Comments Add Comment

सहवासका बेला चलचित्रका नायक-नायिका सम्झनुहुन्छ ?

यो खतराको संकेत पनि हुन सक्छः करुणा कुँवर


करुणा दिदी नमस्कार ।

मेरो मागी विवाह भएको तीन वर्ष भयो । विवाहअघि म कुनै युवतीसँग लिभिङ टुगेदरमा थिएँ । उनीसँग मेरो झण्डै छ वर्ष लामो सम्बन्ध रह्यो । विवाह गर्ने इच्छा थियो तर केही अप्ठयारो परिस्थितिले हामी अलग हुनुपर्‍यो ।

अरुसँगै विवाह गरे पनि अहिले मेरो जीवन राम्रो चलेको छ । श्रीमतीसँग पनि कुनै गुनासो छैन । एउटा समस्या भने खडि्कइरहन्छ, त्यो के भने हामीबीच यौन सम्बन्ध भइरहेको बेला मलाई मेरी पूर्वप्रेमिकाको सम्झना आउँछ ।

खासमा जबसम्म मेरी प्रेमिकासँगको सम्बन्ध याद आउँदैन, मलाई श्रीमतीसँग सम्बन्ध गाँस्न मन लाग्दैन । उनीसँगको सम्बन्ध सम्झेपछि भने मेरो यौनसम्बन्ध राम्रो हुन्छ । सम्बन्ध निभाउन्जेल त ठिकै हुन्छ, तर सम्बन्धपछि भने दुःख लाग्छ । मैले मेरी श्रीमतीलाई धोका दिइरहेको त छैन भन्ने मनमा आउँछ । कहिलेकाहीँ सम्बन्धकै बेला यो कुरा मनमा आयो भने यौनमा आनन्दको अनुभुति हुँदैन । श्रीमती बेलाबेलामा आउने मेरो फरक व्यवहारबाट परिचित छिन् । तर, यसलाई उनी यौन समस्या मान्छिन् । मैले उनीसँग यो कुरा गर्न सकेको छैन । यो कुरा उनलाई थाहा छैन, तर थाहा होला कि भन्ने डर पनि लाग्ने गर्छ । यो कस्तो समस्या हो ? यसलाई कसरी निदान गर्न सकिन्छ बुझ्न पाए राम्रो हुन्थ्यो ।

करुणाको जवाफ:
श्रीमान-श्रीमतीबीचमा केही कुरा यस्ता पनि हुन्छन्, जसलाई लुकाएकै राम्रो हुन्छ । यो सम्बन्ध धेरै नै गम्भीर कुरा हो, तर केही कुरालाई लुकाउँदा सम्बन्ध अझ राम्रो हुन्छ भने त्यस्ता कुरा भन्न हतार गर्नु हुँदैन ।

तीन वर्षदेखि तपाईंमा जुन किसिमको समस्या छ, त्यो विस्तारै कम हुँदै जाने कुरा हो । किनभने जतिसुकै गहिरो कुरा किन नहोस्, मनले त्यसलाई साधारण बनाउँदै जान्छ । तपाईंको कुरा अनुसार पनि तपाईं पूर्व प्रेमिकालाई विवाह गर्न चाहनुहुन्थ्यो । तपाईंहरुबीच गम्भीर प्रेम थियो । तर, परिस्थितिले विवाह हुन सकेन । यसको अर्थ विवाहको सुरुतिर तपाईंले उनको याद धेरै पटक आउँथ्यो । अहिले त्यो घटेर गएको छ र यौन सम्बन्धका बेला मात्र त्यो याद बल्झन्छ । यसको अर्थ हो, यो घट्दै गइरहेको छ ।

यौन सम्बन्धका बेला प्रेमिकाको कल्पनाले यौनमा सहयोग गर्छ भने त्यसलाई नराम्रो भनिहाल्नुहुँदैन । यस्तो कुरा श्रीमतीलाई नभन्नु नै जाति हुन्छ । यो कुरा बताउनुभयो भने सम्बन्ध बिग्रन सक्छ । अझ तीन वर्षसम्म आफ्नो श्रीमानले अरुलाई नै मनमा राखेर आफूसँग सम्बन्ध राखिरहेको थाहा पाउँदा नमीठो लाग्नु स्वभाविक हो । त्यसैले यो कुरालाई तपाईंलाई भन्नुहुँदैन ।

तपाईंलाई धेरै नै अपराधबोध भएर ती कुरा बताउनुभयो भने श्रीमतीले चित्त नदुखाउन पनि सक्छिन् । तर, यो सम्भावना धेरै कम छ । कुनै पनि महिला आफूसँग सम्बन्ध राख्दा अरु कसैलाई सम्झन्छ भन्ने कुरा सहन गर्न सक्दैनन् । तपाईले कल्पना गर्नुभएको कुरा तपाईको श्रीमतीले थाहा पाउनुभयो तपाईहरुवीचको सम्बन्ध बिग्रन सक्छ । यसले तपाईको दैनिक जीवन, कामकाज वा सिर्जनशीलतामा हानी नोक्सानी पुर्‍याउन थाल्छ । यस्तो कल्पनाले मनोभावनामा असर पर्न थाल्छ । दैनिक उठबस, हिँडडुल, शारिरीक अभ्यास आदि गतिबिधिहरुमा असन्तुलन उत्पन्न हुन सक्छ ।

यौन सम्बन्ध राख्दा अरु कसैको कल्पना गर्ने विज्ञानलाई फ्यान्टासाइज भनिन्छ । यो महिलाहरुमा भन्दा पुरुषहरुमा बढी हुन्छ । मनोविज्ञानमा फ्यान्टासाइज गर्नु सामान्य नै मानिन्छ ।

धेरै मानिसको जीवनमा अरु नै महिलाले प्रभावित पारेका हुन सक्छन् । ती महिलासँग यौन सम्बन्ध राख्ने सकिने अवस्था हुँदैन । त्यस्तो अवस्थामा फ्यान्टासाइज हुन्छ । कहिलेकाँहि कस्तो कुराले समस्या बनाउँछ । मानौं कुनै पुरुषले आफ्नी श्रीमतीसँग यौनसम्बन्ध राखिरहेका बेला कुनै चलचित्रकी नायिकाको नाम लियो भने भने अथवा यौनसम्बन्ध पछि आफ्नो श्रीमतीलाई मैले यस्तो कल्पना गरेँ भन्यो भने त्यो मुर्खतापूर्ण हुनपुग्छ । यसलाई स्वथ्य सम्बन्ध मानिँदैन । यस्तो फ्यान्टासाइज पुरुषहरुमा बढी हुन्छ, तर महिलामा नहुने भन्ने हुँदैन ।

कुनबेला समस्या हुन्छ ?

फ्यान्टासाइज हुनु सामान्य हो भनेर माथि भनियो । तर, कहिलेकाहीँ यो समस्या पनि हुन्छ । यो कुन बेला समस्या हुन्छ भन्ने कुरा भने सबैले बुझ्न जरुरी छ । जस्तो-तपाईंकै उदाहरण लिऔं, तपाईंले श्रीमतीसँग सम्बन्ध स्थापित गर्दा पूर्व प्रेमिकालाई सम्झने कुरा गर्नुभयो ।

तर, सधैंभरि उनलाई सम्झनुहुन्छ वा उनलाई नसम्झी श्रीमतीसँग सम्बन्ध नै राख्न सक्नुहुन्न भने यो समस्या हो । यसले खतरा निम्त्याउन सक्छ । यस्तो भयो भने तपाईंले एकपटक मनोविदकोे सल्लाह लिन जरुरी हुन्छ । यो सबैका हकमा लागू हुन्छ ।

दुई महिनामा एकपटक वा वर्षमा दुई/तीनचोटि फ्यान्टासी हुन्छ भने त्यसलाई सामान्य मान्नुपर्छ । तर, दैनिक अथवा जुन बेला सम्बन्ध राख्नुहुन्छ, त्यो बेला फ्यान्टासाइज हुन्छ भने त्यसलाई राम्रो मानिँदैन । आक्कलझुक्कल यस्तो हुनु सामान्य भए पनि हरेक पटक वा दैनिक आफ्नो पार्टनरसँगको यौन सम्वन्धमा कोही मान्छेको फ्यान्टाइसज नगरेसम्म उसलाई यौन आनन्द आउँदैन भने यसबारे कुनै मनोविदसँग सल्लाह लिनुपर्छ ।

सबैको दिमागमा आफ्नो डि्रम गर्ल वा डि्रम ब्वाईको कुँदिएको हुन्छ । सबैको फ्यान्टासी एउटै हुन्छ भन्ने हुँदैन । फ्यान्टासी कहिलेकाही त्यस्ता ब्यक्तिहरुमा पनि हुन सक्छ, जसलाई आफूले समाजमा देखेकै हुँदैन । कतिपयलाई चलचित्रमा वा कतिपयलाई पुस्तकमा देखेको पढेको हुन्छ । तिनलाई पाउने सम्भावना त छैन्, तर कतिपय अवस्थामा सुन्दरताले भरिपूर्ण मान्छे दिमागमा चित्रका रुपमा बस्छ । पार्टनर त्यही चित्रअनुसारकै हाइट, बेट, कलर, स्ट्रक्चर मिलेको भयो भने त्यसले यौनजीवन आनन्दायक बनाउँछ ।

पुरुष र महिला जो एकअर्काका यौन पार्टनर हुन्, उनीहरुको दिमागको चित्र वास्तविक जीवनमा पनि समान भएमा यौन सम्बन्ध एकदमै मधुर भएर जान्छ । त्यसका लागि खुल्ला भइरहनु नै पर्दैन, यस्तोमा उनीहरु आफै खुलेर आउँछन् । तर, जतिसुकै सुन्दरता भएता पनि पार्टनर दिमागमा रहेको तस्वीरभन्दा फरक भएमा सामाजिक रुपमा एकअर्कामा जतिसुकै खुले पनि यौन सम्पर्क त्यति धेरै आनन्ददायी नहुन सक्छ ।

आफ्नी श्रीमतीसँग सम्बन्ध राम्रो छँदाछँदै यी सोचाइहरु मनमा राखी सम्वन्ध अगाडि बढाउन खोज्ने हो भने सम्वन्धमा समस्या पैदा चाहिँ अवश्य हुन्छ । यौनईच्छा, यौन कृयाकलापका बारेमा खुलेर एक अर्कासँग कुरा गर्नुपर्छ । यीबाहेक हरेक यौन सम्पर्क हुनुभन्दा अगाडि एक अर्काको शरीर र भावनालाई महसुस गर्ने गर्नुपर्दछ । माथि उल्लेखित सम्पूर्ण कुराहरु अपनाए पछि पनि यी कुराले फाइदा गरेन भने थप विश्लेषण गर्नु आवश्यकता हुन्छ ।

तपाईको प्रश्नमा तपाई र श्रीमतीबीच अहिले कुनै अप्ठ्यारो नभएको बुझिन्छ । तपाईले यो समस्या आफूमा भएको स्वीकार्नु भएको छ भने यसबारेमा पनि श्रीमतीसँग कुरा गर्न जरुरी छ । एकअर्कासँग कुराकानी, आफ्ना चाहनाहरु अभिब्यक्त गर्ने तौरतरिका, आफूलाई लागेको रमाइलो पक्ष आदिका बारेमा खुला दिलले कुरा गरेमा यो समस्या त्यति बढेर जाँदैन । तपाईलाई पहिलाको सम्बन्धका कारण अहिलेको सम्बन्ध बिग्रेकोजस्तो लाग्छ भने यसलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ । र मनमा ग्लानी भैरहन्छ भने उपचार गर्नु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment