Comments Add Comment

लघु कथाः त्यो रातो सारी

निन्द्रामै थिएँ । ढोकामा ढ्याकढ्याक आवाज आयो । सधैँ झै आश्रमकी सेविका होलिन् भनेर लौरो टेक्दै ढोका खोलेँ । तर, ढोका अगाडी सेविका नानी मात्रै नभएर नाति र आँगनमा छोराबुहारी पनि देखे । मलाई मेरा आँखाहरु जिस्किरहेछन् जस्तो लाग्यो । विश्वास थिएन ती दृश्यहरुमा ।

सेविकातर्फ हेर्न मन लाग्यो । सायद मन हलुका पार्न उसको मुहार हेर्नैपर्छ । केही त भन्नैपर्छ सेविकालाई । मैले उनका आँखामा बाहेक कसैमा भरोसा लाग्दैनथ्यो । मैले भनिहालेँ, ‘नानी चिसोले ढाड दुखेर उठ्नै सकिएन । एकछिन आराम गरेर मात्रै खाना खान आउँछु नी है ।’

तर, सेविकाले ढोका ढप्काइनन् । भनिन्, ‘आमा ! तपाईलाई चिसोले छिटै उठ्नु हुन्न भन्ने त थाहा नै छ । हजुरलाइ भेट्न आएका मान्छे हतारमा छन अरे ! त्यै भएर पो छिटो उठाउन आकी ।’ मेरा आँखाले देखेको दृष्टिभ्रम होइन रहेछ । म अकमक्क परेँ र आँगनतिर हेरेँ । फेरि आँखा छामे, फेरि आँगन तिर हेरेँ ।

छोराको साथमा बुहारी र छेउमा नाति उभिएका देखेँ । पत्यार लागेन आफ्नै आँखाहरुमा । आँशु पुछेर फेरि हेरे । केहिबेर त हेरिरहेँ । एकै छिनमा ढोकानिर आएको छोराले कुम छोए नछोएजस्तो गरेर दर्शन मुमा भन्यो । मैले टेकेको लौरो बिसाएर छोराको काँधमा हात राखे ।

अंगालो हाले । बुहारीले पनि दर्शन गरी । नाति मोबाइललाई गाडी चलाएजस्तो खेलाइरहेको थियो । हुन त डाक्टरले आँशु हातले नपुछ्नु भनेको थियो । मलाई यो दृश्य हिजो राति सपनामा देखेको भगवानभन्दा भावुक थियो ।

छोरालाई मुसार्ने र नातिलाई खेलाउने आमा मन उद्वेलित भयो । छोराले मैले आँखाको अपरेसन गरेको थाहा पाउँदो हो त सायद आफ्नो रुमाल दिँदौ हो मलाई । सञ्चो विसञ्चो भयो । छोराले नातिलाई इसारा ग¥यो । नातिले कारको पछाडी सिटबाट एउटा झोला ल्यायो ।

आश्रमको गोलघरको कुर्सीमा बस्यौँ । नातिले ल्याएको झोलाबाट छोराले एउटा डब्बा निकालेर टेबुलमा राख्यो र सेविकालाई थाली मगायो ।

बुहारीले मलाई मेरो कोठामा लाग्न आग्रह गरिन् । म त्यतातिर लागे । बुहालीले झोलाबाट निकालेको रातो फुलबुट्टे सारी निकालिन र मेरो हातमा थमाइदिइन् । यो रानी महारानीको पहिरन जस्तो लाग्यो । म दुलही हुन लागेको जस्तो लाग्यो । के के सम्झाएन ? त्यो रातो सारीले ।

लल्लाको बुबा, बिहेको साल.. के के चाहिँ सम्झिन मैले । आश्रममा ९ वर्ष ३ जोर कपडाले काटे । नातिले फोहरी बुढी भनेर काखमा नआएको सम्झे र विर्सेँ ।

सबै कुरा विर्सेँ सारी देखेपछि । टोलाइरहेकी रहेछु । बुहारीले छिटो गर्न भनेपछि हतारहतार सारी लगाएँ । सारी, म, छोरा र बुहारी । अनि, खुशी र खुशीका आँशु ।

बुहारीले सारी लगाइदिएपछि बाहिर गयौँ । छोराले अक्षता र ४/५ प्रकारका मिठाइ टेबुलमा राखेको थियो । परिवार, सारी र मिठाई । स्वर्ग यो भन्दा सुन्दर होला र ? मलाई थाहै थिएन र आशै थिएन यस्तो दिन फर्किनेछ ।

यो संयोगको दिन मातातिर्थ औँशीको दिन रहेछ । बल्ल सुँइको पाएँ । छोरा व्यस्तताले आफू सधैँ आउन नसक्नुको कारण बाहिर काममा जानु भनेर भन्दै थियो ।

म भने सारी हेरेर बसेकी थिएँ । छोराले फोटो पनि खिच्यो । मिठाइ खुवाएको फोटो । अनि, बाँकी मिठाइ मेरो हातमा राखेर छोराले ल खानु भन्यो । बुहारी मिठाइ मेरो सारीमा परेको एकटकले हेरिराखेकी थिइ ।

छोराले अघि खिचेको फोटामा आश्रमको साइनबोर्ड नी आएछ । नातिलाई भनेर अर्कोतर्फ फेरि फोटो खिच्न लगायो छोराले । छोराले फेरि मिठाइ खुयाएको जस्तो गरी फोटो खिच्यो । नातिलाई भन्यो, ‘उताको बोर्ड नखिच है !’

उसले मुखैनेर ल्याएको मिठाइ फोटो खिचिसकेपछि थालीमै लग्यो । मलाइ नी खान मन लागेन र थालीमै राखेँ । बुहारी आँखा हेरेर फेरि टिपेँ र निले घुलुक्क । बुहारीका आँखा ठूला देखिएका थिए ।

आमा अब जान्छु राम्ररी बस्नु भन्दै दुई हजार रुपैयाँ दियो । सेविकालाई ५०० को नोट थमायो । मैले बिर्सिसकेको थिएँ कि मेरा छोराछोरी पनि जानेवाला छन् भनेर । फेरि मन चिसो भयो ।

छोरा गाडितिर लाग्यो । बुहारीले मलाई कोठाभित्र छोडिदिन भनिन् । छोरा घरमा आउनै नपाउने गरी व्यस्त हुने जिकिर बुहारीले पनि सुनाइ । अनि, भनि, ‘आमा … अ्म्म्म.. ! यो सारी मेरो पार्टीमा लगाउने हो । यता धुन नी नमिल्ने । म लगेरै जान्छु है…।’

आँशु रोकिएनन् । सारी त फुकालिदिएँ ।

सुसुसु…. आवाज पनि आइराथ्यो सायद म अचेत थिए । सेविकाले अंगालो हालिन् । आँखामा बुहारी गाडीमा बसेको र नाति छोरा मुस्कुराउदै हिँडेको सम्झेँ । हात लुला र आँखा डुबिसकेका थिए । प्राण त कहाँ निस्किन्छ र यति चाँडै । तर, निस्कुनै थियो । निस्क्यो एक दिन ।

क्रियाक्रम आश्रममै भयो । फेरि, आज आश्रमको गेटमा छोरा देखे । झोला थियो । सारी पनि थियो होला । म सिर्फ हेरिरहेछु । तर, छोराले अब मलाई आश्रममा कहाँ भेट्थ्यो र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment