त्यस रात शारदा खाना नखाई सुती । बुबा चन्द्रप्रसाद र आमा रमाले पटक–पटक अनुरोध गर्दा पनि ऊ खान आईन ।
शारदा रातको एक बजे डरलाग्दो सपना देखेर ब्युँझीई । आँखा खुल्दा उसको सर्वाङ्ग पसिनाले भिजेको थियो । उसले बिजुलीको स्विच अन गरी अनि भित्तामा झुण्ड्याएको रुमाल निकालेर पसिना पुछी । उसको आँत जलिरहेको थियो । उसले धारामा गएर धित मरुन्जेल पानी पिएर आई । एकाएक उसको भावना छचल्केर आयो ।
घनघोर अँधेरो मध्यरात । रातको निस्तब्धतामा आफूले भर्खरै देखेको सपना संझिँदै शारदा कवितात्मक शैलीमा कहानी लेख्न थाली । उसले लेखी–
‘गाउँको सामाजिक बनोट गजवको थियो ।
एक तिहाई मुस्लिम, दुई तिहाई हिन्दू । देखिन्थेन दुईबीच कहिल्यै कुनै मिलन बिन्दू ! हिन्दूले सके मुसमानलाई खेद्ने ! मुसलमानको बल पुगे हिन्दूको गला रेट्ने !
गाउँमा एक दिन चमत्कारी बाबा आए । ठूलाभन्दा ठूला समस्या एकताले सुल्झाएको कहानी सुनाए–
“एकै आमाका सन्तान हामी, को आफ्नो को पराई । ठोक टाउको लगाउ मित, बन सबैको हाईहाई !”
जव बोले बाबाजी, मुस्कुरायो स्वर्गको माली ! धारेहात बन्दभयो, गुञ्जियो सर्वत्र तालि नै ताली !
बिस्तारैबिस्तारै,
बाबाजीका सन्देशले ल्यायो ठूलो तरङ्ग । चमत्कार भएकोमा थिए सबै दङ्ग ! मुसलमान र हिन्दूबीच चुल्हो पानी चल्नेभयो ! लमीले जुरायो लगन, बिबाह पनि हुनेभयो !
एक दिन,
दुलही बनी सलमा, कृष्ण बन्यो दुलहा । झ्याइँझ्याइँ बाजा बज्यो, छायो सर्बत्र उत्साह । सबै नाँचे, सबै हाँसे, सारा संसार खुशीभयोे । सलमाको सिउँदो भर्न, दुलहा कृष्ण अघि बढ्यो ।
यसैबीच
आयो टुप्लुक्क पापिष्ट सैतान ? बोकी हातमा झीर । दुलहा ढल्यो रक्ताम्य भइ ! छाति आरपार भो तीर !
‘म मरेँ सलमा !’ कृष्ण चिच्यायो । ‘सपना रह्यो अधुरो !’ मिलापको बल्दो दीपक, एकाएक भो मधुरो !
सलमाको बिलौना !
‘मारिउन् मेरा कृष्ण, मितेरी रोकिँदैन । आँखामा कृष्ण नै कृष्ण ! अरु क्यै देखिँदैन । फुट्योे मुटु, साह्रै दुख्यो ! लौन यो मेरो छाति ! म ढलेँ, म मरेँ कृष्ण ! तिमी नै मेरा साथी ! रगत सबैको रातो भए, भुल ईस्लाम, भुल हिन्दू । धर्म, जाति, वर्ण बिनाको खोजौ एक मिलन विन्दू ! सुन्छु नयाँ संसार छ, आकाशभन्दा धेरैमाथि । पाएनौँै यहाँ जुट्न, बनौँला त्यहीँ साथी !
बोल्दाबोल्दै सलमा बेहास भइ भुइँमा ढली । कृष्णको साथसाथ ऊ पनि यो संसारबाट बिदा भई !
कहानी लेखिसक्दा शारदाका आँखा रसाएर आए ।