Comments Add Comment

सूर्य, संख्या र जनयुद्धबारे टुंगो लगाउन संयोजन समिति बैठक बस्दै

वैशाख ९ मै पार्टी एकीकरण गर्ने प्रयास

२८ चैत, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको टुंगो लगाउन पार्टी एकता संयोजन समितिको बैठक आज साँझ बस्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफलपछि संयोजन समिति बैठक बोलाइएको हो ।

संयोजन समितिले राजनीतिक दस्तावेज लेखन कार्यदल र संगठन तथा अन्तरिम विधान कार्यदलले पेश गरेका दुवै मस्यौदामाथि छलफल गर्ने एमाले महासचिव ईश्वर पोखरेलले बताए । दुवै मस्यौदामा कुनै विवाद नरहेकाले पार्टी एकतामा अड्चन नहुने उनको दावी छ ।

राजनीतिक दस्तावेजमा समस्या नभए पनि बिधान र संगठनात्मक मस्यौदामा दुई विषयमा विवाद छ । एकीकृत पार्टीको चुनाव चिह्न सूर्य राख्ने कि नराख्ने भन्नेमा टुंगो लागेको छैन । त्यस्तै बिधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने कि नराख्ने भन्नेमा पनि विवाद छ ।

‘माओवादीको वार्गेनिङ’

संयोजन समितिका एक नेताका अनुसार चुनाव चिह्न सूर्य नै रहनेछ । केन्द्रीय कमिटीमा बराबरी हैसियतको बार्गेनिङका लागि माओवादीले चुनाव चिह्नमा विवाद झिकेको विश्लेषण एमाले पक्षको छ । त्यस्तै ‘जनयुद्ध’ भन्ने शब्दमा पनि विवाद नरहने र त्यो बिगतमा भएको यथार्थ भन्ने कुरा एमालेले महसुस गरेको स्रोतको दावी छ ।

पार्टी एकतामा सबैभन्दा पेचिलो बन्ने विषय भनेको संख्या नै हो । प्रस्तावित २९९ सदस्यीय केन्द्रीय कमिटीमा माओवादीले बराबरीको सिद्धान्तअनुसार प्रतिनिधित्व माग गरेको छ । एमालेले निर्वाचनको परिणामका आधारमा संख्या बाँडफाँट हुनुपर्ने भनेको छ । संख्यामा पनि लगभग ६०/४० को अनुपातमा टुंगो लाग्ने दावी नेताहरुको छ ।

पार्टी एकता संयोजन समिति बैठकले यी विषयमा टुंगो लगाउने सम्भावना रहेको छ । संख्याको बारेमा दुवै अध्यक्षको तहबाट पुनः छलफल हुनसक्ने नेताहरुले बताएका छन् । पार्टी एकता बैशाख ९ मै गर्ने प्रयास भइरहेको एमाले उपमहासचिव बिष्णु पौडेलले बताए ।

पार्टी एकता संयोजन समितिमा एम्ाालेबाट केपी शर्मा ओली, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम र ईश्वर पोखरेल छन् । माओवादीबाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment