Comments Add Comment

पर्वतारोहणका ‘डक्टर स्ट्रेन्ज’ को कथा

३० चैत, काठमाडौं । व्यावसायिक जीवनमा सफल थिए । जिन्दगी राम्रैसित अघि बढिरहेको थियो । तर, अकस्मात् एउटा दुर्घटनाले जीवन पुरै बदलिदियो ।

डाक्टरहरूले भने, ‘कहिल्यै हिँड्न नसक्ने हुन पनि सक्छ’ । तर, उनले डाक्टरहरूलाई गलत मात्रै साबित गरिदिएनन्, ‘नर्मल’ मान्छेले आँट्न पनि डराउने काम गरेर देखाए ।

झट्ट सुन्दा यो कथा काठमाडौंमा छायाङ्कन गरिएको हलिउड चलचित्र ‘डक्टर स्ट्रेन्ज’ को जस्तो लाग्छ । तर, यो कथा हो पर्वतारोहण क्षेत्रका ‘डक्टर स्ट्रेञ्ज’ स्टिभ प्लेनको ।

१३ डिसेम्बर २०१४ बिहान ३२ वर्षीय इञ्जिनियर स्टिभ प्लेन अष्ट्रेलियाको पर्थस्थित कोटेसोल समुद्र किनारामा मुर्छित अवस्थामा भेटिए । उनलाई अस्पताल दौडाइयो ।

‘म बिहान एकैछिन पौडी खेलौं भनेर समुन्द्र किनारमा गएको थिएँ । मैले एउटा छालमा हाम फालेँ अनि जब त्यो छाल तट तिर हानियो, म भुईँमा बजारिएँ’ त्यस दिनको सम्झना गर्दै स्टिभ भन्छन्, ‘डाक्टरहरूले भने मेरो घाँटीका ३ हड्डी नराम्रो सित बजारिएको छ र मेरो मेरुदण्डमा ठूलो चोट परेको छ ।’

उनले डाक्टरलाई सोधे, म अब कहिले अरू मानिसहरू जस्तै हिँड्न सकूँला त ?

जवाफ आयोः १२ महिना

डाक्टरहरूले १२ महिना भने पनि स्टिभलाई थाहा थियो उनी जस्तै दुर्घटना भोगेका धेरै मानिसहरूको जीवन व्हिल चियरमा बितेको छ । उनी पनि अब कहिल्यै हिँड्न नसक्ने हुन सक्छन् भन्ने डरले उनको दिमागमा जरो गाड्दै थियो ।


अस्पतालको शैय्यामा दिनहरू बिताउँदै गर्दा उनका मनमा नाना थरीका कुरा खेल्थे । कहिले आफ्ना पाँच दाजुभाइ दिदी बहिनीसँग खेलेको झझल्को आउँथ्यो त कहिले पर्थको खेल मैदानमा दौडेको । एक दिन भने एउटा अचम्मको सोच उनको मानसपटलमा पलायो । कताबाट पलायो ? उनलाई पनि थाहा छैन ।

तर, उनले सोचे, ‘डाक्टरहरूले ठान्छन् कि अब म सायद कहिल्यै हिँड्न सक्दिनँ । तर म सातै महादेशका सबै भन्दा अग्ला पहाड चढेर देखाइदिन्छु ।’

एसियाको सगरमाथा, उत्तर अमेरिकाको देनाली, युरोपको एलब्रुस, अफ्रिकाको किलिमान्जारो, दक्षिण अमेरिकाको आकानाकागुवा र अष्ट्रेलेजियाको कार्सतेन पिरामिड र दक्षिणी गोलार्धको भिन्सन पर्वत उनको लिस्टमा परे ।

त्यस पछिका दिनहरूमा उनले आफ्नो अधिकांश शक्ति र समय यही मिसनलाई पुरा गर्न खर्चिए । ‘सुरुमा मलाई लागेको थियो कि म केही वर्ष लगाएर यी हिमालहरू चढ्छु । तर, पछि योजना बनाउँदै जाँदा लाग्यो एकै वर्षमा किन नसक्ने ? पछि फेरि १३२ दिनको रेकर्ड नै किन नतोड्ने’ हाल काठमाडौंमा रहेका स्टिभले भने ।

डाक्टरहरूले भनेका थिए उनी कम्तीमा १२ महिनासम्म हिड्नै सक्ने छैनन् । तर, दुर्घटना भएको ११ महिनामै उनले डाक्टरहरूलाई गलत साबित गरिदिए । उनले न्यूजिल्याण्डको एसपायरिङ पर्वत (३,०३३ मिटर) को सफल आरोहण गरे ।

‘त्यो मेरो लागि निकै नै भावुक क्षण थियो । पर्वतको टुप्पाेमा पुगेपछि मलाई लाग्यो मैले संसारै जितेछु । तर, फेरि लाग्यो यो त सुरुवात मात्रै हो ।’


त्यसपछिका दिनहरूमा स्टिभले आफ्नो ‘सेभेन समिट’ अभियानको तयारी स्वरूप थुप्रै हिमालहरूको आरोहण गरे । नेपालमा रहेको ल्होत्से, आमादब्लम र मेरा पिकको पनि उनले सफल आरोहण गरे ।

आरोहण गर्ने क्रममा उनी आफ्नो अस्पतालको शैय्यामा बिताएका दिनहरू भुल्न चाहन्थे । केही क्षणका लागि त्यो शैय्यामा विना कुनै हलचल रहिरहेको याद उनको मष्तिष्कबाट बिलाउँथ्यो तर फेरि केही क्षणमै फर्केर आउँथ्यो ।

घाँटी अझै पनि दुख्छ, अनि ढाँड चसक्क हुन्छ, यसले डिसेम्बर २०१३ को त्यो घटना सम्झाइरहन्छ ।

तर, फेब्रुअरी २०१८ मा स्टिभले दृढ निश्चयका साथ निर्णय गरे, ४ महिनामा ७ ठूला पर्वतहरूको आरोहण गर्ने र छोटो समयमा ७ महादेशका ७ ठूला पर्वत चढेको रेकर्ड बनाउने ।

‘मैले ६ महादेशका ६ पर्वतको आरोहण गरिसकेँ । अब सगरमाथा मात्र बाँकी छ,’ उनले भने ।

‘सगरमाथा चढ्नका लागि केही हप्ताको समय मात्र हुन्छ । त्यसैले मैले यसलाई अन्तिममा राखेँ र अरू आरोहणको पनि त्यही हिसाबमा योजना बनाएँ ।’

स्टिभका अनुसार उनको टोलीले सबैभन्दा ठूलो चुनौती उत्तरी अमेरिकाको देनाली चढ्ने बेला सामना गर्नु परेको थियो । केही घण्टा तलमाथि भएको भए उनीहरूको योजना विफल हुन्थ्यो र रेकर्ड राख्ने योजनामाथि तुसारापात हुने थियो ।

‘देनाली निकै खतरनाक पर्वतका रुपमा चर्चित छ । धेरै जसो आरोहीहरू यहाँ मे महिना लागेपछि मात्रै आउँछन् । तर, रेकर्डका खातिर हामीले अप्रिल महिनामै चढ्ने निर्णय गरेका थियौं ।’

एक हप्तासम्म रापिलो घाम लागेको थियो । स्टिभ र उनको टोली पर्वतको १२ औं क्याम्पसम्म पुगिसकेका थिए । तर, अचानक मौसममा गडबडी सुरु भयो र जोडले बतास चल्न थाल्यो । ‘तीन दिनसम्म त हामी टेन्टमा बस्यौं । तेस्रो दिन हावाको वेग अलि कम भयो र हामीले मौसमको पूर्वानुमान हेर्‍यौं । चौबीस घण्टाका लागि हावाको वेग कम हुने पूर्वानुमान गरिएको रहेछ ।’

बाँकी जीवन व्हिल चियरमै विताउने पर्ने सम्भावना नजिक पुगेका स्टिभ अब मेको पहिलो हप्ता सगरमाथाको चुचरोतर्फ लाग्नेछन् । मे २३ सम्ममा सगरमाथाको सफल आरोहरण गरे छोटो समयमा ७ महादेशका ७ अग्ला पर्वत आरोहणको रेकर्ड बन्नेछ

‘लाग्यो यस्तो मौका फेरि आउने छैन । साधारणतया क्याम्प १२ पछि १३ र १४ मा टेन्ट गाडेर मात्र टोलीहरू अघि बढ्छन् । तर, हामी सिधै शिखर तिर हान्नियौं । राती १० बजेतिर शिखरमा पुग्यौं र तल झरिहाल्यौँ ।’

मौसम पूर्वानुमान सहि ठहरियो । चौबीस घण्टा बित्न नपाउँदै हावा हुरी फेरि सुरु भयो । स्टिभ प्लेन भन्छन्, ‘मलाई लाग्छ मेरो मिसनमा भाग्य पनि मेरो साथमा छ । सगरमाथा आरोहणको क्रममा पनि यसै हुने आशा छ मेरो ।’

बाँकी जीवन व्हिल चियरमै विताउने पर्ने सम्भावना नजिक पुगेका स्टिभ अब मेको पहिलो हप्ता सगरमाथाको चुचरोतर्फ लाग्नेछन् । मे २३ सम्ममा सगरमाथाको सफल आरोहरण गरे छोटो समयमा ७ महादेशका ७ अग्ला पर्वत आरोहणको रेकर्ड बन्नेछ ।

हामीले उनलाई सोध्यौं: सगरमाथाको टुप्पोमा पुगेपछि के गर्नुहुन्छ ?

‘हाम्रो टोलीको प्रायोजन एउटा अस्ट्रेलियन व्हिस्की कम्पनीले गरेको छ । उनीहरूले मलाई एक बोतल व्हिस्की पनि दिएका छन् । सायद म त्यही व्हिस्कीको एक चुस्की लगाउँछु !’

‘मैले त्यो बोतल आफ्नो हरेक पर्वतारोहणमा लिएर गएको छु । पछि गएर त्यसको लिलामी गर्नेछु र उठेको पैसा अष्ट्रेलियामा मेरुदण्डसम्बन्धी समस्याको समाधानका लागि भइरहेको अनुसन्धानलाई दान गर्नेछु । मलाई त्यो दिन बचाउने स्वयम्सेवकहरूको संस्थालाई पनि सहयोग गर्न चाहन्छु ।’

अनि जीवनमा गर्न के बाँकी रहन्छ त ? उनी भन्छन्, ‘जीवन सङ्घर्षले भरिपूर्ण छ । म फेरि अर्को कुनै चुनौतिको सामना गर्नेछु । मेरो दुर्घटनाले मलाई यहि सिकाएको छ ।’

‘मलाई कहिलेकाँही लाग्छ यदि त्यो दुर्घटना नभएको भए म सायद आफ्नै पेसामा कसैको ‘दासत्व’ स्विकारेर दत्त चित्तले लागिरहेको हुने थिएँ । के म खुसी हुन्थेँ ? मलाई थाहा छैन ।’

उनको जीवन कथा सुन्दा लाग्छ, ‘डाक्टर स्ट्रेन्ज’सँग मिल्दो जुल्दो रहेछ । स्टिभले हाँस्दै भने, ‘मैले त्यसरी त कहिल्यै सोचेकै छैन ! तर, आफूले आफैंलाई एक शब्दमा व्याख्या गर्नुपर्‍यो भने म आफूलाई ‘स्ट्रेन्ज’ (अनौठो) होइन, ‘स्टबर्न’ (हठी) भन्न रुचाउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment