Comments Add Comment

छापामा आजः कर्मचारी सन्ततिको छात्रवृत्तिमा पौने अर्ब खर्च, उपलब्धि शून्य


४ वैशाख, काठमाडौं । आज मंगलबार, राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले भिन्न–भिन्न विषयहरुलाई आफ्नो प्राथमिकतामा राखेका छन् । केहीले राजनीतिक विषयलाई बढी जोड दिएका छन् भने कुनैले सरकारी कार्यालयका अनियमितताहरुलाई महत्त्व दिएर छापेका छन् ।

राजनीतिक विषयमा आज एमाले–माओवादी एकता प्रक्रिया परेको छ । सोमबार दुई पार्टीका अध्यक्षबीच भएको छलफललाई जोड्दै पत्रपत्रिकाहरुले आज बस्ने एकता संयोजन समितिको बैठकले गाँठो फुकाउने जनाएका छन् । केही समयदेखि दुई पार्टीबीच संवादहीनताको अवस्था देखिएकोमा बुधबार दुई पार्टीका अध्यक्षबीच छलफल भएको थियो ।

आर्थिक वृद्धि र बजेटको विषयलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले निर्वाचन क्षेत्र पूर्वाधार शीर्षकको बजेटमा भएका अनियमितता उधिनेको छ । समाचार अनुसार, निर्वाचन क्षेत्रको पूर्वाधार विकासमा खर्च गर्नुपर्ने रकममा आफ्नै हात जगन्नाथ गर्दै सांसदहरुले कार्यकर्तालाई साइकलसमेत किनेर बाँडेका छन् ।

एमाले–माओवादी एकता प्रक्रिया टुंग्याउन दुई पार्टीका अध्यक्षबीच सोमबार छलफल भएको, लोकतान्त्रिक फोरमबाट कांग्रेसमा आएकाहरु असन्तुष्ट बनेकोलाई पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा नै समेटेको छ ।

अन्नपूर्णले कर्मचारी सन्ततिको छात्रवृत्तिको उपलब्धिबारे चर्चा गरेको छ । समाचार अनुसार सरकारले छात्रवृत्तिका लागि पौने अर्ब खर्च गरे पनि उपलब्धि लगभग शून्यकै हाराहारीमा छ ।

एमाले माओवादीबीच नमिलेका मुद्दा फेरि संयोजन समितिमा पुगेको अर्को खबर पनि अन्नपूर्णको पहिलो पृष्ठमा पढ्न सकिन्छ ।

नागरिक दैनिकमा नेपाल ट्रस्टको जग्गा भाडामा दिँदा भएको अनियमिततासँगै एमाले–माओवादी निर्णायक वार्ता आज हुन लागेको समाचार छापिएको छ ।

साल्ट ट्रेडिङमा डेढ अर्बको सेयर घोटाला भएकोलाई मुख्य समाचार बनाएर लेखेको कान्तिपुर दैनिकले वैशाख ९ मै एकता हुने निष्कर्षमा एमाले रहेको भन्दै खबर लेखेको छ ।

कर्मचारी सन्ततिको छात्रवृत्तिमा पौने अर्ब खर्च, उपलब्धि शून्य

सरकारले कर्मचारीका सन्तानलाई छात्रवृत्तिमा करोडौं लगानी गरे पनि उनीहरूलाई सरकारी सेवामा आकर्षित गर्न नसकेको विषयलाई आज अन्नपूर्ण पोस्ट दैनिकले मुख्य समाचार बनाएर छापेको छ ।

समाचार अनुसार, सरकारी छात्रवृत्तिमा कर्मचारीका सन्तान डाक्टर, इन्जिनियर, नर्स, कृषि तथा वन प्राविधिक बनेका छन् । यो छात्रवृत्तिमा मात्रै सरकारले आव ०७३–७४ सम्म ६० करोड ४१ लाख ४ हजार वितरण गरिसकेको छ । आ.व. ०७४/७५ का लागि थप १४ करोड वितरण गर्ने योजना छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छात्रवृत्ति वितरण गर्ने जिम्मेवारी पाएको छ । छात्रवृत्ति पाउने रकम दुई लाखदेखि पाँच लाखसम्म तोकिएको छ ।

अन्नपूर्णले समाचारमा लेखेको छ– मन्त्रालयले छात्रवृत्ति वितरणमा आफैंले बनाएको निर्देशिका उल्लंघन गर्दै आएको आरोप पनि छ । निजामती कर्मचारीका सन्तानलाई छात्रवृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका ०७२ अनुसार छात्रवृत्ति पाएका डाक्टर, इन्जिनियर, नर्स, कृषि, वन प्राविधिकलगायतलाई कोर्स सम्पन्न गरेपछि अनिवार्य सरकारी सेवामा लगाउनुपर्ने प्रावधान छ ।

मन्त्रालयले निजामती कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले आर्थिक वर्ष ०६६/६७ देखि सन्तति छात्रवृत्ति दिन थालेको हो । सात वर्षको अवधिमा (आव ०६६/६७ देखि ०७३/७४ सम्म) मात्रै कर्मचारीका २ हजार ८ सय ७७ सन्ततिले विभिन्न विषयमा छात्रवृत्ति पाएका छन् भने चालु आव ०७४/७५ मा ७ सयलाई छात्रवृत्ति वितरण गर्ने तयारी छ ।

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनले पनि सन्तति छात्रवृत्ति कार्यक्रममा करोडौं लगानी भए पनि सरकारले सोअनुसार प्रतिफल प्राप्त गर्न नसकेको भन्दै सामान्यको ध्यानाकृष्ट गराएको छ । छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई उत्तीर्ण भएको एक वर्षभित्र सरकारले कुनै संस्था–निकायको काममा खटाउन सक्ने निर्देशिकामा व्यवस्था छ ।

सरकारले खटाएको काम नगरे वा विषय परिवर्तन गरे छात्रवृत्तिमा प्राप्त गरेको रकम र त्यसको ब्याजसमेत सरकारी बाँकीसरह असुलउपर गरिने व्यवस्था छ । सरकारले छात्रवृत्ति प्रदान गरेपछि सम्बन्धित विद्यार्थीले सोहीअनुसार अध्ययन गरे–नगरेको बारे समेत कुनै अध्ययन गरेको छैन ।

एमाले–माओवादी एकताः मुद्दा फेरि संयोजन समितिमा

वैशाख ९ का लागि तय गरिएको एमाले–माओवादी केन्द्रबीचको एकता औपचारिक रूपमा घोषणा हुने–नहुने मंगलबार बस्ने एकता संयोजन समितिको बैठकपछि टुंगो लाग्ने भएको छ ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, पार्टी एकतालगायत विषयमा छलफल गर्न एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार भएको ‘वन टु वन’ वार्ताले मंगलबार बिहानका लागि एकता संयोजन समितिको बैठक तय गरेको छ । मंगलबारको वार्तापछि दुई शीर्ष नेता पूर्वनिर्धारित सयम वैशाख ९ मै दुई पार्टी एक गर्नेमा प्रतिबद्ध देखिएका छन् । यसअघि तय भएका एकता संयोजन समितिका बैठक एमाले–माओवादी शीर्ष नेताको व्यस्तताले प्रभावित हुँदै आएका थिए ।

प्रधानमन्त्रीको भारत भ्रमणअघि नै एकता गर्ने भन्दै गृहकार्य अघि बढाए पनि संगठन संरचना, चुनाव चिह्न र निर्देशक सिद्धान्तका विषयमा सहमति भएको छैन ।

कान्तिपुर दैनिकले भने ‘एमालेको निष्कर्षः वैशाख ९ मै एकता’ शीर्षकमा समाचार लेखेको छ ।

‘एमालेले वैशाख ९ गते नै पार्टी एकता गर्ने गरी माओवादी केन्द्रसँग अधिकतम् समझदारी बनाउन पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ’, कान्तिपुरले समाचारको लिड लाइनमा लेखेको छ, ‘एकता प्रक्रियामा संशय उत्पन्न हुन थालेपछि त्यसको समीक्षा गर्न सोमबार बसेको स्थायी समिति बैठकले एकतालाई पछि धकेल्न नहुने धारणा बनाएको हो ।’

कर्मचारीलाई अब घरपायक जागिर !

सरकारी कार्यालयमा सेवा लिन जाँदा कर्मचारी बिदामा भन्ने जवाफ पाउनुभएको छ ? कर्मचारी भेटिए पनि तपाईंको काम भएको छ ? अब कर्मचारीलाई यस्टा छुट र सेवाग्राहीलाई सास्ती हुनेछैन ।

राजधानी दैनिकका अनुसार सरकारले नयाँ मापदण्डमा दुईवटै समस्याको समाधान गरेको छ ।

सेवा चुस्त बनाउन कर्मचारीलाई घरपायक सुविधा दिनेगरी सरकारले नयाँ मापदण्ड बनाएको छ । त्यसका लागि कर्मचारीलाई घरपायक र रोजेको स्थानीय तहमा जाने अवसरसहितको मापदण्ड तयार भएको समाचारमा उल्लेख छ ।

सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कर्मचारी खटाउने मापदण्ड २०७४ जारी गर्दै कर्मचारीलाई रोजेको र घरपायक सुविधासहित स्थानीय तहमा खटाउन लागेको छ ।

आफ्नै समूह सम्हाल्न पौडेललाई सकस !


कान्तिपुर दैनिकका अनुसार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलाई समेत सभापति शेरबहादुर देउवालाई जस्तै आफ्नो समूह सम्हाल्न सकस देखिएको छ ।
निर्वाचन हार्नुमा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैली र भूमिकालाई मुख्य जिम्मेवार ठहर्याएर अग्रिम महाधिवेशनको आवाज उठाइरहेका बेला पौडेललाई नेतृत्वका आकांक्षी आफ्नो समूहका नेता व्यवस्थापनमा चुनौती देखिएको हो ।

निर्वाचन हारका विषयमा पार्टीभित्र संस्थापन र इतर पक्षबीच मतान्तर बढ्दो छ । १३ औं महाधिवेशनबाट पार्टीभित्र तेस्रो धारको नेतृत्व लिएर छुट्टै समूह खडा गरेको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासमेत देउवाको कार्यशैलीबाट असन्तुष्ट बन्दै पौडेलसँग निकट भएका छन् ।

पौडेलका लागि सबैभन्दा बढी टाउको दुखाइ महामन्त्री शशांक कोइरालाको भूमिकालाई लिएर भएको छ । कोइराला सभापति देउवासँगको सम्बन्ध चिढ्याउन चाहँदैनन् ।

नेपालकै कारण साटिएन भारु

कान्तिपुर दैनिकका अनुसार, प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला प्रतिबन्धित भारु पाँच सय र हजारको नोट सटहीको विषयलाई नेपाली पक्षले नै औपचारिक रुपमा उठाउन नसक्दा सर्वसाधारण र बैंकहरुमा रहेको रकम यत्तिकै थन्किएको छ ।

प्रम ओलीको भारत भ्रमणका बेला करिब डेढ वर्षदेखि थाती रहेको भारु सटहीको विषयले निकास पाउने अपेक्षा गरिएको थियो । यसअघि भारत भ्रमणमा जानुअघि संसदलाई सम्बोधन गर्दै ओलीले भारु सटहीको विषय उठाउने दाबी पनि गरेका थिए । तर ओलीले प्रतिबद्धता अनुसार भारुको विषय उठाएनन् ।

कान्तिपुरले लेखेको छ– प्रमको भ्रमणका बेलासमेत भारु सटहीको विषयले निकास नपाउँदा सरकारी प्रणालीमा रहेको करिब ५ करोड भारु प्रयोजनविहीन बनेको छ । जबकि प्रम ओलीको भारत भ्रमणअघि अर्थ मन्त्रालयले भारु नोटका सम्बन्धमा राष्ट्र बैंकबाट विवरण मागेको हुँदा भारुका सम्बन्धमा निकास निस्कने अपेक्षा गरिएको थियो ।

पुरुषलाई ‘सर’ महिलालाई ‘बहिनी’ !

महिला र पुरुष दुवैले कार्यालयमा समान हैसियतले काम गरिरहेका छन् । तर उनीहरुलाई सम्बोधन गर्दा प्रयोग गर्ने शैली फरक छ । महिलालाई तिमी र बहिनी सम्बोधन गरिन्छ भने पुरुषलाई तपाईं र सर ।

कान्तिपुर दैनिकले कार्यालयमा महिला र पुरुषबीच विभेद गरेको उल्लेख गर्दै लेखेको छ– कार्यालय क्षेत्रमा महिला कर्मचारी भएको हेक्का नै नगरी यौनजन्य भाव प्रकट हुने शब्द बोल्ने, ठूलो स्वरमा अश्लील भिडियो लगाएर सुन्ने, कुनै पुरुष मित्रसँग नजिक भएर बोल्यो भने चरित्रमाथि नै शंका गर्ने परिपाटी छँदैछ । यसले महिला कर्मचारीमाथि मानसिक तनाव सिर्जना गरेको छ, उनीहरु खुलेर कार्यालय क्षेत्रमा सम्बन्ध विस्तार गर्नसमेत हिच्किचाउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment