१ वैशाख, काठमाडौं । आर्थिक वर्ष ०७२/७३ मा बीमा क्षेत्रमा एउटा नौलो प्रयोग भयो, मौसम पूर्वानुमान शाखाले दिने वर्षातको तथ्यांकका आधारमा कम पानी पर्दा किसानहरुलाई बीमा मार्फत क्षतिपूर्ति दिने ।
नेपालको विकट जिल्ला जुम्लामा स्याउ खेतिमा गरिएको यो प्रयोग सुरुमा किसानहरुको रुचीमा खासै पर्न सकेन । कारण थियो, बीमाका नाममा यसअघि पनि भएका धोकाधडी ।
‘त्यहा युनिटी भन्ने कुनै संस्थाले बीमाको छवि पहिले नै धमिल्याएको रहेछ, सुरुको दिनमा कम आकर्षण देखियो,’ शिखर इन्स्योरेन्सका सहायक महाप्रबन्धक उदित काफ्लेले भने । कम्पनीले मौसम सूचकको आधारमा जुम्लामा पहिलो पटक बीमा लेख जारी गरेको हो । बीमा कम्पनीहरुमा हाल शिखर इन्स्योरेन्सले मात्रै मौसममा आधारित बीमा योजना सञ्चालनमा ल्याएको छ ।
तर, दोस्रो र तेस्रो वर्षमै जुम्लामा स्याउको बीमा गर्ने क्रममा वृद्धि भयो । दोस्रो वर्ष तीन सय ५१ कृषकले र तेस्रो वर्ष एक हजार एक सय १० किसानले स्याउको बीमा गराएको कम्पनीको तथ्यांकले देखाउँछ ।
दोस्रो वर्ष जुम्लामा कम पानी पर्यो । तीन सय ५१ वटा बीमा लेख जारी भएकोमा दुई सय ७३ वटामा क्षतिको दाबी पर्यो । ११ लाख रुपैयाँको बीमा शुल्क बुझाएका किसानले १२ लाख ५८ हजार रुपैयाँ पाए ।
बीमा कम्पनीबाट सहज भुक्तानी पाएपछि तेस्रो वर्ष नै तेब्बरले बीमा बढ्यो । अर्थात दोस्रो वर्ष ७ हजार ७ सय ४ वटा स्याउको बोटको बीमा भएकोमा तेस्रो वर्ष ३१ हजार सात सय २७ बोटको बीमा भयो ।
प्रारम्भिक अवस्थामै मौसममा आधारित बीमा
जुम्लाको कृषि विकास कार्यालयको तथ्यांक अनुसार हाल जुम्लामा मात्रै ९ लाख ९० हजार स्याउका बोट छन् । तर, हालसम्म जुम्ला सदरमुकाम, जुम्लाको नेपाल गाउँ, कालिकोटको नाग्मा, रारा, मुगु र डोल्पामा रोपिएका ३१ हजार सात सय २७ बोटको बाषिर्करुपमा बीमा हुँदै आएको छ ।
जुम्लामा रहेका कुल स्याउको बोटलाई मात्रै आधार लिने हो भने पनि करिब साढे तीन प्रतिशतको मात्रै बीमा भएको मान्न सकिन्छ ।
‘सबै क्षेत्रमा मौसम पूर्वानुमान विभागका स्टेशनहरु छैनन् भने कतिपयकोमा पुराना तथ्यांक भेटिँदैन,’ काफ्लेले समस्या उजार गरे । हाल कम्पनीले विभागका ११ स्टेशनबाट उपलब्ध तथ्यांकका आधारमा बीमा गर्दै आएको छ ।
हिमाली भेगमा एउटा स्टेशनको तथ्यांकमा आधारित भएर त्यस आसपासको लगभग एक किलोमिटर २ सय मिटरसम्मको क्षेत्रको मात्र बीमा गर्न सकिने अवस्था छ । त्योभन्दा केही दुरीमै पानी पर्ने दर फरक पर्ने भएकाले पनि धेरै क्षेत्र समेट्न गाह्रो परेको कम्पनीको भनाइ छ । तराईमा भने एउटा स्टेशनको तथ्यांकको प्रयोग गरेर ४/५ किलोमिटरसम्म बीमा गर्न सकिने अवस्था छ ।
हाल मौसम पुर्वानुमान शाखाको देशभर कुल पाँच सय ३५ स्टेशन छन् । सबै क्षेत्रमा मौसममा आधारित बीमा योजना सञ्चालन गर्न बालीको प्रकृतीले पनि फरक पर्ने गरेको छ ।
एउटा स्टेशनमा जडान गर्ने पानी मापक उपकरणका लागि जम्मा दुई लाखदेखि अढाइ लाख रुपैयाँसम्म मात्र लाग्ने भए पनि कम्पनी आफैंले जडान गर्दा निश्पक्षताको कुरा उठ्न सक्ने भएकेाले पनि कम्पनीले यसमा तत्परता देखाएको छैन ।
कसरी हुन्छ मौसममा आधारित बीमा ?
यो बीमा योजनामा पानी पर्ने समयमा तोकिएकोभन्दा कम पानी पर्ने वित्तिकै किसानले भुक्तानी पाउँछन् । जुम्लामा २० वर्षको तथ्यांकलाई आधार मान्दा चैतदेखि जेठसम्ममा औसतमा ६० मिलिमिटर पानी पर्ने गरेको देखिन्छ । यदि ६० मिलिमिटरभन्दा कम पानी परेमा स्याउको बोटको बीमा गरेका किसानले भुक्तानी पाउँछन् । ६० मिलिमिटरदेखि एक मिलिमिटर पानी पर्दा एक प्रतिशतदेखि एक सय प्रतिशतसम्म भुक्तानी पाउछन् ।
कहिलेकाँही स्टेशनले काम नगर्दा भने स्टेसनका प्राविधिक कर्मचारीले गरेको विश्लेषण्लाई पनि आधार मान्न सकिने व्यवस्था छ । जुुम्लामा एउटा स्याउको बोटमा लागत बाषिर्क चार सय ३२ रुपैयाँ लाग्ने गरेको छ । तर, उत्पादन मूल्य भने प्रतिबोट २ हजार रुपैयाँसम्म हुने गरेको छ ।
कृषि बीमामा पहिले लागत मूल्यको आधारमा बीमा गर्ने चलन भए पनि त्यसलाई उत्पादन मूल्यका आधारमा बीमा गर्ने परिपाटी बसेको छ ।
‘लागत मूल्यको आधारमा गर्दा किसानले उत्पादन मूल्यको क्षतिपूर्ति नपाउने अवस्था भयो । त्यसैले उत्पादन मूल्यको आधार लिनु उचित देखियो,’ बीमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान कार्कीले बताए ।
यस कारण उत्पादन मूल्यको आधारमा बीमा गर्न थालिएको हो । स्याउको बोटको उत्पादन मूल्यका आधारमा किसानले हरेक वर्ष बीमा गर्दा प्रतिबोट ३६ रुपैयाँदेखि एक सय ६० रुपैयाँ तिनुपर्ने हुन्छ । मूल्यको २ देखि ८ प्रतिशत रकम पि्रमियमको रुपमा तय भएको छ ।
जुम्ला लगायतका जिल्लामा हिमपातमा आधारित बीमा पनि कम्पनीले दिइरहेको छ । यसमा पि्रमियम भने उत्पादन मूल्यको एक प्रतिशत तोकिएको छ । यसका लागि भने क्षतिको अनुमान कृषि कार्यालयले दिएको तथ्यांकलाई आधारित मान्ने गरिएको छ ।
यसै वर्षबाट धानमा मौसममा आधारित बीमा
कम्पनीलाई यो बीमा योजना सञ्चालनमा युके ऐडको सक्षम एक्सेस टु फाइनान्सले प्राविधिक सहयोग गरेको थियो । कम्पनीलाई यो बीमा योजना तयार गर्न सक्षमको तर्फबाट युगान्डामा यही बीमामा काम गरेका युगान्डाका जोसेफ काकुवेजाले सहयोग गरे ।
स्याउमा यस बीमाको लोकप्रियता बढ्दै गए पनि उखुमा भने किसान आकषिर्त हुन सकेनन् । कम्पनीले नेपालगन्ज कञ्चनपुरको बेलौरी स्टेशनको तथ्यांकमा आधारित भएर त्यहा यस्तो बीमा योजना सञ्चालनमा ल्याएको थियो । तर, पानीको कारणभन्दा पनि उखुमा शीत लहरको कारणले क्षति हुने भएपछि यो योजनामा आकषिर्त हुन सकेनन् । यस्ता अन्य जोखिम समावेश गर्दा बीमाको प्रिमियम लागत उच्च हुने भएपछि पनि कम्पनी यसमा अग्रसर हुन सकेको छैन ।
तर, धानमा भने वर्षाकाे कमी हुँदा समस्या हुने भएकाले अहिले कम्पनीले कैलाली, कञ्चनपुरमा पनि यो बीमा योजना सञ्चालनमा ल्याउने तयारी गरेको छ ।