Comments Add Comment

देउवालाई दुई वर्ष ‘झेल्नु’को विकल्प छैन !

भातृ संगठनभित्र सुरु भयो 'मिनी ब्याटल'

२९ चैत, काठमाडौं । आम चुनावमा नराम्रो हार व्यहोरेपछि नेपाली कांग्रेसमा नेतृत्व परिर्वतनको आवाज बलियोसँगै उठ्यो । गगन थापा, प्रदिप पौडेल लगायतका युवाहरुले दिएको नेतृत्व परिवर्तनको नारामा शेखर कोइरालादेखि प्रकाशमान सिंहसम्मले स्वर मिलाए ।

संसदीय दलको चुनाव हुँदै केन्द्रीय कार्यसमिति बैठकसम्म आउँदा ध्रुवीकरण तीव्र भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा पक्षले एमाले र माओवादी मिले, त्यसैले हामीले चुनाव हार्‍यौं भन्दै देउवाको बचाउ गरेका छन् भने अरुले सबै दोष देउवालाई दिएका छन् ।

पूर्वमन्त्री खुमबहादुर खड्काको निधनका कारण स्थगित केन्द्रीय समितिको बैठक वैशाख ७ वा ९ गतेबाट फेरि सुरु गर्ने तयारी छ । तर, यो बैठकले महासमिति बैठक बोलाउने बाहेक अरु उल्लेख्य निर्णय गर्ने सम्भावना कम छ ।

नेताहरुकाअनुसार जेठ दोस्रो साता बैठक बोलाउने सम्भावना छ । तर, महासमितिले विशेष महाधिवेशन बोलाउने सम्भावना पनि नरहेको एक नेताले बताएका छन् ।

दुई वर्ष देउवालाई ‘झेल्नु’को विकल्प छैन

संसदीय दलको चुनावले प्रष्ट भयो कि बाहिर अलोकप य भए पनि पार्टीभित्र देउवाको पकड बलियो छ ।

केन्द्रीय समितिमा देउवाकै बहुमत छ । यद्यपि पछिल्लो समय देउवाविरुद्ध रामचन्द्र पौडेल र कृष्ण सिटौलादेखि अर्जुननरसिंह केसीसम्म सबै एकठाउँमा छन् । अर्थात १३ औं महाधिवेशन अघिको संस्थापन समूह फेरि एक भएका छन् ।

महासमिति बैठक गदैगर्दा देउवालाई पक्कै पनि यसले केही दबाव महसुस गराएको छ । तर, अहिले नै देउवालाई नेतृत्वबाट हटाइहाल्ने अवस्थामा उनीहरु पनि छैनन् ।

किनकि कांग्रेसको विधान संशोधनका लागि महासमितिमा दुई तिहाई बहुमत चाहिन्छ, जुन कुनै एक पक्षको छैन । एक नेताका अनुसार देउवा र पौडेल समूह नमिल्दासम्म महासमितिमा दुई तिहाई पुग्ने अवस्था छैन ।

आफूलाई हटाउन योजनाअनुसार देउवाले विशेष महाधिवेशन बोलाइदिने कुनै भएन । पौडेल समूहका एक नेता भन्छन्, ‘महासमितिमा डकुमेन्टहरु पेश हुन्छन्, छलफल हुन्छ तर, त्यसमा विशेष महाधिवेशन बोलाउने अवस्था छैन ।’

अर्थात अब झण्डै २ वर्षसम्म मन परे पनि नपरेपछि देउवालाई झेल्नुको विकल्प छैन ।

बरु चार वर्षे कार्यकाल भएपछि थप एक वर्ष (६-६ महिना गर्दै) लम्ब्याउने प्रयास नहोला भन्न सकिन्न । विधानतः महाधिवेशन हुन नसक्ने अवस्थामा एक वर्षसम्म म्याद थप्न सकिन्छ ।

सुरु भयो ‘मिनी ब्याटल’

जब विशेष महाधिवेशन हुँदैन भन्ने बुझेको देउवा इतरको समूहले रणनीति परिर्वतन गरेको छ ।

अब उनीहरुले देउवाविरुद्ध लड्न लामो यात्रा (१४ औं महाधिवेशन पर्खिने) रोजेका छन् र, त्यसको तयारी स्वरुप सुभेच्क्षुक तथा भ्रातृ संगठनमा ‘मिनी ब्याटल’ सुरु भएको छ ।

पछिल्लो समय चार सुभेच्छुक संस्थामा चुनाव भएको छ र, पौडेल, सिटौला, केसीदेखि देउवासँग असन्तुष्ट सबै एक भएर देउवा समूहसँग चुनाव लडेका छन् । यसले उनीहरुलाई हौसाएको पनि छ, किनकि सबै चुनाव जितेका छन् ।

नेपाल शिक्षक संघ, नेपाल प्रजातान्त्रिक इन्जिजियर्स एशोसिएसन, वित्तीय कर्मचारी संघ, यातायात संघ लगायतका सबै सुभेच्क्षुक संघको चुनावमा देउवा समूह हारेको छ ।

अब ट्रेड युनियन कांंग्रेसको अधिवेशन मध्य बैशाखमा हुँदैछ । यसमा पनि पौडेल, सिटौला र केसी लगायतका सबैले एउटै प्यानल बनाएर चुनाव लड्ने तयारी गरेका छन् ।

यसपछि अरु सुभेच्छुक र भ्रातृ संगठनको चुनावमा पनि देउवा समूहलाई हराउने योजना छ । एक नेता भन्छन्, ‘एकाध सुभेच्छुक तथा भ्रातृ संगठनमा भन्न सकिन्न । तर, सबै मिल्ने हो भने धेरैको परिणाम हाम्रो अनुकुल आउँछ ।

प्रदेश अध्यक्षको अर्को दाउ

कांग्रेसको विधानमा सातवटै प्रदेशमा प्रदेश अध्यक्षहरु चयन गर्नुपर्ने व्यवस्था छ, जुन अहिलेसम्म कार्यान्वयन भएको छैन । अब पौडेल समूहले विधानको यो व्यवस्था अनुसार प्रदेशहरुमा चुनाव गराउन देउवालाई दबाव दिने तयारी छ ।

यो चुनावलाई १४ औं महाधिवेशन तयारीका रुपमा लिइएको छ । ‘सातमध्ये धेरै प्रदेशमा हामी जित्छौं’ पौडेल समूहका एक नेताले भने, ‘एकपछि अर्को मोर्चामा देउवालाई हराउँदै गयौं भने १४ औं महाधिवेशनबाट नेतृत्व परिर्वतन सम्भव छ ।’

देउवालाई कसले चुनौती दिने ?

१३ औं महाधिवेशनमा छिन्नभिन्न भएको तत्कालीन संस्थापन समूहले आम चुनावपछि एक ठाउँमा आएका छन् ।

नेताहरुका अनुसार जब भ्रातृ र सुभेच्छुक संगठनहरुको चुनाव सकिन्छ र १४ औं महाधिवेशनमा देउवासँग कसले लड्ने भन्ने प्रश्न आउँछ, त्यसबला यो समूह अहिले एकजुट भएका नेताहरुको एकता कायमै हुन्छ कि हुन्न भन्ने प्रश्न अहम छ ।

रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइराला सबै पार्टी सभापतिका दाबेदार हुन् । प्रतिनिधिसभा चुनाव हारे पनि पौडेलले पार्टीको नेतृत्वको दाबी छाडेका छैनन् । संसदीय दलको चुनावमा प्रकाशमानले देउवासँग प्रतिस्पर्धा गरेका थिए । त्यसैले सभापतिमा उनको दावी हुने नै भयो ।

महामन्त्री कोइराला पनि पौडेल समूहकै हुन् तर, पछिल्लो समय उनी पार्टी सभापति देउवासँग समदुरीमा छन् । सर्वसम्मत रुपमा पार्टीको नेतृत्व दिने आशमा उनी पार्टी सभापति देउवाविरुद्ध खुलेर प्रस्तुत भएका छैनन् । कृष्ण सिटौला, डा. शेखर कोइरालादेखि युवा नेताहरुको समूहले पनि नेतृत्वको दाबी गर्ने लाइनमै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment