Comments Add Comment

यो सुन्दरी प्रतियोगिता होइन, उहिलेका कुरा नगरौं !

यस वर्षको मिस नेपालको उपाधि हेटौंडाकी श्रृङ्खला खतिवडाले जितिन् । उनी कम्युनिष्ट नेता एवं सांसदद्वय विरोध खतिवडा र मुनु सिग्देलकी छोरी हुन् । मिस नेपाल बनेकी श्रृङ्खलाका पिता एवं एमाले नेता विरोध खतिवडा प्रतिनिधिसभाका सदस्य हुन् भने आमा मुनु एमाले मकवानपुरकी अध्यक्षका साथै प्रदेश-३ कि सांसद हुन् ।

बुधबार राति श्रृङ्खला खतिवडाले मिस नेपालको उपाधि हात पारे पनि आमाबुवासँग उनको सम्पर्क हुन पाएन । ‘आयोजकहरुले विहीबार बिहानसम्म छोरीलाई उनीहरुकै साथमा राखेका छन्, फोन स्वीच्ड अफ छ, मसँग फोन सम्पर्कसमेत हुन पाएको छैन,’ सांसद खतिवडाले अनलाइनखबरसँग भने, ‘आमा पनि यतिबेला नेपालमा छैनन्, अमेरिका र मेक्सिकोतिर घुमिरहेकी छिन् ।’

आफ्नी छोरी मिस नेपाल बनेकोमा खुशी लागेको एमाले नेता खतिवडाले अनलाइनखबरलाई बताए । विगतमा कम्युनिष्टनिकट महिला संघका नेतृत्वहरुले ‘सुन्दरी प्रतियोगिता’ को विरोध गर्थे, अहिले कम्युनिष्टकै छोरी मिस नेपाल बनेको प्रशंग उठाउँदा उनले नेपालका वामपन्थीहरुले उहिलेको सोचाइ त्याग्नुपर्ने सुझाव दिए ।

कम्युनिष्ट नेता खतिवडाले अनलाइनखबरसँग भने- ‘राम्रा कुराहरु पुँजीवादको पनि स्वीकार्नुपर्छ । नराम्रा कुराहरु समाजवादको पनि फ्याँक्नुपर्छ । वामपन्थी र उ भन्ने कुरै भएन । अहिलेको युग र अहिलेको जेनेरेशनअनुसार आफ्नो दृष्टिकोण फराकिलो बनाउनुपर्छ ।

आफ्नी छोरी मिस नेपाल घोषित हुँदा कस्तो अनुभूति भइरहेको छ भनेर अनलाइनखबरले श्रृंखलाका पिता एवं चर्चित सांसद खतिवडासँग गरिएको कुराकानीः

कामरेडलाई आफ्नी छोरी मिस नेपाल भएकोमा कस्तो लागेको छ ?

सबैका बुबाले अनुभुति गर्न सक्ने कुरा मैले मुखले के भन्नु ? छोरीले उपाधि पाउँदा कुनचाँहि बाबुआमा खुसी नहोलान् र ?

श्रृंखलाजीको पृष्ठभूमिबारे पाठकलाई संक्षिप्तमा बताइदिनु न, उनी कस्ती युवती हुन् ?

आर्किटेक्ट इञ्जिनियर पढेकी हुन् । आर्किटेक्ट इन्जिनियरमा १० सेमेस्टरमध्ये चार/ पाँच सेमेस्टरमा नेपाल टप गरेकी थिइन् भनेपछि कस्ती होलिन् अनुमान गर्नुपर्‍यो नि ।

तपाईका छोराछोरी कतिजना ?

एक छोरी र एक छोरा हुन् । छोरा ब्याचलर सकेर अष्ट्रेलियामा पढ्दैछन् ।

तपाईले मुनुजी दुबैले आफ्नो फेसबुक स्टाटसमा छोरीलाई ‘भोट फर श्रृंखला’ भनेर लेख्नुभएको रहेछ । दुबै चर्चित बा-आमा भएकाले पो श्रृंखला खतिवडा मिस नेपाल भएकी हुन् कि ?

मिस पपुलर र सबैभन्दा धेरै भोट पाउने त अरु नै छन् । बाआमाको लोकपि्रयताले काम गर्ने भए त मेरो छोरो पनि कतै ट्यालेन्ट भएर बस्थ्यो होला ।

यदि बाआमाको लोकप्रियताले काम गर्ने हो भने त शेरबहादुरजीका छोरा वा अरु पूर्वप्रधानमन्त्रीका छोराछोरी पनि आउँथे होला । मजस्तो लुम्रोझुम्रो मान्छेकी छोरीले किन उपाधि पाउने ?

पहिले-पहिले त अनेम संघका नेतृहरुले ‘सुन्दरी प्रतियोगिताको विरोध गरौं’ भन्दै सडकमा जुलुसै निकाल्थेे । अहिले कम्युनिष्ट नेताहरुकै छोरी मिस नेपाल घोषित हुन थाले । के अब नेपालका कम्युनिष्टहरु फेरिएका हुन् ?

अब यो उहिलेका कुरा गर्ने हो भने त माओवादीलाई उग्रवादी भन्थे । कांग्रेसलाई भारतीय दलाल भन्थे । एमालेलाई संसोधनवादी भन्थे । अहिले यो कुरा सान्दर्भिक होला र ?  हुन्नजस्तो लाग्छ मलाई । बन्दूकको नालबाट सत्ता खोज्ने कम्युनिष्टहरु शान्तिपूर्ण प्रतिस्पर्धामा आइसके । माओत्सेतुङले यसो भन्थे भनेर साध्य नचल्ला अब ।

अहिलेको युगअनुसार, समयअनुसार परिमार्जन हुन्छ । राम्रा कुराहरु पुँजीवादको पनि स्वीकार्नुपर्छ । नराम्रा कुराहरु समाजवादको पनि फ्याँक्नुपर्छ ।

तपाईको विचारमा ‘सुन्दरी प्रतियोगिता’ राम्रो हो ? यसलाई कम्युनिष्टहरुले कसरी हेर्ने ?

सुन्दरी प्रतियोगिता नै हैन नि यो । शब्द नै मिलेन । सुन्दरी प्रतियोगितामा त जिउडाल, हाउभाउ, अंग-प्रत्यङ्ग सबैको हिसाब हुन्छ ।

मिस नेपालमा त बौद्धिक प्रश्नोत्तर भएको छ । प्रश्नोत्तर गरेर नै मिस नेपाल छानेको हो । जिउडाल राम्रो छ भनेर प्रतिस्पर्धा गराएको देखिएन । को ट्यालेन्ट छ भनेरै प्रतिस्पर्धा गराएको पाएँ मैले ।

उसोभए यो विगतमा अनेमसंघले भनेजस्तो ‘सुन्दरी प्रतियोगिता’ होइन ?

सुन्दरी भन्ने होइन, मिस ट्यालेन्ट भने पनि हुन्छ, मिस नेपाल भने पनि हुन्छ ।

स्वाभाविक हो, प्रतियोगितामा सहभागीमध्ये मान्छेको शरीर पनि स्वस्थ्य हुनुपर्छ । लुक्स पनि स्वाभाविक देखिनुपर्‍यो । मुख्य कुरो त आन्तरिक सौन्दर्य नै हो ।

तर, तपाईले यसो भनिरहँदा गाउँमा जन्मेका गरिवका छोराछोरीहरु, जो वाल्यकालमै पोषण नपुगेर नराम्रा र रोगी छन्, तिनीहरुको चित्त दुख्दैन ?

उनीहरुलाई अगाडि बढाउनु पर्‍यो नि । यसमा कुनै विवादै छैन । अपाङ्गता भएकालाई के गर्ने ? क्यान्सर लागेकालाई के गर्ने भनेर जटिलतामा लान हुन्न । सबै पक्षलाई स्वीकार्दै लानुपर्छ । म पनि त गाउँबाटै आएको हुँ ।

भनेपछि वामपन्थीहरुले पनि अहिलेको परिस्थिति अनुसार मिस नेपाल प्रतियोगितामा सहभागी हुनुपर्‍यो ?

वामपन्थी र ऊ भन्ने कुरै भएन । अहिलेको युग र अहिलेको जेनेरेशनअनुसार आफ्नो दृष्टिकोण फराकिलो बनाउनुपर्छ । विकास गर्ने, विभिन्न पक्षको प्रविधि, कानुन, शिक्षा, स्वास्थ्य, वातावरण सबै पक्षको जानकारी लिएर आफ्नो ज्ञानको दायरालाई अझ अग्लो बनाउने काम गर्नुपर्छ ।

उनी राजनीतिक रुपमा पनि कतै आबद्ध भइ्न कि भइनन् ?

पढ्ने बेला पुल्चोक क्याम्पसमा अनेरास्ववियुतिर संगठित भइन् होला । स्ववियु चुनावमा भोट अनेरास्ववियुलाई हाल्ने बाहेक अरु त्यस्तै कुनै गतिबिधि गरे जस्तो लाग्दैन । एकपटक कोषाध्यक्ष उठ भन्दा मिल्ने साथी अर्को प्यानलबाट उठेकाले मानिनन् । पार्टीमा संगठित सदस्य दिएको छैन अहिलेसम्म । उनी एमालेको भोटरमात्र हुन् ।

यो पनि पढ्नुस् 

श्रृङ्खला खतिवडाले जितिन् ‘मिस नेपाल’को उपाधि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment