Comments Add Comment

फुडमान्डु, जसले तपाईले चाहेको खाना घरमै ल्याइदिन्छ


२८ चैत, काठमाडौं । मनोहर अधिकारीले ‘फुडमान्डू’ सुरु गर्दा तीन जना स्टाफ थिए-दुई जना डेलिभरी ब्वाइ र एक जना अफिस स्टाफ ।

तर, छोटो समयमै ई-कमर्स ‘फुडमान्डु’ नेपालको सफल स्टार्टअपको अग्रस्थानमा छ । यसले मनोहरलाई पनि सफल इन्टरप्रिनियरको सूचीमा उभ्याएको छ ।

फुडमान्डू अनलाइनबाट खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी हो । यसले आफैं खाना बनाउँदैन, शहरका नाम चलेकादेखि मध्यम खालका रेस्टुरेन्टहरुमा पाइने खानालाई तपाईको घरसम्म ल्याइदिने काम गर्छ ।

कम्पनीको झण्डै ५० हजार युनिक कष्टमर छन् र महिनामा करिव १० हजार अर्डर आउने गरेको छ ।

कसरी सुरु भयो फुडमाण्डू

फुडमान्डू खोल्ने आइडिया मनोहर स्वयंलाई पनि खप्नै नसक्ने भोक लागेको बेलामा नै फुरेको हो ।

उनी आईटी कम्पनीमा काम गर्थे । खाजा खान थोरै समय मिल्थ्यो । छोटो समयमा भनेको खाजा कहाँ पाउनू ?

यसको समाधान खोज्ने क्रममा उनलाई कसैले खाजा-खानाको अर्डर गरेर ल्याइदिए भन्ने लाग्यो । साथीसँग मिलेर आफैं फुडमान्डुको स्थापना गर्ने निर्णय गरे । थोरै लगानी र सानो टिम थियो ।

अधिकारीलाई लागेको थियो कि अनलाइनमा रेष्टुरेन्टका मेनुहरु राखेपछि भटाभट अर्डर आउँछन् र रेस्टुरेन्टले डेलिभर गर्छ । फुडमान्डुलाई अर्डर लिने प्लेटफर्म मात्रै बनाउन खोजिएको थियो ।

तर, उनले सोचेको जस्तो भएन । रेष्टुरेन्टहरुले समयमै डेलिभरी दिन सकेनन्, जसले ग्राहकमा विश्वास पैदा नहुने अवस्था आयो ।

‘हामीले रणनीति परिवर्तन गर्‍यौं र ग्राहकबाट अर्डर लिएपछि हाम्रै स्टाफमार्फत डेलिभरी दिने योजना बनायौं,’ अधिकारी सम्झन्छन्, ‘ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राखेपछि हामी सफलताउन्मुख भयौं ।’

ग्राहकले एप, वेबसाइट र फोनमार्फत खाना/खाजा अर्डर गर्छन्, जसलाई फुडमान्डूमा आवद्ध रेस्टुरेन्टहरुले तयार गर्छन् ।
फुडमान्डूसँग अहिले २१० भन्दा बढी रेष्टुरेन्ट आवद्ध छन् । जसमा बजेटदेखि पि्रमियम रेञ्जसम्मका छन् ।

ग्राहकले अनलाइनबाट कुन रेष्टुरेन्टबाट मगाउने निश्चित गर्न पाउँछन् । अर्डर दिएको कति समयमा डेलिभरी दिने भन्ने जानकारीसहित कन्फरमेसन कल गर्छ र, रेस्टुुरेन्टले तयार गरेको ग्राहकको परिकार घरसम्मै पुर्‍याइदिन्छ । यसका लागि फुडमान्डूसँग ५५ जना डेलिभरीपर्सन् छन् ।

अधिकारीकाअनुसार मध्यम वर्गका सर्वसाधारण नै फुडमान्डूका पारखी हुन् । विशेषगरी आफ्नो काममा धेरै व्यस्त रहनेहरुको अर्डर आउँछ । घरमा व्यस्त हुने गृहिणीले पनि फुडमान्डूलाई रुचाएका छन् ।

‘अब घरमा पाहुना आयो भने आफू भान्सामा व्यस्त हुनु पर्दैन । हामीलाई सम्झनुभयो भने रोजेको खाना तयार भएर आउँछ,’ अधिकारी भन्छन्, ‘पाहुना र परिवारसँग रमाउने समय प्रशस्त मिल्छ ।’

अहिले त पर्यटकले पनि खाना अर्डर गर्ने गरेका मनोहरले सुनाए । ‘फाइभ-स्टार होटलमा बस्ने पर्यटकले पनि खाना अर्डर गर्नुहुन्छ,’ उनी भन्छन्, ‘सामन्य लज र गेस्ट हाउसमा बस्नुभएकाहरु पनि हामीलाई विश्वास गर्नुहुन्छ । किनभने हाम्रोमा सस्तोदेखि महंगो मेनु राख्ने रेस्टुरेन्टहरु आवद्ध छन् ।’

फुडमान्डूले अहिले काठमाडौं र ललितपुरमा सेवा दिइरहेको छ । भक्तपुरको लोकन्थलीसम्म पनि सेवा पुगिरहेको छ ।

तर, भक्तपुरमा आधुनिक रेस्टुरेन्ट नभएपछि स्थानीय क्षेत्रमा सेवा दिन कठीन भइरहेको मनोहरले सुनाए ।

२४ घण्टा नै अर्डर फुडमान्डुले विहान १० बजेदेखि बेलुकी ८ः३० बजेसम्म खाना/खाजा डेलिभरी दिन्छ । डेलिभरी चार्ज अर्डर रेञ्ज र लोकेशनका आधारमा फरक-फरक छ । जति धेरै खानेकुरा अर्डर गर्‍यो, उति कम डेलिभरीचार्ज लिने नीति कम्पनीको छ । नजिकको लोकेशनमा पनि डेलिभरी शुल्क कम छ ।

आफूले चाहेको रेष्टुराँबाट रोजेको खाना आफ्नै घर/अफिसमा पाउँदा ग्राहक दंग नपर्ने कुरा भएन । उनी भन्छन्, ‘हामी ग्राहकबाट प्राप्त सुखद प्रतिक्रियाबाट नै यसलाई फैलाउने योजना बुनिरहेका छौं ।’

फुडमाण्डू चलिरहृयो

सानो पुँजीबाट सुरु गरेको व्यवसायले सुरुमा अपेक्षाअनुसार गति लिएन । यसको असर फुडमाण्डूको टिममा पनि पर्‍यो ।

सुरुआतमा निकै घाटा लाग्यो । मनोहरलाई पनि परिवारले फेरि जागिरमै फर्किन दबाव नदिएका होइनन् ।

तर, उनी आफ्नो लक्ष्यमा अडिग रहे । भूकम्प र नाकाबन्दीको समयमा पनि उनले ठूलै सास्ती व्यहोरे । आम्दानीको बाटो बन्द हुँदा कम्पनी सञ्चालन र व्यवस्थापनमा नै समस्या भोग्नुपर्‍यो ।

तर, विशेष परिस्थितामा आएका समस्याहरुलाई उनले दरिलो आत्मबलका साथ एकपछि अर्को गर्दै पार लगाए । त्यसैले अधिकारी फुडमान्डूलाई आफ्नो र टिमको लगातारको प्रयास र साधनाको प्रतिफल मान्छन् ।

‘काम गर्ने आइडिया त दिमागमा धेरै आउँछन् तर, सफल तरिकाले काम गर्न गाह्रो छ,’ उनी भन्छन्, ‘बजारको सम्भावना र चुनौतीबारे पहिले अध्ययन नगरी आइयो भने फेल भइन्छ । म यसमा लामो अध्ययन गरेरै आएको थिएँ । त्यसैले समस्यामा पनि मनोबल उच्च बनाएरै बसेँ ।’

फुडमान्डूलाई आजको स्थानसम्म ल्याउन पाउँदा मनोहरलाई सन्तोष छ, तर सुन्तुष्ट भइसकेका छैनन् । मेन्यूमा अटाउन नसकिएका धेरै खानेकुरा कसरी ग्राहकका लागि पस्कने भन्ने योजना बुनिरहेका छन् ।

बिजनेशलाई काठमाडौं उपत्यकाभरि र क्रमशः बाहिर पनि नै फैलाउने पनि उनको लक्ष्य हो । ‘योजना छन्, टिम छ, अनुभव पनि छ,’ मनोहरले आफ्नो कुरा टुंग्याउँदै भने, ‘उचित समय पर्खिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment