Comments Add Comment

राष्ट्र बैंकले समात्न थाल्यो पाँच सय र दुई हजारका नयाँ भारु नोट


२ वैशाख, काठमाडौं । भारतले नोटबन्दीपछि चलनचल्तिमा ल्याएको पाँच सय र दुई हजारका नयाँ नोट समेत नेपालमा भित्र्न थालेको छ ।
राष्ट्र बैंकले ती नोट नेपालमा चलाउन नपाइने व्यवस्था गरेपनि हालसम्म एक सय थान पाँच सय र दुई हजार दरका नयाँ भारु नोट समातिएका छन् ।

‘नेपालमा पाँच सय र दुई हजारका नयाँ नोट चलन चल्तिमा ल्याउन नपाइने व्यवस्था छ, तर छिटफुट रुपमा यी नोट नेपाल भित्रिएका छन्,’ वैदेशीक विनिमय बिभागका प्रमुख तथा कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले भने ।

मुद्रा सटही केन्द्र (मनी एक्सचेन्ज) हरुमा अनुगमन गर्दा यस्ता नोट भेटिएको ढुंगानाले बताए । हालसम्म करिब नौ लाख रुपैयाँ बराबरका यी नोट जफत गरिएको राष्ट्र बैंकले बताएको छ ।

उदेश्य खुलेन  !

भारतले पुरानो पाँच सय र एक हजारको भारु नोट प्रतिबिन्धत गर्नुअघिसम्म नेपालमा ती नोट पनि लुकाएर राख्ने चलन थियो । विशेष गरि स्रोत नखुलेको धन राख्ने माध्यमको रुपमा यस्ता नोट बनेका थिए ।

तर भारतले एकाएक ८ नोभेम्बर २०१६ मा मध्यराति पुराना पाँच यस र एक हजारमा भारुमा नोटबन्दिको घोषणा गरेको थियो । त्यससँगै नेपालीसँग भएको ती भारु नोट पनि कागजको खोस्टामा परिणत हुन पुगेका थिए ।

यद्यपी व्यवसायीहरुले भारत पुराएर समेत ती नोट कम दाममा सटही गरे । सो समय व्यवसायीहरुसँग मात्रै १० अर्ब रुपैयाँ बराबरका ती भारु नोट रहेको बताइएको थियो ।

अहिले पनि स्रोत नखुलेको रकमको रुपमा राख्न नयाँ पाँ सय र दुई हजारका भारु नोट नेपाल भित्रन थालेको आशंका गरिएको छ । तर, राष्ट्र बैंक भने यसलाई मान्न तयार छैन ।

‘त्यस्तो नहोला । किनभने नोटबन्दीयता भारतीय व्यवसायी नै पनि ठुला दरका ती नोट प्रति आकर्षित हुन छाडेका छन्,’ ढुंगानाको भनाई छ । राष्ट्र बैंकका अनुसार भारत जानेको साथमा ती नयाँ नोट नेपाल भित्रने गरेको छ ।

भारतमा एटिएम प्रयोग गर्दा पाँच सय र दुई हजारका नोट मात्र निस्कने भएकोले निकालेको रकम खर्च नहुँदा नेपालीहरुसँग ती नोट नेपाल भित्रिएको अनुमान राष्ट्र बैंकको छ ।

अघिल्लो पटक नोटबन्दिमा परेको पाँच सय र एक हजार भारु नेपालमा कति छन भन्ने वास्तविक तथ्यांक समेत राष्ट्र बैंकसँग रहेको थिएन । अहिले पनि नेपालमा यी नयाँ नोट कति भित्रिएका छन् राष्ट्र बैंकसँग हिसाब किताब छैन ।

के हुन्छन् बैंकमा भएको पाँच र हजारका पुराना नोट ?

प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको भारत भ्रमणपछि नेपालमा पुनः पाँच सय र एक हजारका पुराना नोट भित्रन थालेका छन् ।
हालै प्रहरीले काठमाडौंको होटल सांग्रिलामा नोटबन्दिमा परेका पाँच सय र एक हजार भारुका ४९ लाख रुपैयाँ समातेको थियो । नेपालमा बााकी रहेका पुरानो पाँच सय एक हजारको नोट सटही हुने आशमा भारतबाट नेपाल तर्फ यी नोट भित्रन थालेको आशंका प्रहरीले गरेको थियो ।

प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाल पक्षले सटहीको लागि कुरा उठाएपनि भारतले भने यसमा कुनै जवाफ दिएको छैन । यही कारण ती भारु साटिनेमा शंका नै छ ।

हाल बैंकिङ प्रणालीमा रहेको सात करोड ८४ लाख भारु बराबरका यी नोट पनि सबै सटही हुन सक्ने अवस्था छैन । भारतले सटही सुविधा दिएपनि नेपालले सबै नोट सटही गर्न नसक्ने भएको हो ।

हाल राष्ट्र बैंकमा चार करोड ८० लाख भारुका यी नोट संकलन भएका छन् । बााकी अन्य रकम सम्बन्धमा बिभिन्न कारवाही लगायतको प्रक्रिया चलिरहेकोले पनि लगभग दुई करोड भारु चाहेर पनि सटही गर्न सक्ने अवस्था नरहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

भारु अभाव हट्दै !

केही समय अघिसम्म भारुको अभाव चर्किरहेको नेपालमा पछिल्लो समय त्यो समस्या हटेको छ ।  विशेषगरी विहारमा मदिरा निषेधित गरेसँगै भारत सिमाना जोडिएका तराईमा यसको व्यापार बढेसँगै भारुको अभाव पनि कम हुन थालेको छ ।

सरकारले भने चालु आवको फगुनसम्ममा गत आवको तुलनामा तीन अर्ब भारु बढि खरिद गरेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार फागुनसम्ममा २७ अर्ब २२ करोड भारु खरिद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment