Comments Add Comment

लाङटाङ ट्रेकको पहिलोे दिनः आकाशमा तारासमेत दंग


सर एडमन्ड हिलारीको देश न्युजिल्यान्डबाट आएका ल्यारी र डेभिडलाई लिएर म लाङटाङ जाँदै थिएँ । राम्चे पुग्दा एकैछिन हामीले ‘ब्रेक’ लियौं ।

जीपको पाङग्राको नट लुज भएको थियो । त्यसलाई कस्न ड्राइभरले जीप रोकेको थियो । जीपको साइडमा हामीले स्थानीय महिलाको एक हुल देख्यौं । उनीहरु बालुवा भरिएको टोकरी बोकेर उक्लिरहेका थिए । अलि माथि सम्भवत ‘पुनर्निमाण’को काम चलिरहेको थियो ।

हामीलाई देखेपछि अझ खासमा मसँग गएका ल्यारी र डेभिडलाई देखेपछि उनीहरु एक छिन अडिएर हामीतिर हेर्न थाले । उनीहरुको मुस्कान हाम्रा लागि लाङटाङ यात्राको लागि पहिलो हार्दिक स्वागत थियो ।

‘म उनीहरुको फोटो खिच्न सक्छु ?’, ल्यारीलेमसँग अनुमति माग्यो ।

‘तपाईंहरुको फोटो खिच्ने रे’, मैले ती तामाङ्नी दिदीहरुलाई भनें ।

’हामी राम्रो छैनौं’, किन फोटो खिच्नु ? उनीहरुले हाँस्दै भने ।

‘दे फिल द्याट, दे आर नट् व्युटिफुल । सोे दे आर नट गिभिङ परमिसन टु यु टु टेक पिक्चर्स् अफ देम’, मैले भनें ।

‘नो, दे आर व्युटिफुल’, ल्यारीले भन्यो ।

‘तपाईहरु राम्रो हुनुहुन्छ’, मैले अनुवाद गरिदिएँ ।

‘हामी तपाईका विदेशीहरुजस्ता सेता छैनौं’, उनीहरुले भने ।

‘कलर डजन्ट म्याटर्स । इट इज अन्ली द कलर एन्ड कलर इज नट व्युटी इट्सेल्फ इफ दियर इज नट् लाइफ एन्ड सोल’, ल्यारीले भन्यो ।

मैले फेरि सजिलो गरी अनुवाद गरिदिएँ, ‘कालो वा सेतो भएर राम्रो वा नराम्रो हुने होइन । व्यवहार र सोच ठुलो कुरा हो ।’

‘हो त नि । काटे जसको पनि रातै रगत आउँछ’, उनीहरुमध्ये कोही एकजनाले भन्यो ।

त्यसपछि उनीहरुले फोटो खिच्न अनुमति दिएको अनुमान गर्दै मैले ल्यारीलाई भनें, ‘अब तिमी मजाले फोटो खिच्न सक्छौ । सुरुमै पनि उनीहरुले तिमीलाई फोटो खिच्न अनुमति नदिएकै चाहिँ थिएनन् । मात्र फोटोसँग जोडिएर उनीहरुले एउटा भावना पोखेका थिए ।’

ल्यारी त्यसपछि पनि फोटो खिचिरहेको थिएन । तर, उनीहरु आफ्नै पाराले पोज दिन थालिसकेका थिए ।

उसले त्यसपछि भटाभट फोटो खिच्न थाल्यो । मैले पनि फोटो खिचिरहेको ल्यारी र फोटो खिचाइरहेका ती दिदीहरु दुवै अटाउने गरी केही फोटो खिचें ।

दिदीहरुका मुस्कान अनेक भावसहितका ठुल्ठुला हाँसोमा बदलिसकेका थिए । स्माइल टन्र्ड् इन्टु लाफ विथ भेरियस मिनिङ ।

उनीहरुलाई मुस्कानसहितको बाइ गर्दै हामी जीपभित्र छिर्यौं । रसुवा सदरमुकाम धुन्चे नपुग्दै फोटो प्रसंगमा फर्कदै ल्यारीले भन्यो, ‘उनीहरु किन आफुलाई नराम्रो ठान्छन् ? दे आर नट् अग्ली । दे आर व्युटिफुल एन्ड दे आर व्युटिफुल फ्रम इन्साइड टु ।’

मैले भनें, ‘उनीहरु आफुलाई नराम्रो ठान्दैनन् । यत्ति हो, उनीहरु आफुलाई राम्रो भन्दैनन् । र, तिमीहरुलाई राम्रो भनिदिन्छन् ।’

‘यदि उनीहरु आफुलाई नराम्रै भन्ठान्थे भने किन जसको पनि रगत त रातै हुन्छ भन्थे त ?’, मैले ल्यारीलाई प्रश्न गरें ।

ल्यारी र मेरो कुरा सुनिरहेका डेभिडको आँखामा मैले आँशु देखें । केही नबोली मनमनै निकै भावुक भइसकेको रहेछ ऊ ।

यस्तै भावुकता, संवेदनशीलता र लाङटाङप्रतिको स्नेहसहित म लाङटाङ जाँदै थिएँ, तेस्रो पटक ।

धुन्चे बजारको मुखैमा लाङटाङ राष्ट्रिय निकुञ्जको सैनिक चेकपोस्ट पुग्दा परमिट दस्तुर बुझाउन हामीले जीपलाई चेकपोस्ट गेटैमा साइड लगायौं । मैले परमीट लिएँ, ल्यारी र डेभिडका नाममा । टिम्स त काठमान्डुमै लिइसकेको थिएँ । टिम्समा परमिट थपेर जब हामी जीप चढ्दै थियौं, सिभिल डे«समा एउटा सैनिक जवान मछेऊ आयो र स्याफ्रुबेसीसम्म लिफ्ट माग्यो । उसको विनम्र अनुरोधलाई मैले अस्विकार गर्न सकिनँ बरु ड्राइभरछेउको आफ्नै सीट छोडिदिएर दोस्रो लहरमा गेस्टसँगै बस्न गएँ ।

हेर्दा जवान देखिने सैनिक जवानकी छोरी १८ बर्षकी भइसकिछ । १८ बर्षअघिको त्यो समय उसको जीवनको एउटा यस्तो अध्याय रहेछ, जहाँ उसले सन्तान सुख मात्र होइन, सेनामा जागिर पनि पाएको थियो । त्यसको अघिल्लो साल उसले श्रीमती पनि पाएको रमाइलो बर्ष थियो ।

कञ्चनपुरको महेन्द्रनगरमा आमा, श्रीमती र छोरी छन् रे ।

‘तपाई हतियार बोक्ने पेशामा हुनुहुन्छ । तर, तपाईंलाई पनि डरलाग्दो होला नि ?’, मैले सोधें ।

‘लाग्दैन’, उसले केही नसोची फ्याट्टै भन्यो ।

‘किन ?’, मैले सोधें ।

‘किनकी कहिल्यै एक्लै भइएन । सधैं ग्रुपमा भएकोले पनि डर नलागेको होला’, उसले भन्यो ।

‘सेनामा प्रवेश गरेपछि डर लाग्नु आफैमा नैतिक पतन होला’, मनमा आएको डाइलगलाई मुखमा ल्याइनँ ।

‘सेनामा जागिर खाइसकेपछि डराएर कहाँ हुन्छ ? सेवामा आउनुअघि बरु डर लाग्थ्यो’, उसले भन्यो ।

‘सैनिक रुपमा डर लाग्दैन कि कुनै पनि हिसाबले डर लाग्दैन ?’, मेरो प्रश्नमा ऊ निरुत्तर भयो । उसले नबोलेरै धेरै बोलिरहेको थियो वा केही नबोलिरहेको मात्र थियो ? मैले बुझ्न सकिनँ ।

दशक लामो माओवादी युद्धअवधिको स्मृतिमा उसलाई मैले एउटा ठाडो प्रश्न गरें, ‘तपाईंले कतिजनालाई सुट गर्नुभयो ?’

‘३०–४० जना त मारियो होला सर’, उसले पनि केही भुमिका नबाँधी सीधै भन्यो ।

यी सव सम्वाद अनुवाद गर्दै गेस्टहरुलाई बुझाउँदै थिएँ । उनीहरु नेपाल हेर्न होइन, बुझ्न आएका थिए । यसअघि सन् २०१७ को डिसेम्बरमा आएका उनीहरु तीन महिना नबित्दै दोस्रो पटक नेपाल आएका थिए ।

त्यो सैनिक जवानलाई मैले सोधेका कति प्रश्न मेरा थिए, कति प्रश्न ल्यारीको थियो ।

स्याफ्रुबेसी पुग्नै लाग्दा सोधें, ‘तपाईले आफ्ना साथीहरु पनि गुमाउनु भयो ?’

‘मेरै आँखा अगाडि मेरा चार जना साथी ढले । मैले उनीहरुलाई बचाउन सकिनँ । म चाहिँ बाचें । कत्ति पटक कानैछेउबाट गोली उडे पनि मलाई कहिल्यै छोएन ।’

‘तिमी घरपरिवारलाई निकै मीस गर्छौ होला । होइन ?’, ल्यारीको त्यो प्रश्नमा जवानको उत्तर निकै ‘राष्ट्रिय’ थियो, ‘म जहाँ भए पनि नेपालमै त छु ।’

अर्को शब्दमा मैले उसको उत्तरलाई यसरी मनन गरें, ‘म जहाँ भए पनि नेपाल आमाकै काखमा त छु ।’

उसको उत्तरलाई मैले श्रद्धा मिसाएर प्रेम गरें ।

काठमान्डुबाट बिहान आठ बजे टोखा–छहरे, विदुर–बेत्रावती र कालिकास्थान–धुन्चे हुँदै स्याफ्रुबेसी (१३०० मि.) पुग्दासम्म हामीले लञ्च ब्रेक लिएका थिएनौं । बाटोमा उनीहरुले प्रशस्त प्रोटिनबार खाएका थिए र मैले ड्राइभरलाई पनि बराबरी बाँडेर स्निकर खाएको थिएँ ।

स्याफ्रुबेसीमा चार बजेतिर दालभात खानुअघि नै हामीले सैनिकलाई मात्र होइन, रिजभर्ड् जीप र ड्राइभरलाई छोडिसेकेका थियौं । त्यहाँबाट एक घन्टा हिँडेर तिवारी भन्ने ठाउँमा बास बस्न पुग्यौं । बुद्धिस्ट झन्डाहरुमुन्तिर स्थानीय टि हाउस फूल झैं हार्दिक थियो । साहुको पन्ध महिने छोरो मलाई उस्तै हार्दिक लाग्यो ।

आँगनबाट हामीले खोलापारीको भीरमा वन विरालो देख्यौं । मैले पहिलो पटक वन बिरालो देखेको थिएँ । ल्यारीले त्यो ठाउँमा ‘गुड इनर्जी’ अनुभुति गरेको बताउँदा डेभिडले भन्यो, ‘यस्, आइ एम अल्सो फिलिङ सेम ।’

उनीहरुको कुरा सुनेर म दंग परें । आकाशमा ताराहरु पनि दंग परेर चम्किरहेका थिए ।

(लाङटाङ सद्भावना दूत सिलवाल टुर/ट्रेकिङ इन्सट्रक्टर एवं गाइड पनि हुन् । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment