Comments Add Comment

अाजका पत्रपत्रिकाः ३३ किलो सुन प्रकरणमा चौधरी र बनले किन गरे आत्महत्या ?

ईपीजी बैठकमा गलफती, सन्धि विवाद मिलाउन फेरि बैठक बस्ने


१ वैशाख, काठमाडौं । आज शनिबार, राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरु नयाँ वर्षमय बनेका छन् । पत्रपत्रिकाहरुले वर्ष ०७४ को समीक्षा गर्दै ०७५ सालसँगै आशाको आगमन भएको लेखेका छन् ।

कान्तिपुर दैनिकले ‘२०७५ को बाटो’ शीर्षक दिएर वर्ष ०७४ को समीक्षा र ०७५ को प्राथमिकताबारे सुझाएको छ । ‘अल्झन–बल्झन र बहानाहरु २०७४ लाई सुम्पँदै ०७५ साल हामीमाझ भित्रिएको छ’, कान्तिपुर लेखेको छ, ‘अब रोक्ने–छेक्ने कोही छैनन्, बाटो खुलेको छ देश अघि बढाउन ।’

नयाँ पत्रिका दैनिकले वर्ष ०७५ सँगै आशाको आगमन भएको लेखेको छ । ‘वाम सरकारलाई दुईतिहाइ मत छ । स्थिर सरकारलाई विकास र सुशासनमा सकारात्मक परिणाम ल्याउन तुलनात्मक रुपमा सजिलो हुन्छ’ नयाँ पत्रिकाले मुख्य समाचारमा लेखेको छ ।

नयाँ पत्रिकामै हिल्सा नाका सञ्चालन गर्ने निर्णय कर्णाली सरकारले गरेको, १९५० को नेपाल–भारत विवाद अझै नटुंगिएकोलगायत समाचार पनि छन् ।

कर्णाली–रारा पर्यटन वर्ष उदघाटन तयारी पूरा भएकोलाई मुख्य समाचार बनाएको नागरिक दैनिकले कर्मचारी विदेश भ्रमणको विकृत पाटोमाथि चिरफार गरेको छ ।

गोरखापत्र दैनिकले विद्यार्थी भर्ना अभियान आजदेखि शुरुलाई मुख्य समाचार बनाएको छ भने राजधानी दैनिकले धनगढी प्रिमियर लिगतको उपाधि टिम चौराहको पोल्टामा परेकोलाई प्रमुख समाचार बनाएको छ ।

कर्मचारीको विदेश भ्रमणः राज्यलाई व्यर्थै व्ययभार

नागरिक दैनिकले आज कर्मचारीको विदेश भ्रमणले राज्यलाई व्यर्थैको व्ययभार मात्रै थपेको लेखेको छ ।

विदेश भ्रमणको विकृत पाटो केलाउँदै नागरिक लेख्छ– आर्थिक वर्षमा जनसंख्या तथा वातावरण मन्त्रालयका अधिकृतदेखि सचिवसम्मका ४२ कर्मचारीले ६९ पटक ३७ राष्ट्रको भ्रमण गरे । एक वर्षमा ३ सय ६५ दिन हुन्छ तर अवलोकन, अध्ययन, सेमिनार, वर्कसप, बैठक आदिका नाममा सो मन्त्रालयका ४२ कर्मचारीले आर्थिक वर्ष ०७३–०७४ मा विदेश भ्रमणमा बिताएको कूल दिन जोड्दा ४ सय ८५ पुग्छ ।

त्यतिमात्रै होइन, ५० दातृ संस्थाको सहयोगमा विदेश भ्रमण गरेका जनसंख्या तथा वातावरण मन्त्रालयका ४२ कर्मचारीको खर्च खुल्ने अभिलेख मन्त्रालयमा भेटिँदैन ।

कुन दातृ संस्थाको कति सहयोगमा कुन उद्देश्यले उनीहरु विदेश भ्रमणमा गएका हुन् भन्ने तथ्यांक मन्त्रालयसँग नरहेको समाचारमा उल्लेख छ ।

 

अझै टुंगिएन १९५० को सन्धि विवाद

नेपाल र भारतबीच भएका सबै सन्धि–सम्झौता पुनरावलोकन गरी सुझाब दिन गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी)को आठौँ बैठकमा पनि १९५० को सन्धि प्रतिस्थापनको विषय टुंगिएन । दिल्लीस्थित इपिजी सचिवालय रहेको रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आइडिएसए)मा बिहीबार र शुक्रबार करिब आठ घन्टा छलफल भएको थियो ।

‘१९५०को सन्धिका विषयमा अझै छलफल गर्नुपर्ने र समान धारणा बनाउनुपर्नेछ, यथास्थितिमा सन्धि नरहने त स्पष्ट छ, तर सन्धिले कुन स्वरूप लिन्छ भन्ने तय हुन बाँकी छ,’ इपिजीका नेपाल संयोजक डा. भेषबहादुर थापाले नयाँ पत्रिकालाई भनेका छन् । उनले यो सन्धि टुंगिएपछि अन्य विषयमा धेरै समस्या नहुने निष्कर्ष पनि सुनाए ।

स्रोतका अनुसार नेपालले पेस गरेको सन्धिमा उल्लेखित दुवै देशका नागरिकले पाउने राष्ट्रिय व्यवहारको विषयमा सहमति जुट्न सकेको छैन । यसबारे भारतीय पक्षले मौखिक धारणा मात्रै राखेको र आगामी बैठकमा लिखित रूपमै धारणा ल्याएपछि छलफल गरेर टुंग्याउने सहमति भएको छ ।

संयोजक थापाले आ–आफ्ना विचारधारा लिखित र मौखिक रूपमा राखिएको, दुवै पक्षले त्यसमा थप अध्ययन गर्ने र आगामी बैठकबाट सहमति गर्ने कोसिस हुने पनि बताए । ‘हामी लक्ष्यतिर उन्मुख छौँ, यो कार्यकालभित्रै सरकारलाई प्रतिवेदन दिनेछौँ,’ थापाले भने ।

बैठकमा १९५० को सन्धि, नेपाल भारत सीमा व्यवस्थापन, व्यापार, जलस्रोतसम्बन्धी सहकार्यलगायत सबै विषयमा सहमति जुटाउने कोसिस भएको थियो ।

बैठकमा नेपालतर्फका संयोजक थापा तथा सदस्यहरू नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा. राजन भट्टराई सहभागी थिए । भारतका तर्फबाट संयोजक भगतसिंह कोस्यारी तथा सदस्यहरू जयन्त प्रसाद, महेन्द्र पी लामा र बिसी उप्रेती बैठकमा सहभागी थिए ।

३३ किलो सुन प्रकरणः चौधरी र बनले किन गरे आत्महत्या ?

तस्करीको साढे ३३ किलो सुन काण्डमा तीन जनाको ज्यान गएको छ । एकको हत्या भएको छ भने दुईले आत्महत्या गरेका छन् । मोरङ उर्लाबारी–७ का ३३ वर्षीय सनम शाक्यको हत्या भएको एक महिनापछि अन्य दुईले आत्महत्या गरेका हुन् ।

तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परी हिरासतमा रहेका प्रमलाल चौधरीले शुक्रबार आत्महत्या गरे ।

नयाँ पत्रिका खबरको अगाडि लेख्छ–प्रहरीले चौधरीसहित सोही एयरलाइन्सका हेड लोडर राजन थापालाई गत बुधबार पक्राउ गरेको थियो । प्रहरीले मोबाइल नियन्त्रणमा लिएपछि उनमा चिन्ता बढ्दै गयो । सँगै पक्राउ परेका थापासँग उनले ‘अब जेल जाने भइयो’ भन्दै चिन्ता व्यक्त गर्थे । हिरासतमा राखिएको तीन दिनमै उनले ट्वाइलेटको ढोकाको कब्जामा सुरुवालको पासो बनाएर आत्महत्या गरे ।

प्रहरीका अनुसार अर्का आरोपी सानु बन पनि सुरुमा निर्धक्क नै थिए । जब उनको मोबाइल नियन्त्रणमा लिएर भाइबर र फेसबुक अकाउन्ट हेरियो, त्यसपछि हतास बने । प्रहरी उच्च स्रोतका अनुसार उनले हिरासत कक्षमै आत्महत्या गरेका हुन् । चौधरीसँगै पक्राउ परेका थापालाई भने थप अनुसन्धानका लागि शुक्रबारै मोरङस्थित जिल्ला प्रहरी कार्यालय लगिएको छ ।

कोरियाबाट फर्केकालाई पुनः कोरिया जान परीक्षा

दक्षिण कोरियामा कम्तीमा तीन वर्ष वैधानिक रुपमा काम गरेर फर्किएका र पुनः त्यहाँ जान चाहने युवाका लागि आउँदो वैशाख २७ देखि परीक्षा सञ्चालन हुने भएको छ ।

गोरखापत्र दैनिकका अनुसार यही चैत २१, २२ र २३ गते आवेदन दिएका युवाका लागि आउँदो वैशाख १७ गतेदेखि कम्प्युटरमा आधारिक परीक्षा (सीबीटी) माध्यमबाट परीक्षा सञ्चालन हुने भएको हो ।
वैदेशिक रोजगार विभाग अन्तरगतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाका अनुसार करिब १ महिनासम्म कम्प्युटरमा आधारित विशेष परीक्षा सञ्चालन हुनेछ ।

र याे पनि- नयाँ वर्षमा सिस्नोले सत्कार !

नयाँ वर्षको सुरुवातसँगै वर्षको पहिलो दिन राम्रो कामको सुरुवात गरे वर्षभरि नै राम्रो र शुभ हुने मान्यता पाइन्छ । सुदूरपश्चिमका जिल्लामा भने नयाँ वर्ष सिस्नो लगाएर मनाउने गरिएको छ । नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रुपमा मनाइने प्रचलन प्रदेश ७ का पहाडी जिल्लामा रहेको नागरिक दैनिकमा समाचार छ ।

समाचार अनुसार बिसु पर्वमा देवर–भाउजु, नन्द–भाउजू, साली–भिनाजुले एक–अर्कोलाई सिस्नोले हान्ने चलन छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment