Comments Add Comment

कर्मचारीले रोजेको र घरपायक स्थानीय तहमा जान पाउने

सरकारले ल्यायो नयाँ मापदण्ड

३ बैशाख, काठमाडौं । सरकारले कर्मचारीलाई आफूले रोजेको र घरपायक स्थानीय तहमा खटाउने गरी नयाँ मापदण्ड ल्याएको छ ।

सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तहमा कर्मचारी खटाउने मापदण्ड २०७४’ जारी गर्दै कर्मचारीलाई रोजेको र घरपायक स्थानीय तहमा खटाउन लागेको हो ।

उक्त मापदण्डअनुसार सरकारले पहिले देशभरीका स्थानीय तहको संगठन संरचना र दरबन्दी अनुसारका पदहरु खुलाएर १५ दिनभित्र सरुवाको निवेदन दिन सार्वजनिक सूचना जारी गर्छ । त्यसपछि कर्मचारीहरुले आफूले सरुवा हुन चाहेको १५ वटासम्म स्थानीय तहको नाम प्राथमिकताको आधारमा चयन गरेर निवेदन दिनुपर्नेछ ।

निवेदन संकलन भएपछि कर्मचारीको स्थायी ठेगाना पत्ता लगाई सकेसम्म सोही स्थानीय तहमा खटाइने मापदण्डमा उल्लेख गरिएको छ । यसरी खटाउँदा कर्मचारी नपुगेमा मात्र अन्य गाउँपालिका, नगरपालिका वा जिल्ला र प्रदेशका कर्मचारीलाई खटाइने मापदण्डमा उल्लेख गरिएको छ।

कर्मचारीको ठेगाना रहेको स्थानीय तहमा आवश्यकता भन्दा बढी कर्मचारी भए अन्य गाउँपालिका वा नगरपालिकामा खटाउने सरकारको तयारी छ ।

पती र पत्नी दुबैजना निजामति सेवामा रहेमा सकेसम्म एउटै स्थानीय तहमा र त्यो सम्भव नभएमा नजिकको अर्को स्थानीय तह वा एउटै जिल्लामा खटाउने गरी मापदण्ड बनाइएको छ ।

एक वर्षभन्दा कम उमेरको शिशु रहेको महिला कर्मचारी र कडा खालको रोग लागेका कर्मचारीलाई भने रोजेको स्थानीय तहमा पठाउने सरकारको तयारी छ ।

स्थानीय तहमा खटिने कर्मचारीलाई सरकारले क्षमता विकास र वृत्ति विकासको अवसर दिने पनि मापदण्डमा उल्लेख गरिएको छ ।

स्थानीय तहमा कर्मचारी खटाउदा जेष्ठतालाई पनि आधार मानिने मापदण्डमा जनाइएको छ । तर हाल प्रशासकीय अधिकृत वा जिल्ला समन्वय समितिको प्रमुख रहेकालाई सोही स्थानीय तहमा सहायक कर्मचारीको रुपमा नराखिने मापदण्डमा उल्लेख गरिएको छ ।

मन्त्रालयले स्थानीय तहमा हाल खटाउने र भविश्यमा समेत यही विधि अवलम्बन गर्ने जनाएको छ । ‘स्थानीय तहको हाल खटाउन सकिने पद वा पछि रिक्त भई खटाइने पदमा समेत यसै आधारमा कर्मचारी खटाइनेछ । निजले प्राथमिकता तोकेको स्थानीय तहमा खटाउन नसकिने भएमा वा तोकिएको म्यादभित्र कुनै कर्मचारीले निवेदन नदिएमा कर्मचारी खटाउने मापदण्डको अन्य आधार हेरी खटाइनेछ ।’

हेर्नुस् मापदण्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment