Comments Add Comment

निर्वाचन आयोगलाई महालेखा परीक्षकको चेतावनी, जथाभावी टिप्पणी नगर्नू

३० चैत, काठमाडौं । महालेखा परीक्षक टंकमणि शर्माले निर्वाचन आयोगलाई महालेखा परीक्षकको प्रतिवेदनमाथि जथाभावी टिप्पणी नगर्न चेतवानी दिएका छन् ।

महालेखा परीक्षकको प्रतिवेदनले आयोगमा भएको अनियमितता उजागर गरेको छ । यसप्रति आयोगका पदाधिकारीहरुले असन्तुष्टि जनाएको बताइएको छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा महालेखा परीक्षक शर्माले भने, ‘आयोगले हाम्रो प्रतिवेदनमाथि विस्तृत अध्ययन गरेर मात्रै टिप्प्णी गर्दा उपर्युक्त हुन्छ, अहिले नै टिप्पणी गर्दा उहाँहरुलाई अप्ठ्यारो पर्न सक्छ ।’

निर्वाचन आयोगले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा बधाई दिएर आफूहरुले प्रतिवेदनमा नै उल्लेख गरिसकेको उनले बताए । यद्यपि निर्वाचनकै बेला आयोगका कामकारबाही र पारदर्शीताको विषयमा विभिन्न माध्यममा टिकाटिप्पणी भएपछि आयोगमाथि आफ्नो पनि चासो रहेको सुनाए ।

शर्माले थपे, ‘म आफैँ आयोगमा पुगेर ध्यानाकार्षण गराएको थिएँ, त्यसैले प्रतिवेदनमा उल्लेखित विषयमा आयोगकै पदाधिकारीहरुले चूनौति दिएको कुरा सुनिएको छ । उहाँले त्यस्तो नभन्नुपर्ने हो, प्रारम्भिक रिपोर्ट हेरेर मात्रै यस्तो भन्नुभएको हो भने म उहाँलाई विस्तृत रिपोर्ट अध्ययन गर्न अनुरोध गर्छु ।’

महालेखा परीक्षक शर्माले अनियमितता र विकृति गर्नेहरुलाई आफूहरुले सार्वजनिक गरेको प्रतिवेदनबाट तरंग आउनु स्वभाविक भएको बताए । उनले भने, ‘यो रिपोर्ट विगतभन्दा फरक छ, हामीले मन्त्रालयगत रुपमा मुल रिपोर्टमा समावेश गरेका छौं, त्यस्तै ईस्यु निक्र्यौल गरेर सारंशमा पनि रिपोर्ट बनाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment