Comments Add Comment

सुन व्यवसायी साजनको हत्या गर्न साढे १० लाख ‘सुपारी’ !

भारतबाट समातिए शाह

४ बैशाख, काठमाडौं । झापा बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्या गर्न १० लाख ५० हजार रुपैयाँ सुपारी दिइएको प्रहरी अनुसन्धानले देखाएको छ ।

हत्या योजनाकार स्थानीय ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक २९ वर्षीय पारसकुमार देवले मुखियाको हत्या गर्न दुई जनालाई १० लाख ५० हजार रुपैयाँ सुपारी दिएको खुलेको हो ।

थप दुई जनालाई देवले ‘बाँकी’ मै मुखियाको हत्यामा संलग्न गराएको अनुसन्धानमा संलग्न एक अधिकारी बताउँछन् ।

शुक्रबार भारतबाट पक्राउ परेका बिर्तामोड–३ का २२ वर्षीय राहुल भनिने राजेश शाहलाई देवले १० लाख रुपैयाँ दिएका थिए । शाह घटनापछि सुनसरीको भन्टाबारी हुँदै भारततिर छिरेका थिए ।

उनी समातिएपछि घटनामा बिर्तामोड–५ का २१ वर्षीय मामा भान्जा भनिने सुरज चौधरीको पनि नेक्सस खुल्यो । र, उनले ५० हजार रुपैयाँ भुक्तानी लिएको खुलेको छ ।

‘देवले आईएमईबाट पठाएको रकम चौधरीले इटहरीबाट निकालेको भेटिएको छ’, प्रहरी स्रोतले भन्यो, ‘उनले ३ लाख रुपैयाँ मागेको भए पनि अरु रकम पछि दिने गरी ५० हजार रुपैयाँको मात्रै कारोबार भएको भेटिएको हो ।’

घटनामा प्रत्यक्ष रुपमा संलग्न १९ वर्षीय दिपेश पौडेल र तेह्रथुमका २३ वर्षीय प्रकाश भनिने चिरञ्जीवी ओलीलाई भने देवले रकम दिएका थिएनन् ।

‘आफ्नै ज्वलर्समा कार्यरत् उनीहरुलाई देवले घटना सेटल भएपछि रकम दिने आवश्सन दिएका थिए’, ती प्रहरी अधिकारीले भने, ‘चारले जम्मा २५ लाख रुपैयाँ मागेको देखिन्छ ।’

रेडबुलमा हाइअल्कोहल र क्लोरोफम मिसाएर साजनलाई खुवाएर बेहोस बनार्इ हत्या गरिएको अनुसन्धानले देखाएको छ

‘ईर्ष्या नै हत्याको कारण’

जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विष्णुकुमार केसीका अनुसार साजन हत्याको मुख्या कारण ईर्ष्या नै हो ।

‘बिर्तामोडमा रहेको साजनको दावा ज्वलर्सको आम्दानी दिन प्रतिदिन बढ्दै थियो । त्यस अनुपातमा देवको बढेको थिएन’, केसी भन्छन्, ‘छोटो समयमा साजनले हाँसिल गरेको उचाई र उसको व्यापारमा आएको गिरावट नै हत्याको कारण भएको देखिएको छ ।’

साजनको हत्यापछि उसको कारोबार आफूले आफ्नो हातमा आउने सोचाइले देवले हत्या गरेको देखिएको प्रहरी बताउँछ । उनीहरुबीच आर्थिक लेनदेन पनि रहेको प्रहरीको भनाइ छ ।

हत्या योजना अनुसार चार जनाले २० फागुनमा साजनलाई सुन किन्ने बहानामा बिर्तामोडको एभरेष्ट बैंक नजिक बोलाएका थिए । त्यहाँ उनीहरुले रेडबुलमा हाइअल्कोहल र क्लोरोफम मिसाएर साजनलाई खुवाएर बेहोस बनाएको अनुसन्धानले देखाएको छ ।

उनी बेहोस भएपछि कार्टुन बाँध्न प्रयोग हुने प्लाष्टिकको चोया र डोरीले उनको हात बाँधेर कुटपिट गरेको देखिएको छ ।

हत्यापछि उनको शवलाई ठेगान लगाउन देवको समूहले साजनको शवलाई जुटको बोरामा हालेर इलामतर्फ लगेका थिए ।

उनीहरुले मेची सडकखण्ड अन्तर्गत इलामको रोङ नगरपालिका–३, कोल्बुङ, अर्यालचोक नजिक रहेको ठाडो भिरमा लगेर उनको शवसहितको बोह्रालाई लडाएका थिए ।

अनुसन्धानका क्रममा अपहरणमा पर्नुअघि पारस र चिरञ्जीवीले नयाँ नम्बरबाट पटकपटक सम्वाद गरेको पाइएपछि उनीहरुतिरै अनुसन्धान सोझिएको थियो ।

इलाका प्रहरी कार्यालय, बिर्तामोडका प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्ण कोइरालाका अनुसार पक्राउ परेका चारै जनाविरुद्ध मानव अपहरण तथा शरिर बन्धक, खुनडाँका र संगठित अपराध अन्तरगत मुद्दा चलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment