Comments Add Comment

धुर्मुसको नजरमा माग्नेबुढाः सहकार्य टुट्यो, आत्मीयता टुटेन


२९ चैत, काठमाडौं ।  लोकप्रिय हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) ले बुधबार आफ्नो जन्मदिन मनाए । उनी ४३ पूरा भएर ४४ वर्ष लागेका छन् ।

हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट माग्ने बुढाका रुपमा चिनिएका हुन् केदार । उक्त टेलिश्रृंखलामा सिताराम कट्टेल (धुर्मुस)सित उनको जोडी खुबै जमेको थियो । मानिसहरुले उनीहरुलाई भावी मह जोडीको रुपमा हेर्न चाहेका थिए ।

तर, अहिले उनीहरु अलग-अलग छन् । बीचमा उनीहरुभित्र गम्भीर मनमुटाब भएर बोलचाल बन्द भएकोसम्म खबरहरु आए । तर पछिल्लो समयमा उनीहरुबीच पुरानै सौहार्द्रता देखिन्छ ।

हामीले धुर्मुसँग उनीसँगको सहयात्रालाई पुन:स्मरण गर्न आग्रह गर्‍यौं । केदारबारे धुर्मुसको भावना उनकै शब्दमाः

त्यो पहिलो भेट

२०५९ सालको एक दिन । म कीर्तिपुरमा सडक नाटक देखाउँदै थिएँ । परिवर्तन नेपाल नामक संस्थाले बनाएको ‘आगो निभाउ’ नामको सडक नाटकमा मेरो कमेडी रोल थियो ।

दर्शकहरुको भिडमा केदारजी पनि हुनुहुँदो रहेछ । त्यतिबेला उहाँ एचबीसी एफएममा प्रोग्राम चलाउनुहुन्थ्यो । त्यही प्रोग्रामको लागि झलकमान गन्धर्वको इन्टरभ्यू लिन जाने क्रममा बाटोमा सडक नाटक भइरहेको देखेर भिडभित्र घुस्नुभएको रहेछ । मेरो प्रस्तुतिबाट मानिसहरु जोड-जोडले हाँसिरहेका थिए । हाँस्यव्यंग्यमा रुची राख्ने उहाँ पनि मबाट प्रभावित हुनु भएछ ।

तर, त्यहाँ हाम्रो कुराकानी भएन ।

जितुले मिलाइदिएको जोडी

त्यतिबेला म आरआर कलेजमा इन्टर पढ्थेँ । कलाकारिता क्षेत्रमा अवसर खोजिरहेको थिएँ ।

यही सिलसिलामा मैले जितु नेपाल दाइलाई भेटेँ । उहाँले नेपाल टेलिभिजनमा गीताञ्जली कार्यक्रम चलाउनुहुन्थ्यो । त्यो कार्यक्रममा गीतको बीचबीचमा हाँस्य प्रस्तुतिहरु समावेश गरिन्थ्यो । जितु दाइले मेरो रुची थाहा पाएपछि एउटा स्क्रिप्ट लेखेर ल्याउन भन्नुभएको थियो ।

एक दिन म स्क्रिप्ट बोकेर कमलादीमा रहेको आर्ट्स एन्ड कलिउड डान्स सेन्टरमा उहाँलाई भेट्न पुगेँ । उता, केदारजी पनि स्क्रिप्ट बोकेर त्यहीँ आउनुभएको रहेछ । उहाँले मलाई देखेर चिन्नुभयो ।

‘तिमी अस्ति सडक नाटक गर्ने भाइ होइन ?’ उहाँले सोध्नुभयो । मैले हो भनेँ ।

‘खत्रै हँसाएका थियौ,’ उहाँले भन्नुभयो ।

कुरा गर्दै जाँदा उहाँले आफू सन्तोष पन्तको हिजो आजका कुरामा पनि फुटकर अभिनय गरिरहेको बताउनुभयो ।

हामी दुवैले एकसाथ जितु दाइलाई भेट्यौं । दुवैको स्क्रिप्ट सर्सरी हेरेपछि उहाँले भन्नुभयो, ‘दुवैजना राम्रो लेख्दा रहेछौं, मिलेर एउटै स्क्रिप्ट लेखेर ल्याओ न त ।’

हामी दुवै खुशी भयौं । त्यतिबेला म कलाकारीतामा कोही सहयात्री खोजिरहेको थिएँ । उहाँ पनि त्यस्तै अवस्थामा हुनुहुन्थ्यो । तुरुन्तै हामी सहमत भयौं, मिलेर स्क्रिप्ट लेख्नलाई । यसरी हाम्रो सहयात्रा प्रारम्भ भयो ।

त्यतिबेला काठमाडौंमा एक्लै संघर्ष गरिरहेको मलाई एउटा साथी मात्र नभएर अभिभावक नै पाएजस्तो महसुस भयो । अब चैं केही गर्न सकिन्छ भन्ने आत्मबल बढ्यो ।

उहाँ मोटसाइकल चढ्नुहुँदो रहेछ । मलाई कमलादीबाट थापाथलीसम्म पुर्‍याइदिनु भयो । उहाँको कोठा कलंकीमा थियो । दुईवटा कोठा लिएर एक छोरा र श्रीमतीसहित बस्नुहुन्थ्यो । उहाँहरुको इलेक्ट्रोनिक सामान बेच्ने पसल पनि थियो । पसल भाउजुले हेर्नुहुन्थ्यो । म थापाथलीमा एउटा कोठा लिएर साथीहरुसँग बस्थेँ ।

गीताञ्जलीदेखि मेरीबास्सैसम्म

हामी दैनिक भेट हुन थाल्यौं । कहिले उहाँको कोठामा त कहिले मेरो कोठामा बसेर स्क्रिप्टमा घोत्लिन थाल्यौं । अभ्यासका लागि पनि दिनदिनै नयाँ स्क्रिप्ट लेख्थ्यौं । धेरैजसो स्क्रिप्ट दराजमा थन्किन्थे ।

गीताञ्जलीका लागि पहिलो स्क्रिप्ट बनाएका थियौं, ‘निषेधित क्षेत्र’ शीर्षकको । जितु दाइले मन पराउनुभयो । यसमा मैले पुलिसको र केदारजीले पसलेको रोल निभाएँ ।

२०६० साल असोज १० गते हामीले पहिलोपटक स्टेजमा संयुक्त प्रस्तुति दियौं । ‘धनकुटे एस्प्रेस’ नामक उक्त प्रहसन निकै रुचाइयो । त्यसपछि मलाई उहाँले ‘हिजो आजका कुरा’ छिराउनुभयो । त्यसमा झल्याकझुलुक अनुहार देखाउने मौका पाइयो । त्यसपछि हामीले ‘तितो सत्य’मा सँगै अभिनय गर्‍यौं ।

केही समयपछि जितु दाइ दमन रुपाखेती दाइसँग मिलेर ‘जिरे खुर्सानी’ सिरियल सुरु गर्नुभयो । त्यसमा हामी दुबैलाई समावेश गर्नुभयो । हामीले त्यसमा ५७ भागसम्म अभिनय गर्‍यौं ।

त्यसपछि दमन दाइ ‘जिरे खुर्सानी’ बाट अलग्गिनुभयो र मेरी बास्सै सुरु गर्नुभयो । हामी पनि त्यसैमा आयौं ।

मेरी बास्सैमा सुरुदेखि नै मैले धुर्मुस र उहाँले माग्नेबुढाको रोल गरेका हौं । हामी दुवैले आफ्नो क्यारेक्टर आफैंले जन्माएका थियौं । यही क्यारेक्टरबाट हामी लोकपि्रय भयौं, र अहिलेसम्म पनि यही धुर्मुस र माग्ने बुढा नामले नै चिनिएका छौं ।

केही समयपछि दमन दाइले मेरी बास्सै छोड्नुभयो । त्यसपछि केदारजी र मैले निर्देशन गर्न थाल्यौं ।

सिरियल लोकप्रियताको शिखरमा पुगेको थियो । देश-विदेशका स्टेजमा हाम्रो जोडीको खुबै डिमान्ड भयो । सयौं कार्यक्रमहरुमा हामीले एकसाथ प्रहसन गर्‍यौं ।

मनमुटाब छैन 

मेरी बास्सै निर्माण गर्ने कम्पनी मिडिया हब आर्थिकरुपमा संकटग्रस्त थियो । हामीलाई समयमा पैसा दिन सकिरहेको थिएन । अन्ततः केदारजी थाक्नुभयो । ‘अब गाह्रो भयो, म चाहिँ गर्न सक्दिनँ’ भनेर उहाँ निस्कनुभयो ।

सिरियल निकै हिट थियो । मैले छाडिहाल्न सकिनँ । दु:खसुख काम गरिरहेँ । त्यतिबेला हामीबीच फाटो आएको भनेर ब्यापक चर्चा भयो । तर, त्यस्तो केही होइन । केदारजीले आपसी समझदारीमा नै मेरी बास्सै छोड्नुभएको हो ।

मेरी बास्सैबाट छुट्टिएपछि स्टेज कार्यक्रमहरुमा पनि हाम्रो सहयात्रा टुट्यो । यद्यपि हाम्रो मित्रता भने कहिल्यै पनि टुटेन र टुट्ने छैन ।

मिडियामा हामीबीच बोलचालै नभएको खबरहरु समेत आए । सहकार्य गर्ने क्रममा कहिलेकाहीँ तलमाथि भयो, होला तर हामीबीच गम्भीर मनमुटाब कहिल्यै भएन । बाहिर अनेकथरी चर्चा हुने गरे पनि हामीबीच कुनै तुष छैन ।

जब बदलियो बाटो

२०७१ सालमा भुईंचालो आएपछि मेरो जीवनको बाटो अलिकति बदलियो । भूकम्प जाँदा म अमेरिकामा थिएँ । हस्याङफस्याङ गर्दैै नेपाल आएँ ।

नेपाल आएर केदारजीहरुसँगै मिलेर उद्धार र राहतमा काम गर्ने सोच थियो । तर, उहाँहरु आफ्नै हिसाबले राहतमा अगाडि बढिसक्नुभएको रहेछ । त्यसैले सुन्तली र मैले आफ्नै हिसाबले काम गर्‍यौं ।

बस्ति निर्माण अभियान सुरु गर्ने बेलामा पनि सुन्तली र म केदारजीको घरमै सल्लाह गर्न गएका  थियौं । उहाँलाई पनि सहकार्यका लागि आग्रह गरेका थियौं । तर, स्वास्थ्य र विविध कारणले उहाँ हामीसँग हिँड्न सक्नु भएन । यद्यपि, उहाँको नैतिक साथ, सहयोग र ढाडस सदैव रहिरहेको छ ।

हामीबीच अहिले पहिलेजस्तो बाक्लो भेट त हुँदैन । तर, जब भेट हुन्छ, निकै आनन्दित महसुस गर्छौं । दाजुभाइको जस्तो आत्मीय सम्वन्ध कायम छ । मलाई अझै पनि ‘केदार दाइ छन् है’ भनेर एक किसिमको सुरक्षा फिल हुन्छ । म के कुरामा स्पष्ट छु भने केदार दाइ नहुनुभएको भए आज यो स्थानमा हुने थिइनँ ।

कुनै बेला हाम्रो जोडीलाई भावि मह जोडीको रुपमा हेर्नेहरु पनि थिए । हामी स्वयम्ले पनि त्यस्तो परिकल्पना नगरेको होइन । तर, समयले हामीलाई अलग्यायो । दर्शकहरुले फेरि पनि हामीलाई एक साथ हेर्न चाहनुभएको छ । घच्घच्याइरहनु भएको छ । वास्तवमा मलाई पनि उहाँसँग काम गर्ने धित मरेको छैन । तर, अब यो समयको हातमा छोडिदिएको छु ।

समानता

केदारजी मभन्दा मभन्दा ८ वर्ष जेठो हुनुहुन्छ । हामीबीच केही समानताहरु छन् । पहिले हामी दुवै फुकिढल थियौं । अहिले दुवै मोटाएका छौं ।

हामी दुबै पेटका रोगी थियौं । औषधि बोकेर हिँड्ने गर्थेँ म । खाना खानुअघि औषधि खानुपर्थ्यो । आज हामी दुईको पुरानो फोटो हेर्दा म नोस्टाल्जियामा पुगेँ । एउटा रमाइलो कुरा याद आयो ।

टाउको सानो, कपाल पनि पातलो थियो उहाँको । उहाँ र मेरो दुवैको कोठामा पानीको निकै दुख थियो । मलाई त्यतिबेला निकै हाँसो उठ्थ्यो, जब उहाँ जम्माजम्मी एक मग पानी लगेर टाउको नुहाएर निस्किनुहुन्थ्यो ।

केदार कस्ता व्यक्ति ?

केदारजी सुरुदेखि नै प्रतिभावान व्यक्ति हो । अहिले त झनै खारिनु भएको छ । मानिसहरुले माग्ने बुढाको क्यारेक्टरमा मात्रै चिने पनि उहाँ धेरै किसिमका क्यारेक्टर गर्न सक्नुहुन्छ । तामाङ र मधेसी क्यारेक्टर उहाँ पर्फेक्ट गर्नुहुन्छ ।

स्वभावको कुरा गर्ने हो भने केदारजी एकदम सफा हृदयको व्यक्ति हुनुहुन्छ । मनमा तुष पालेर बस्नुहुन्न । चित्त नबुझेको कुरा पाकपुक भनिहाल्नुहुन्छ । अर्को उहाँको स्वभाव भनेको कुनै निर्णय गरेपछि त्यसमा मरिमेटेर लाग्नुहुन्छ । हत्पत्ति डग्मगाउनुहुन्न । साथै, अति मिहिनेति पनि हुनुहुन्छ ।

हिजो बिहानै उहाँलाई फोन गरेर जन्मदिनको शुभकामना दिएँ । हामीबीच करिब २० मिनेट कुराकानी भयो । उहाँले रंगशाला निर्माण अभियानमा पुृनः एक पटक आफ्नो ऐक्यवद्धता प्रकट गर्नुभयो । आफ्नो व्यस्तताले गर्दा समय दिन नसकेकोमा दुख पनि व्यक्त गर्नुभयो । मैले उहाँलाई रंगशाला निर्माणका लागि बनाइने समितिभित्र बसेर काम गर्न आग्रह गरेको छु । उहाँले सहमति जनाउनु भएको छ ।

प्रस्तुतिः चिरञ्जीवी पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment