोल्दाखेरी पनि कहिल्यै त्यस्तो भावना उर्लेको थिएन,’ कोमलले सम्झिइन्, ‘यो एउटा सिंगो राष्ट्रको प्रतिनिधित्व गर्ने मञ्च थियो । अडियन्स फरक थिए । विद्वतहरुको सभाकक्षमा मैले आफ्नो मौलिकता कायम राख्दै बढि तार्किक रुपमा पेश हुनुपर्ने थियो । गाम्भिर्यता प्रदर्शन गर्नुपर्ने थियो । मैले त्यही प्रयास गरेँ ।’

आफ्नो दोस्रो भाषणमा भने उनले एउटा कविता सुनाएकी थिइन्, शहिदहरुमा समर्पित । साथै यूरोपियन यूनियनले नेपालमा गरेको हस्तक्षेपको विरोध गरेकी थिइन् ।

उनी अहिले राष्ट्रिय सभामा धेरै सांसदहरुसँग घुलमिल भइसकिन् । एमालेका मात्र नभएर अन्य पार्टीका सांसदहरु पनि उनीसँग नजिकिन खोज्छन् ।

‘म त सबैकी साझा सांसदजस्ति भएकी छु,’ कोमलले भनिन् ।

उनी संसद जाँदा सारीचोलो नै लगाउँछिन् । पार्टीले पोशाकको बारेमा औपचारिक ह्वीप त जारी गरेको छैन, तर, पदिय गरिमा कायम राख्नका लागि औपचारिक पोशाक नै लगाउनु उपयुक्त हुन्छ भन्ने उनलाई लाग्छ । उनी संसदमा सकभर मोबाइल चलाउँदिनन् ।

‘संसद वैठकमा मेरो मोबाइल अफ हुन्छ,’ उनले भनिन् ।

कोमलले आफ्नो राजनीतिक व्यक्तित्व विकासका लागि सहयोग गर्न एउटा टिम नै बनाएकी छिन् । टिमका प्रवुद्ध व्यक्तिहरुसँग उनी नियमित सम्पर्कमा रहन्छिन् । सरसल्लाह गर्छिन् । सायद यसैले होला उनले आफूलाई बदल्न सफल भएकी ।

‘म सर्वज्ञानी होइन, त्यसैले आफूलाई थाहा नभएका कुरा मेरो टिमका विज्ञहरुसँग सोध्ने गर्छु,’ उनले भनिन् ।

सांसद त भइन्, अब मन्त्री बन्ने विषयमा के सोचेकी छिन् ?

हाँस्दै भनिन्, ‘अहिले त यो विषयमा सोचेकी छैन । तर, नो थिंग इज इम्पोसिबल । राजनीति गरेपछि सेवा गर्ने अवसर त खोजिहालिन्छ । त्यसैले मन्त्री बन्ने चाहना छैन भन्दिन । भर्खर त राजनीतिक यात्रा सुरु भएको छ । ढिलो चाँडो पक्कै (मन्त्री) हुन्छु ।’

फुलटाइम राजनीतिमा लागे पनि कोमलले गायनलाई चटक्कै छोड्ने मनस्थितिमा छैनन् । संगीत आफ्नो नशामै भएको उनको भनाई छ ।

‘अब मेरो पहिलो प्राथमिकता राजनीति र समाजसेवा हो, तर त्यसो भन्दैमा संगीतबाट अलग रहन चाहिँ सक्दिनँ,’ उनले भनिन् ।

कोमललाई अहिले पनि देश-विदेशका स्टेज कार्यक्रमहरुबाट निमन्त्रण आउन टुटेको छैन । तर उनले भ्याएकी छैनन् ।

उनलाई आउँदो तिजका लागि अहिले नै आमन्त्रण आइसकेको छ । अमेरिका र अष्ट्रेलियाबाट निमन्त्रण आएको छ । ती कार्यक्रम भने उनी छुटाउन चाहन्नन् । तर, त्यतिबेला संसद वैठक पर्‍यो भने के गर्ने अहिलेदेखि नै अन्योलमा छिन् ।

कोमल ओलीले आफ्नो संगीत यात्रामा कैयन सुमधुर गीत गाएकी छिन् । तर, उनको ब्रान्ड बन्न पुग्यो, उत्ताउलो गीत ‘पोइला जान पाम’ । उनी राष्ट्रिय सभामा आउँदा धेरैले यो गीतलाई जोडेर उनको खेदो गरे ।

के लाग्दो हो कोमललाई ? के उनी ‘हत्तेरी, किन यो गीत गाइछु नी’ भनेर पछुताउमा छाति पिटिरहेकी होलिन् ?

अहँ । बिल्कुल होइन । उनलाई कुनै ग्लानी छैन । उनी पोइला जान पामलाई उत्ताउलो गीत होइन, ‘नारी शशक्तिकरणको प्रगतिशील गीत’ का रुपमा ब्याख्या गर्छिन् ।

‘जति आलोचना भए पनि’ उनले भनिन्, ‘यो गीतमा उत्ताउलोपन पाउँदिन । यसले त एउटी अविवाहित नारीको स्वतन्त्रता र स्वच्छदताको चाहनालाई प्रष्फुटन गरेको छ ।’

‘आगामी दिनमा पनि पोइला जान पाम् जस्तो गीत फेरि गाउनु हुन्छ त ?’

यो प्रश्नमा अलि बचेर जवाफ दिइन् ।

‘हरेक गीत फरक फरक प्रकृतिका हुन्छन् । ठ्याक्कै यस्तै गीत दोहोर्‍याउने कुरा आउँदैन । तर, यस प्रकारका नारी जागरणमुखी गीतहरु भने गाइराख्छु ।’

२०७४ चैत २८ गते १०:२५ मा प्रकाशित (२०७४ चैत २९ गते ११:१७मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

४ प्रतिकृयाहरू प्राप्त
  • BMS लेख्नुहुन्छ    |   २०७४ चैत २८ गते १०:०८

    Ministry of entertainment banayer Mantri banay ramrai hola…Komal Oli ji lain…

    5
    2
    Share

  • Rajendr Wosti लेख्नुहुन्छ    |   २०७४ चैत २८ गते १०:४७

    Aru aru je je bhaya pani lagan jurana Komal Jee

    6
    0
    Share

  • Khamma Singh Darlami Magar, Bharshe, Gulmi लेख्नुहुन्छ    |   २०७४ चैत २८ गते १२:०३

    Looking at other ministers of Oli Government and their level of diligence, competencies, leadership traits, integrity, honesty, objectivity, impartiality all they are the same as you. So that you are fit for a minster, Congratulation !!
    2 Oli in one cabinet will be interesting !!

    4
    1
    Share

  • up लेख्नुहुन्छ    |   २०७४ चैत २८ गते १८:२२

    YES, KOMAL OLI. 8TH CLASS PASS , HASYA KALAKAR OLI IS THE PRIME MINISTER OF NEPAL .WHY YOU, SECOND OLI, SINGER OF NEPAL CAN NOT BE FULL MINISTER OF NEPAL.
    BUT YOU SHOULD TRY FOR PRESIDENT OF NEPAL.

    4
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this