Comments Add Comment

लयमा फर्केको ब्राजिलले जित्ला त विश्वकप ? यसो भन्छन् नेइमार

२ वैशाख, काठमाडौं । विश्व फुटबलमा आफ्नो जादुयी खेल कौशलले फुटबल प्रेमीलाई लोभ्याउँदै गरेका युवा । घरेलु मैदानमा भएको फुटबलको महाकुम्भ, विश्वकप फुटबल । उत्साहको कद अग्लिदै थियो । चर्चा चुलिँदो । तर, खेलकै बीचमा उनले आँसु बगाउँदै मैदानबाट बाहिरिनु पर्‍यो । ढाडमा लागेको चोटको पीडाभन्दा मैदानबाट बाहिरिनु पर्दाको पीडा नेइमारका लागि गहिरो थियो ।

सन् २०१४ विश्वकपमा नेइमारसहित खेलेको ब्राजिलले क्वाटरफाइनलमा कोलम्बियालाई २-१ ले हराएको थियो । त्यसबेला २२ वर्षका नेइमार कोलम्बियाका आन जुनिगासँगको ट्याकलको क्रममा चोटग्रस्त भएका थिए । यो चोट उनका लागि गहिरो बन्यो । उनको स्पाइनको भर्टिब्राको ˆयाक्चर भयो र मैदान बाहिर रहन बाध्य भए ।

त्यसपछि सेमिफाइनलमा जर्मनीसँग नेइमारबिनाको आयोजक टिम ब्राजिल ७-१ ले पराजित भयो । यो विशाल हारले नेइमारका लागि चोट झन् गहिरो बन्दै गयो ।
चार वर्षपछि अहिले उनै नेइमारको नेतृत्वमा विश्व फुटबलप्रेमीलाई लोभलाग्दो खेल कौशल देखाएर रोमाञ्चित पार्न ब्राजिल तयार छ ।

यसको छनक ब्राजिलले विश्वकप छनौट चरणमा देखायो । विश्वकपको तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा ब्राजिलको प्रदर्शन राम्रो थियो । जसमा बलियो मानिएको जर्मनीलाई १-० ले हराएको ब्राजिलले रुसलाई ३-० ले हरायो ।

रुस विश्वकप २०१८ सुरु हुन ५७ दिन बाँकी छ । आयोजक रुसपछि विश्वकपका लागि छनौट हुने पहिलो टिम बनेको ब्राजिललाई उपाधि विजेताको बलियो दाबेदारका रुपमा हेरिएको छ । नेइमारलाई विश्वकप उचाल्ने सुहाउँदो कप्तानका रुपमा ।

अर्जेन्टिनाले विश्वकप छनौटका लागि अन्तिम खेलसम्म संघर्ष गर्नु परेको दक्षिण अमेरिकी क्षेत्रको अंक तालिकामा ब्राजिल शीर्ष स्थानमा थियो । यसैले पनि रुसमा ब्राजिलको खेल हेर्नका लागि विश्वभरका फुटबलप्रेमी उत्सुक छन् ।

ब्राजिल आउँदो विश्वकपका लागि स्वीट््जरल्याण्ड, कोस्टारिका र सर्बियासहित समूह ‘ई’ मा परेको छ । आउँदो विश्वकपको पहिलो खेल ब्राजिलले जुन १७ मा स्वीट्जरल्याण्डसँग खेल्नेछ ।

तर, यसबेला नेइमार आफ्नो गोडाको चोटका कारण मैदानबाहिर छन् । उनी आˆनो चोटबाट बाहिर निस्कने प्रयासमा छन् । पेरिस सेन्ट जर्मेन (पीएसजी) मा रहेका उनी लिग वानमा गएको फेब्रुअरी २५ मा मार्सेइलीसँगको खेलको क्रममा चोटग्रस्त भएका थिए । उनको गोडाको हड्डी भाँचिएको थियो ।

नेइमारले आफू मैदान फर्कन एक महिना लाग्ने बताएका छन् । विश्वकपअघि पूर्णरुपमा स्वस्थ हुने उनको विश्वास छ । उनले शनिबार ब्राजिलको एक टेलिभिजनसँग कुरा गर्दै रुस विश्वकपमा आफू मैदान फर्कने बताएका छन् ।

‘म मैदान र्फकन एक महिना र केही दिन लाग्ला’ उनले भने । आफ्नो गोडा ठीक हुँदै गएको उनले बताए ।

पीएसजीका प्रमुख युनाई इमेरीले पनि नेइमार छिटै ठीक हुने र फ्रेन्च लिगको अन्तिमतिर मैदान फर्कने बताएका छन् ।

तर, घाइते अवस्थाबाट र्फकनासाथ विश्वकपमा भिड्नुपर्ने भएकाले नेइमारका लागि परीक्षा कठीन छ । चार वर्षअघिको लज्जाजनक विश्वकप बिर्साउन र ब्राजिल फुटबल समर्थकलाई खुशी दिन नेइमारको आवश्यकता ठूलो छ ।

ब्राजिल पहिलेको जस्तै डरलाग्दो टिमको रुपमा देखिएको छ । ब्राजिलियन फुटबलको पुरानो समय फर्काउन नेइमार एक मुख्य पिलर हुन् । घाइते हुनुअघि उनी आफ्नो करिअरकै उच्च फर्ममा पनि देखिएका थिए । उनी मैदानमा मात्रै होइन मैदान बाहिर पनि आफ्नो टिमका लागि हौसलाका पात्र हुन् ।

कस्तो छ त नेइमारको आउँदो विश्वकप सपना ? आउँदो विश्वकपको सेरोफेरोमा रहेर केही समयअघि विश्व फुटबलको प्रशासकीय निकाय फिफाले नेइमारसँग गरेको कुराकानी –

ब्राजिललाई रुस विश्वकप २०१८ मा कसैसँग डर छ ?

छैन । ब्राजिल सबै टिमसँग भिड्न तयार छ । हामीले आफूलाई तयार गरेका छौं । कसैको डर छैन । यो विश्वकप हो र यहाँ उत्कृष्ट टिम नै हुन्छन् । सबै राम्रो तयारीका साथ आउने छन् । हामी कुनै एक टिमलाई अर्को टिमसँग तुलना गर्न सक्दैनौं कि उनीहरु कमजोर छन् भनेर । हामी जब विश्वकपमा हुन्छौं, सबै टिमसँगको प्रतिस्पर्धाका लागि तयार हुनुपर्छ । खेल तालिकाले हामीलाई केही असर गर्दैन ।

विश्वकप जित्नका लागि भाग्यले कत्तिको भूमिका खेल्छ ?

भाग्य ? निकै कम । मलाई लाग्दैन कि कुनै टिमलाई विश्वकपको उपाधि दिलाउन भाग्यले मात्रै साथ दिएर पुग्छ । विश्व विजेता त्यो टिम मात्रै बन्न सक्छ, जुन पूर्ण तयार हुन्छ र जुनसुकै टिमसँगको खेलका लागि तत्पर हुन्छ । समूह चरण वा नकआउट चरणमा सबै टिमलाई फेस गर्न सक्ने टिम नै उपाधिको हकदार बन्छ ।

ब्राजिलले सन् २०१४ को विश्वकप फुटबलपछि गुमाएको साख अहिले फर्काएको जस्तो देखिन्छ, यसमा सहमत हुनुहुन्छ ?

हो, म सहमत छु । हाम्रो टिममाथि गरिने आदर वा आशा अथवा अपेक्षा अहिले तीन वा चार वर्ष पहिलेभन्दा फरक छ । फुटबलप्रेमीले हामीलाई फरक तरिकाले हेर्न थालेका छन् । ब्राजिलमाथि हुने सम्मान र प्रशंसा फर्किएको छ । हामी राम्रो फुटबलमा रमाउने टिम हौँ । यसले हामीलाई खुशी बनाएको छ । हाम्रा समर्थक र हाम्रो देशको मुड परिवर्तन भएको छ । सबै आउँदो विश्वकपका लागि उत्साहित र आशावादी देखिएका छन् । त्यसको मूल्य हामी कसैले लगाउन सक्दैनौं ।

विश्वकप २०१४ कसरी टुंगियो त्यो सबैलाई थाहा छ, रुस विश्वकप २०१८ ले तपाईंको खेल जीवनमा के भूमिका खेल्छ होला ?

(केहीबेर सोच्दै) त्यो निकै अनौठो थियो किनकि विश्वकप मैले चाहे जस्तो गरी टुंग्याउन पाइन । पक्कै पनि म उपाधि उचाल्न चाहन्थेँ । तर मैले न त जितेँ न हारेँ । मैले विश्वकप पूरा गर्नै पाइन । गम्भीर चोटसहित मेरो यात्रा टुंगियो । अन्ततः हामीले त्यसको मूल्य चुकाउनु पर्‍यो ।

विश्वकप २०१४ को सम्झना कस्तो छ ?

त्यो मेरा लागि साँच्चिकै खराब हप्ता थियो । म निकै रोएँ, आफैलाई सयौं पटक सोधिरहेँ कि यो अहिले नै किन भयो ? तर विस्तारै बुझ्दै गइँदो रहेछ कि जीवनमा घट्ने हरेक घटनाले हामीलाई थप बलियो बनाउँछ भनेर, चाहे त्यो तत्कालको समयमा नचाहेको कुरा किन नहोस् । यस्ता घटनाले आफूलाई आफैसँग परिचित गराउन र भविष्यका लागि तयार हुन सिकाउने रहेछ । मलाई लाग्छ आउँदो विश्वकप ब्राजिलका नागरिक र हाम्रा समर्थकका लागि निकै भव्य हुनेछ । व्यक्तिगत रुपमा, म आउँदो विश्वकप जित्नका लागि मेरो तर्फबाट सबथोक दिन तयार छु ।

गोलकर्ताको रुपमा राम्रो स्थान बनाउनुभएको छ, तर पछिल्लो समय तपाईंले गोलका लागि सहयोग गर्ने क्रम पनि बढेको देखिन्छ, आफू चाहिँ के बढी रुचाउनु हुन्छ ?

गोल गर्दा र गोलका लागि सहयोग गर्दा दुवैले मलाई खुशी बनाउँछ । मलाई टिमका लागि राम्रो हुने अवस्थाले रोमाञ्चित बनाउँछ । चाहे त्यो पेरिस सेन्ट-जर्मेन वा ब्राजिल जुन टिम नै किन नहोस् । पहिले त मलाई गोल गर्नै मन लाग्छ । यस्तै टिमका खेलाडीलाई गोलका लागि बल पास दिँदा पनि खुशी लाग्छ । दुवैले मलाई उस्तै खुशी दिन्छ । दुवै चिज प्राविधिक रुपमा उस्तै हो ।

खेलाडी जन्मजात हुन्छन् वा यो सिकिने कला हो ?

यो बाल्यकालमै सिकिने विषय हो । फुटबल टिमको खेल भएकाले एकजनाको कौशलले मात्रै काम गर्दैन, तर सहयोग पक्कै गर्छ । आफ्नो टिमका लागि राम्रो गर्ने चाह भने महत्वपूर्ण हुन्छ र यो बाल्यकालदेखि नै आउनु पर्छ । गोल गर्ने चाहना र गोलका लागि सहयोग गर्ने इच्छा दुवै हुनुपर्छ । म दुवैमा रमाउँछु ।

अन्त्यमा, के तपाईं यो वाक्य पूरा गर्न सक्नुहुन्छ ? सन् २०१८ मा नेइमार …

(हाँसो) सन् २०१८ मा नेइमार विश्वकपमा निकै खुशी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment