Comments Add Comment

निर्वाचित क्यानले भन्यो : निलम्बन फुकुवा गर्न आवश्यक लचक हुन्छौं

४ बैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको निर्वाचित कमिटीले क्यानको निलम्बन फुकुवा गर्नका लागि अहिलेको विधान संशोधन गर्न आवश्यक लचकताका साथ प्रस्तुत हुने बताएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्यानको निर्वाचित कमिटीले निलम्बन फुकुवा भइ नेपाली क्रिकेटले निकास पाउने अवस्थामा आफूहरु लचकताका साथ प्रस्तुत हुने बताएको हो ।

‘वर्तमान विधानका केही व्यवस्थाहरुमा संसोधन गरी अघि बढ्दा निलम्बन फुकुवा भई क्रिकेटले निकास पाउने अवस्थामा नेपाल क्रिकेट संघ आवश्यक लचकताका साथ प्रस्तुत हुने कुरा विश्वास दिलाउन चाहन्छौं’ क्यानले विज्ञप्तिमा भनेको छ ।

आफूहरु सँधै विधि र प्रक्रियाको पक्षमा रहेको बताउँदै आगामी दिनमा पनि नेपाली क्रिकेट विधि र प्रक्रियामा चलोस् भन्ने सुनिश्चिततामात्र खोजेको बताएको छ ।

क्यानको विशेष साधारणसभा आईसीसीका प्रतिनिधिहरुको समेत उपस्थितिमा वैशाख ६ र ७ गते हुँदैछ । ‘उक्त साधारणसभाले मस्यौदा विधानका प्रस्तावमाथि गहन छलफल गरी एउटा टुंगोमा पुग्ने विश्वास लिएका छौं’ निर्वाचित क्यानको विज्ञप्तिमा भनिएको छ ।

निर्वाचित क्यानले नेपालको निलम्बन फुकुवा गर्नका लागि सम्बन्धित सबै पक्ष जिम्मेवारीसाथ प्रस्तुत हुनुपर्ने पनि बताएको छ ।

‘नेपालको निलम्बन फकुवा भई क्रिकेट अघि बढ्ने कुरामा सबैको सहयोग र समर्थन रहने एवं सम्बन्धित पक्ष अत्यन्तै जिम्मेवारीका साथ प्रस्तुत हुनेछन् भन्ने आशा एवं विश्वास व्यक्त गर्दछौं ‘ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment