Comments Add Comment

कैलालीमा साढे ४ हजार बालबालिका विद्यालय बाहिर

३ बैशाख, कैलाली । हरेक नयाँ शैक्षिकसत्रमा सरकारले भर्ना अभियान चलाउँदै आएपनि कैलालीमा विद्यालय जाने उमेरका करिब चार हजार ५०० बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ ।

विभिन्न प्रयासका बाबजुद पनि विद्यालयको पहुँचमा आउन नसकेका बालबालिकाहरु विद्यालय बाहिर रहेको जिल्ला शिक्षा कार्यालय कैलालीले जानकारी दिएको छ ।

हाल विद्यालय आइरहेको कुल संख्याको तीन प्रतिशत उमेर पुगेका बालबालिकाहरु विद्यालय नआएको विद्यालय निरीक्षक लोकेन्ऽप्रसाद भट्टले जानकारी दिए ।

जिल्लाभरी रहेको ५७२ वटा सामुदायिक विद्यालयमा करिब एक लाख ५० हजार विद्यार्थी एक देखि १२ कक्षामा अध्ययनरत छन् ।

यसैगरी, ८० हजारको हाराहारीमा बालबालिकाहरु संस्थागत विद्यालयमा अध्ययनरत छन् । कैलालीमा संस्थागत विद्यालयको संख्या ३४८ रहेको छ ।

विद्यालय जाने उमेरका सतप्रतिशत बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने उद्देश्य रहेपनि अहिलेसम्म पूरा हुन नसकेको विद्यालय निरीक्षक भट्टले बताए ।

उनले भने, ‘तर, हरेक वर्ष विद्यालय बाहिर रहेका बालबालिकाको संख्या घट्दै गएको छ’, विद्यालय बाहिर रहेको बालबालिको संख्या ०.५ प्रतिशतमा मात्रै पनि झार्न सकियो भने ठूलो उपलब्धी हने भट्टले बताए ।

विद्यालय छोड्ने दर बढ्दो

पछिल्लो पटक कैलालीमा विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई विद्यालयको पहुँचमा ल्याउनु भन्दा पनि सरकारी विद्यालयमा रहेका विद्यार्थीहरुलाई टिकाउन चुनौती सावित भएको छ ।

हरेक शैक्षिक सत्रमा विद्यार्थीले विद्यालय छोड्ने क्रम बढेकाले उनीहरुलाई विद्यालयमा टिकाइ राख्न चुनौती देखिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

विगत केही वर्ष यताको शैक्षिकसत्रमा विद्यार्थीले वार्षिक परीक्षा अगावै विद्यालय छोड्नेक्रम बढेको विद्यालय निरीक्षक भट्टले बताए ।

जिल्ला शिक्षा कार्यालयका अनुसार शैक्षिक सत्र २०७३ मा प्राथमिक तहबाट सबैभन्दा बढी ५ प्रतिशत विद्यार्थीले वार्षिक परीक्षा दिनु अगावै विद्यालय छोडेका थिए ।

यसैगरी, निम्न माध्यमिक तहमा अध्ययनरत ४.८ र माध्यमिक तहमा पढ्ने ४.३ प्रतिशत विद्यार्थीले वार्षिक परीक्षा नदिएर विद्यालय छोडेका थिए ।

अध्ययनकै क्रममा ‘ड्रप आउट’ हुने विद्यार्थी प्रतिशत पनि डरलाग्दो रुपले बढिरहेको विद्यालय निरीक्षक भट्टकोले बताए ।

विद्यार्थी भर्ना अभियान सुरु

शिक्षाको पहुँच भन्दा बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा ल्याउने उद्देश्यले आइतवारदेखि देशब्यापी विद्यार्थी भर्ना अभियान सुरु गरिएको छ ।

नियमित कार्यक्रम अन्तर्गत यहाँ पनि विद्यार्थी भर्ना अभियान सुरु गरिएको हो । दुई चरणमा छुट्टयाइएको विद्यार्थी भर्ना कार्यक्रम अन्तर्गत वैशाख २ देखि १४ गतेसम्म विद्यालय भर्ना भएका विद्यार्थीहरुलाई फूल, अबिरले स्वागत गर्ने र पुस्तक प्रदान गरिने जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ ।

यसैगरी, यही अवधिमा शिक्षक, अभिभावक, जनप्रतिनिधि लगायत सरोकारवालाहरुले विद्यार्थी भर्नाका लागि एक आपसमा समन्वय र सहयोग गर्ने जनाइएको छ ।

विद्यार्थी भर्ना कार्यक्रमको दोस्रो चरण अन्तर्गत वैशाख १५ देखि ३० गतेसम्म विद्यालयहरुले आˆनो पकड क्षेत्रमा घरदैलो गरेर बालबालिकाहरुलाई विद्यालयमा ल्याउन पहल गर्ने विद्यालय निरीक्षक भट्टले जानकारी दिए ।

विद्यालयको पहुँचभन्दा बाहिर रहेका बालबालिकाहरुलाई विद्यालय भर्ना गर्नका लागि विभिन्न सरोकारवाला निकायले पनि सहयोग गर्ने उनले जानकारी दिए ।

यसका साथै विद्यालयहरुमा नयाँ विद्यार्थीहरुलाई आकर्षण गर्नका लागि विविध कार्यक्रम पनि हुनेछ ।

विद्यार्थीहरुका लागि पर्याप्त पाठ्यपुस्तक आइपुगेकाले उनीहरुलाई भर्ना भएकै दिन पुस्तक उपलब्ध गराइने जनाइएको छ ।

विगत वर्षमा विद्यार्थीले समयमै पुस्तक पाउन नसके पनि यो वर्ष त्यस्तो समस्या नआउने विद्यालय निरीक्षक भट्टले दावी गरे । ‘कैलालीका लागि पर्याप्त मात्रामा पाठ्यपुस्तक आइपुगेको छ’, उनले भने-‘नयाँ शैक्षिकसत्रमा भर्ना अभियानकै क्रममा विद्यार्थीहरुलाई हातोहात पाठ्य पुस्तक प्रदान गरिरेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment