सोमबार, १० वैशाख, २०७५
Ruslan
OnlineKhabar.com

महले सबै भाडा भरिए, मह बेच्न बजारको खोजी

अनलाइनखबर


४ वैशाख,  पथरी, मोरङ ।  मोरङका मौरीपालक किसान मह बेच्न बजारको खोजी गरिरहेका छन् । आफूहरुले उत्पादन गरेको मह बिक्री नभएपछि मौरीपालक किसान आफूले उत्पादन गरेको मह बेच्ने बजारको खोजी गरिरहेका हुन् ।

उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकाका ८८ जना किसान व्यावसायिक मौरीपालनमा लागेपछि महको उत्पादन बढेका कारण मह बेच्ने ठाउँ नहुँदा समस्या भएको हो ।

स्थानीय बजारको मागभन्दा बढी उत्पादन भएपछि किसान घरमै मह भण्डारण गरी बजार खोज्न थालेको मेलीफेरा मौरीपालन सहकारी संस्था अध्यक्ष बोधराज खतिवडाको भनाइ छ । उर्लाबारी क्षेत्रमा मात्र यो मौसममा ९० क्विन्टल मह उत्पादन भएको संस्थाका अध्यक्ष खतिवडाले सुनाए ।

किसान रमेश खड्काका अनुसार तोरी फुल्ने मौसममा भन्दा जंगली बिरुवा फुल्ने मौसममा मह बढी उत्पादन भएको छ । एक दिन अघि मह काढेका खड्काले घरमा धान भण्डारण गरे जसरी नै मह राखेको सुनाए । उनले भने– “मह यति धेरै उत्पादन भयो कि किनेर ल्याएका सबै भाडा भरिएर घरका जग, अंखोरामा पनि मह राख्नुपर्ने अवस्था छ ।”

खड्काले यो वर्ष तोरी फुलेको सिजनमा चार क्विन्टल र जंगली फूलको मौसममा दुई क्विन्टल गरी छ क्विन्टल मह उत्पादन गरेका छन् । उनले हाल २५ घार मौरी पाल्नुभएको छ । गत वर्ष पाँच क्विन्टल मह उत्पादन गर्नुभएका खड्काले भने–“४ क्विन्टल बिक्री भयो । एक क्विन्टल मह मौरीलाई खुवाएर सकेँ ।”

अध्यक्ष खतिवडासँग अहिले ७० घार मौरी छन् । एक पटकमा एक घारबाट १० किलोसम्म मह उत्पादन हुने खतिवडाको भनाइ छ । अर्का किसान भोला पोख्रेलको १३ घारबाट ११४ किलो, हरि विष्टको १६ घारबाट १०८ किलो र नवीन कार्कीको १० घारबाट ८० किलो मह दुईदिन अघि मात्र काढिएको हो ।

मौरीपालन विकास शाखा, गोदावरीका प्राविधिक सहायक सुवास खनालको प्रत्यक्ष निगरानीमा मह काढेका किसान डाबर र पतञ्जलीको महको प्रयोगलाई घटाउन सरकारी स्तरबाट जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँछन् ।

प्राविधिक सहायक खनालका अनुसार महलाई आगोमा पकाउनु हुँदैन, तर बहुराष्ट्रिय कम्पनीको मह ८० डिग्री तापक्रममा उमालेको हुन्छ । त्यसैले, सबै फूलबाट प्राप्त मह एकै रङको हुने हुन्छ । हरेक वनस्पतिअनुसार महको पनि फरक स्वाद र रङ हुने हुनाले स्वदेशी महको प्रयोग उपयोगी हुन्छ ।

२०७५ वैशाख ४ गते १०:५१ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • यज्ञमूर्ति ज्ञवाली लेख्नुहुन्छ    |   २०७५ वैशाख ४ गते ११:५०

    टाढा बेच्न लैजाँदा ढुवानी भाडा थपिने हुँदा केही महङ्गो पर्न सक्छ महको भाऊ तर काठमाडौमा शुध्द महको ठूलो माग छ । त्यसैले झन्झट नमानी धेरै जनसंख्या भएका काठमाडौ पोखरा जस्ता शहरमा मह लैजानु बेस होला ।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this