Comments Add Comment

साहित्यमा भ्रष्टाचार छ !

'प्रज्ञामा बेथिति छ, मदन पुरस्कार गुठी साहित्यसेवी रहेन,


१ वैशाख, काठमाडौं । राधेश्याम लेकाली साहित्यिक पत्रकार संघका अध्यक्ष हुन् । ०३४ सालमा ‘ढाकर’ साहित्यिक पत्रिका निकालेर साहित्यिक पत्रकारिता सुरु गरेका लेकालीले दर्जनौं पत्रिकामा साहित्यिक रिपोर्टिङ र सम्पादन गरेका छन् भने सर्जक भएर १४ वटा पुस्तक पनि प्रकाशन गरिसकेका छन् ।

लेकाली अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका नेपाल च्याप्टरका अध्यक्ष पनि हुन् । दर्जनाैं पुरस्कार गुठीका अध्यक्ष र सल्लाहकार रहेका उनी नेपाली साहित्यमा भएका विकृति र विसंगतिका जिउँदा साक्षी हुन् ।

लेकालीसँग पत्रकारिताको दृष्टिकोणबाट नेपाली साहित्यभित्रका समस्याका विषयमा अनलाइनखबरले कुरा गर्न खोजेको थियो । कसैलाई पनि प्रत्यक्ष आरोप लगाउन नचाहने तर सबै कुरा वाहिर आओस् भन्ने चाहानाले उनी धेरै ठाउँमा बोल्न अक्मकिए । तैपनि दुई-तीन पटकको बसाइमा उनले केही यस्ता कुरा खोले, जसले नेपाली साहित्यको स्तरलाई देखाएको छ ।

सबैभन्दा पहिले तपाईंकै व्यक्तिगत जीवनबाट कुरा सुरु गरौं । तपाईंको व्यक्तिगत दस्तावेज हेर्दा तपाई मधेसी मूलको देखिनुहुन्छ तर, त्यसलाई लुकाउन आफ्नो नाममा लेकाली लेख्नुहुन्छ । यसो गर्नुको कुनै कारण छ ?

हो, म इलाममा जन्मिएको, पहाडी हावापानीमा हुर्किएको गुप्ता हुँ । मेरा हजुरबुवा ब्यापारको शिलसिलामा इलाम उक्लनुभएको रहेछ । म जन्मँदा त पहाडी नै थिएँ, तर सायद मेरो परिवेश, भाषा फरक थियो त्यसैले त्यो समाजमा घुममिल हुन गार्‍हो भयो । एकप्रकारले विभेदको शिकार भएँ । त्यसमाथि त्यसबेलाको राजनीतिक परिवेशले म विद्रोही पनि बनेँ, कवि पनि भएँ र पत्रकार पनि भएँ ।

कस्ता विभेद ? मधेसी भएकै कारण विभेदमा पर्नुभएको हो भन्ने लाग्छ ?

हेर्दा नदेखिने तर महसुस गरिने खालको विभेद हुन्थ्यो । उदाहरणका लागि मैले स्कुलमा हुँदा ‘चङ्गा’ शीर्षकको कविता लेखेको थिएँ । कक्षाका अरु साथीहरुले पनि त्यस्तै विभिन्न शीर्षकका कविता लेखेका थिए । मेरो कविता निकै राम्रो थियो, तर म पुरस्कृत भइनँ । त्योबेला केही यस्ता शब्दको प्रयोग भएको सुनेँ, जसले म फरक मानिस हुँ । कवितातिर होइन, मैले ब्यापारमा मात्र ध्यान दिनुपर्छ भन्ने कुरा आयो ।

नेपालमा कांग्रेसका लेखकहरुको आफ्नै संस्था छ, एमालेको अर्को र माओवादीको अर्को छ । त्यसबाहेक हरेक दलमा आवद्ध लेखकहरुको आफ्नै संस्थाहरु छन् । एकेडेमीमा तिनै संस्थाको सिफारिसमा लेखकहरुले जागिर खान्छन्

अर्को पटक, म राम्रो टेबलटेनिस खेल्थेँ । प्रतिस्पर्धामा जान ठीक परेको थिएँ । तर, गुरुहरुका अघि खुट्टा देखाएँ भनेर मलाई प्रतियोगिताबाट बञ्जित गरियो ।

तेस्रो पटक, कलेजमा पढ्दा एउटी विद्यार्थीसँग त्यहाँका शिक्षकको लसपस थियो भन्ने खबर फैलियो र युवाहरुले शिक्षकलाई अँध्यारोमा कुटपिट गरेछन् । त्यसमा संलग्न हुने विद्यार्थीहरुलाई कलेजबाट रेस्टिकेट गरियो । म यसमा संलग्न थिइनँ । तर, मलाई दुई वर्ष र संलग्न हुनेलाई एक वर्ष कलेज निकाला गरियो ।

केही महिनामै पहुँच हुनेहरु काठमाडौं आएर आफ्नो सजायँ माफ गराए । काठमाडौंमा मेरो कोही थिएन, त्यसैले दार्जीलिङ बसेर पढ्नुपर्‍यो ।

जब एकै किसिमका राम्रा काम गर्दा कम नम्बर आउँछ र एकै किसिमका अपराधमा बढी सजायँ भोग्नुपर्छ, त्योबेला व्यक्तिले प्रत्यक्ष विभेदको अनुभव गर्छ ।

यस्ता विभेद कस्ता व्यक्तिहरुबाट हुन्थे ?

मैले बरु नपढेका गाउँका समान्यजनबाट सम्मान पाएको छु । मलाई न्यायाधीशजस्तो मानिसले पनि अपमान गरेका छन् । शिक्षकहरुले पनि अपमान गरेका छन् । पढाइ र लेखाइमा राम्रो विद्यार्थीको उदाहरण दिँदा मेरो नाम लिइन्थ्यो । तर, नम्बर त्यस अनुसार आउँदैनथ्यो ।

त्यसो त एकपटक ‘ढाकर’ पत्रिका छाप्न भद्रपुर आएका बेला प्रहरीले पक्रन लाग्दा द्रोणाचार्य क्षेत्री र बसन्त खड्का जस्ता कविले मलाई बचाउनुभएको छ । खासमा जब मैले कविता लेख्न थालेँ, साहित्यिक पत्रिकाको सम्पादन गर्न थालें, त्यसपछि बल्ल कवि समाजमा मैले घुलमिल हुने अवसर पाएँ ।

लेकाली लेख्न थाल्नुको कारण यही विभेदबाट बच्न नै हो त ?

विभेदबाटै बच्नका लागि चाहिँ होइन । यसको छुट्टै कथा छ ।

ठूलो हुँदै गएपछि र कवि र बहुदलको पक्षमा लागेपछि मलाई सहयोग गर्ने साथीहरु धेरै पाएँ । ती आधुनिक युवाहरु थिए र विभेदविरुद्ध लड्थे । जब २१ वर्षको छँदा इलामको चोकमा स्वतन्त्रताका पक्षमा मेरो नेतृत्वमा सडक कविता क्रान्तिका नाममा कविता वाचन भयो, त्यसपछि भने यस्ता युवाले साथ दिन थाले ।

पछि म पढ्न बिरानगर आएँ । त्योबेला म पहाडबाट झरेका कारण मेरो हाउभाउ सायद बढी नै पहाडिया टाइपको थियो । यही कारण साथीहरुले पहाडबाट झरेका कारण राधेश्याम भन्नुभन्दा लेकाली भन्न थाले ।

त्योबेला हामीले बिराटनगरमा शनिवार साहित्यिक समूह खोलेका थियौं । त्यसमा कृष्णभूषण बल, प्रमोद प्रधान, शैलेन्द्र शाकार, महेश प्रसाईं, केदार कोइराला, किशोर विश्वकर्मा, शैलेश आचार्य जस्ता लेखक-कविको संलग्नता थियो । मेरो नाम तिनै साथीहरुले दिएका हुन् ।

मैले सुनेअनुसार क्याम्पसमा वर्तमान राष्ट्रपति विद्या भण्डारी, चर्चित नेता विजय गच्छदार, रघुबीर महासेठ, मृदुला कोइराला जस्ता त्यो बेलाका चर्चित विद्यार्थी नेताहरु तपाईंसँगै पढ्नुहुन्थ्यो । ठूला राजनीतिक काण्ड पनि भएका थिए । तर, तपाईं कुनै राजनीतिक दलमा लागेको देखिएन, किन होला ?


म पहाडबाट झरेको, आर्थिकरुपमा कमजोर विद्यार्थी थिएँ । त्यही कारण सिँचाइ विभागको स्टोर किपरको जागिर खान्थेँ । राजनीतिमा खुलेर लाग्दा जागिर जान्थ्यो । मजस्ता बाहिर देखिन नमिल्ने साथीहरु बहुदलका पक्षका साथीहरुलाई कराँतेको प्रशिक्षण दिन्थ्यौं ।

मेरो क्वार्टरमा हङकङबाट बि्रटिस लाहुरे कराँते सिकेर आउनुभएको थियो । त्योबेला नेपालमा कराँतेजस्ता खेल प्रतिबन्धित थिए । बिराटनगर नजिकको भारतीय सीमानामा कराँतेको प्रतिस्धर्पा हुन्थ्यो ।

सरुवा भएर काठमाडौं आएपछि मैले राधेश्याम गुप्ताका नाममा सिँचाई विभागमा काम गरेँ । तर, राधेश्याम गुप्ताका नाममा पत्रकारिता गरेँ ।

यो क्रम बहुदलसम्म कामय थियो । बहुदल आएपछि भने जागिर छाडेर पूर्णरुपमा साहित्यकारिता गर्न थालेको हुँ ।

अब प्रष्ट रुपमा भनिदिनुहोस्, राजनीतिकरुपमा हामीले धेरै प्रगति गर्‍यौं, नेपाली साहित्यले भने सोचेजस्तो फड्को मार्न नसकेको हो ?

०४६ सालदेखि ०६४ सालसम्म मैले साहित्यमा गरेको काम भन्नै पाएको छैन । त्यो तपाईंका लागि मात्र होइन, पत्रकारितामा रुचि हुनेहरुका लागि साँच्चै नै अनौठो छ ।

ठीकै छ, तर अहिले हाम्रो चासो नेपाली साहित्यमा आउन नसकेको परिवर्तनका विषयमा छ । ०४६ सालअघि साहित्यमा याद गर्नुपर्ने काम भएका थिए । त्यसपछि प्रगति ठप्प भयो, किन होला ?

त्योबेला कवि-लेखक-पत्रकारको एउटै मिसन थियो, कसरी देशमा प्रजातन्त्र ल्याउने । सबै कुरा प्रतिबन्धित थिए । लेखक-कविहरुले बोलेको कुराले ठूलो महत्व राख्दथ्यो । जब प्रजातन्त्र आयो, लेखक कविले आफ्नो धर्म छाडे र पार्टीका पछि लागे । नेताका पछि लागेर आफ्नो भविष्य सुरक्षित पार्नतिर उद्दत भए । उनीहरु स्पष्ट रुपमा प्रगतिशील लेखक संघ र नेपाल लेखक संघमा विभक्त भए ।

विकृतिको पहिलो सुरुवात कहाँबाट भयो भने प्रजातन्त्र प्राप्तिपछि उनीहरु अब साहित्यको श्रीवृद्धितिर लाग्नुपर्दथ्यो, तर व्यक्तिगत श्रीवृद्धितिर लागे ।

तपाईं चाहिँ साहित्यिक पत्रकार संघतिर लाग्नुभयो । र, अहिलेसम्म साहित्यको सेवा गरिरहनुभएको छ । तपाईंले चाहेको भए सरकारी सेवातिर जानुहुन्थ्यो, किन लाग्नुभएन ?

सायद म कवि थिएँ र कार्यकर्ता हुन सकिनँ । कवि केदारमान व्यथित भन्नुहुन्थ्यो, राजनीति शौचालय हो र साहित्य खिर । मलाई शौचालयमा बस्नुभन्दा मन्दिरमा बसेर खिर खान मन लाग्यो ।

यो मन्दिरमा बसेर तपाईंले गरेको महत्वपूर्ण काम के हो ?

साहित्यिक पत्रकार संघले पञ्चायतको कालरात्रीमा वीपी कोइरालालाई सम्मान गरेको थियो । त्यसैले यो संस्थाको गरिमा थियो । मैले यसैलाई अघि बढाउने निधो गरेँ । ०४५ सालपछि यो संस्थाले नियमित गाईजात्रा कार्यक्रम गर्‍यो । श्रमजीवी साहित्यिक पत्रकारलाई पुरस्कृत गर्ने, श्रष्टाहरुका नाममा पुरस्कार स्थापना गर्ने, कथा दिवस, कविता दिवस मनाउने, साहित्यिक पत्रकारितासम्बन्धी तालिम र गोष्ठीहरु गर्ने, साहित्यिक वनभोज गर्ने, विभिन्न किसिमका बुलेटिन निकाल्ने र साहित्यिक पत्रकारलाई रोजगारको सिर्जना गर्ने काम गर्‍यो । यसले लेखकका कृति प्रकाशन गर्ने, पुराना श्रष्टाहरुलाई सम्झने जस्ता विभिन्न काम गर्‍यो, गरिरहेको छ ।

साहित्यिक पत्रकारका नाताले तपाईंले नेपाली साहित्यमा देखेका मुख्य समस्या के के हुन् ?

नेपाली लेखक व्यवसायिक हुन सकेका छैनन् । लेख्नेवित्तिकै छाप्न हतार गर्छन् । बजार व्यवस्थित छैन । त्यसैले आज पनि लेखेर बाँच्न सक्ने अवस्था सिर्जना भएको छैन । यही कारण प्रतिभाशाली लेखक-कवि पनि कविता लेख्न छाडेर अरु काम गर्न बाध्य छन् ।

साहित्य-कलाका लागि स्थापित प्रज्ञा प्रतिष्ठानहरु के गरिरहेका छन् ?

नेपालमा कांग्रेसका लेखकहरुको आफ्नै संस्था छ, एमालेको अर्को र माओवादीको अर्को छ । त्यसबाहेक हरेक दलमा आवद्ध लेखकहरुको आफ्नै संस्थाहरु छन् । एकेडेमीमा तिनै संस्थाको सिफारिसमा लेखकहरुले जागिर खान्छन् ।
खासमा राजनीतिक दलले नै आफ्ना पक्षमा लेखिरहेका मान्छेहरुलाई जागिर खाने ठाउँ बनाएकाले प्रज्ञा प्रतिष्ठानमा लेखकहरुले पदको दुरुपयोग गरिरहेका छन् । यस्ता प्राज्ञहरु आफ्ना मान्छेेलाई विभिन्न प्रपोजल लेखाएर पैसा लिन्छन् ।

अनुसन्धानका लागि भनेर भद्रपुर जान्छन् र एकेडेमीको पैसाले आसाम घुमेर आउँछन् । खासमा सरकारले प्रज्ञा प्रतिष्ठान साहित्य कलाको उत्थान गर्न खोलेको संस्था हो । तर, त्यो कमाउने संस्था भएको छ ।

धेरै निजी संस्थाहरुले साहित्यकारलाई प्रोत्साहन होस् भनेर पुरस्कार स्थापना गरेका छन् । त्यसले साहित्यको विकास भएको छ भन्ने लाग्छ ?

तपाईंलाई गोप्य कुरा बताइदिन्छु ।

काठमाडौंभित्र मात्रै करिब दुईसय साहित्यिक संस्थाहरु छन् । देशभरि एक हजारजति होलान् । यीमध्ये अधिकांश साहित्यिक संस्थाहरु ऐंचोपैंचो सिस्टममा चल्छन् ।

उदाहरणका लागि, योपटक मैले मेरो संस्थाबाट तपाईंलाई पुरस्कार दिन्छु । अर्कोपटक तपाईंले तपाईंको संस्थाबाट मलाई पुरस्कार दिनुहुन्छ । पोखराको संस्थाले काठमाडौंको संस्थाका मानिसलाई भ्रमणमा बोलाउँछन् । अनि काठमाडौंको अमूक संस्थाले पोखराको त्यही संस्थाका सदस्यलाई भ्रमणमा बोलाउँछन्, पुरस्कृत गर्छन् । तपाईंले समाचारहरुमा विभिन्न कार्यक्रम गरिरहेका एकैखालका कवि लेखकलाई देख्नुहुन्छ । किन होला ? किनभने यी ‘बार्टर सिस्टम’मा चल्छन् । उनीहरुको समाचार हामी बनाउँछौं ।

जसले यो कुरा बुझेको छ, ती कवि-लेखकहरु कुनै एउटा संस्थाको छाहारीमा पस्छन् र त्यही क्रिया दोहोर्‍याउँछन् । यस्तोमा कसरी साहित्यको विकास हुन्छ ?

तर, मदन पुरस्कार गुठी जस्ता संस्थाहरुका कारण पुस्तक लेखकहरुमा आएको परिवर्तनलाई के भन्नुहुन्छ ?

मदन पुरस्कार गुठी जस्ता संस्थाले थोरै भए पनि नयाँ लेखक र कृतिहरुलाई अघि बढ्न प्रोत्साहन गरिरहेको छ । तर, मदन पुरस्कारलाई म शुद्ध साहित्यसेवी मान्दिनँ । किनभने यो गुठीले साहित्य बाहेक कृषि, वन्यजन्तु र विज्ञान विषयका पुस्तकलाई पनि पुरस्कृत गर्न थाल्यो । यसले साहित्यको भाग खोसिएको अनुभव भएको छ ।

यसबाहेक यसका कतिपय निर्णय पनि विवादरहित बन्न सकेनन् । बरु, मानिसले याद नगरेको तर राम्रो काम गरिरहेको खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले दिने पद्मश्री पुरस्कार योभन्दा माथि उठेजस्तो लाग्छ । कम्तिमा यो संस्थाले गैरसाहित्यिक व्यक्तिलाई पुरस्कार दिएको छैन ।

नेपालमा अरु धेरै साहित्यिक संस्था छन्, त्यसबारे खासै प्रशंसा भएको सुनिँदैन । यसको कारण के होला ?

केही साहित्यिक संस्थाहरुले संस्कृति मन्त्रालयबाट विभिन्न शीर्षकमा पैसा लिन्छन् र सरकारी कर्मचारीसँगको मिलोमतोमा त्यो पैसा हजम गर्छन् । ०६४ सालसम्म मैले कुन संस्थाले साहित्य उत्थानका नाममा कसरी सरकारी पैसाको दुरुपयोग गरेका छन् भनेर बर्षेनी रिपोर्ट प्रकाशित गर्थें । अहिले त्यसरी समाचार प्रकाशन गर्ने साहित्यिक पत्रकार छैनन् ।

सञ्चारमाध्यमहरुले साहित्यिक पत्रकारको काम पुस्तकको समाचार छाप्ने भन्ने ठानेका छन् । पत्रकारहरु पनि कृतिको चर्चामै रमाइरहेका देखिन्छन् ।

केही व्यक्तिहरु समाजमा राम्रो काम गरौं भनेर साहित्यिक संस्था खोल्छन् र साहित्यिक व्यक्तिहरुलाई जिम्मा दिन्छन् । उनीहरुले ती व्यक्तिका पैसा र योजनाको दुरुपयोग गरिदिन्छन् । नेपालका ठूला कविहरुका सन्तानले पनि आफ्ना बुवाको सम्झनामा पुरस्कार सञ्चालन गर्छन् । तर, उनीहरु पनि वरपरका मानिसको प्रभावमा परेर पुरस्कार प्रदान गर्छन् । यसरी साहित्यिक संस्था र पुरस्कारहरुले साहित्यको वास्तविक सेवा गर्न सकेको छैन ।

यसको अर्थ, कुनै पनि संस्थाले साहित्यको सेवा गरेका छैनन् भन्ने तपाईंको निष्कर्ष हो ?

त्यसो होइन । केहीले राम्रो गरेका छन् । त्यसको प्रशंसा भएको पनि छ । उदाहरणका लागि कुञ्जनले महिला साहित्यकारहरुलाई प्रोत्साहन र पुरस्कार गरिरहेको छ । त्यसमा खासै विवाद छैन । लघुकथा समाजले राम्रो काम गरिरहेको छ । त्यसमा पनि प्रश्न उठेको छैन । मुख्य कुरा नियत के हो, त्यो ठूलो कुरा हो । नियत सफा भएका संस्थाका समान्य गल्तीहरुलाई मानिसले माफ गर्छन् । गलत उद्देश्य राखेर गरिएको गलत काम ढीलो-चाँडो बाहिर आउँछ ।

तपाईंले प्रज्ञा प्रतिष्ठानको पनि आलोचना गर्नुभयो । सरकारले करोडौं खर्च गरिरहेको यो संस्थाले नेपाली साहित्यको भलो हुने कुनै पनि दीर्घकालीन काम गरेको छैन भन्ने तपाईंको दाबी हो ?

सतप्रतिशत गलत छैन । कुरा के मात्रै हो भने, साहित्यजस्तो पवित्र क्षेत्रमा लागेका मानिसले राजनीतिमा लागेजस्तो भष्ट्राचार गर्नुहुन्न भन्ने मात्रै हो ।

साहित्य कलामा लागेमा मानिसलाई समाजले-पाठकले आदर्श मान्छन् । यस्तो मानिसलाई गलत कुरा गरेको सुहाउँदैन ।

उसो त एकेडेमीले लेखकको परिचयपत्र बनाउन सुरु गरेको छ । लेखकको पहिचान गर्ने, उनीहरुलाई सेवा सुविधा दिने कुरा राम्रो हो । यस्तो कामले साहित्यसेवीलाई दीर्घकालीनरुपमा फाइदा हुन्छ ।

प्रज्ञा प्रतिष्ठानले कुन आधारमा लेखक भनेर छुट्याउने ? गैरपत्रकारले पत्रकारको सुविधा लिएजस्तै गैरलेखकहरुले पनि दुरुपयोग गर्दैनन् भन्ने के ग्यारेन्टी ?

साहित्यिक पत्रकार संघले दुईखाले कार्डको सिफारिस गरेको छ । पहिलो कार्ड ५ वर्षका लागि दिइन्छ । यस्तो कार्ड पाउने लेखक कम्तिमा ४० वर्ष पुगेको हुनुपर्छ । त्यति मात्र होइन, उसले २५ वर्षदेखि लगातार लेखिरहेको हुनुपर्छ । अर्थात यो कार्ड लिन निरन्तर लेखिरहेको, ४० वर्ष पुगेको र कृतिहरु प्रकाशन गरेको हुनुपर्छ ।

दोस्रोखालको कार्ड ६० वर्ष पुगेको लेखकलाई दिइन्छ । यो विशिष्ट लेखकलाई दिइन्छ । यस्तो परिचयपत्रधारीलाई सरकारले विशेष सुविधा दिनुपर्छ भन्ने हाम्रो माग हो ।

विशेष सुविधा भन्नाले ?

लेखक भत्ता हुन सक्छ । सरकारी अस्पतालमा निशुल्क उपचार हुन सक्छ । सरकारले दिने विभिन्न किसिमका पुरस्कार र सम्मान हुन सक्छन् । कम्तिमा देशको लेखकले छाति फुकाएर म यो देशको सरकारी परिचयपत्र भएको लेखक हुँ भनेर गौरव गर्न सकोस् । उनीहरुलाई आवास, स्वास्थ जस्ता सुविधा दिनुपर्छ भन्ने हाम्रो माग हो ।

यसो भयो भने हाम्रा लागि पनि सरकार छ भन्ने भावना लेखकहरुमा बढ्छ । र, उनीहरु पनि राष्ट्रियताको भाव बढेर जान्छ । लेखकले देशका बारेमा चिन्ता गर्नका लागि देशले पनि लेखकका बारेमा चिन्ता गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment