Comments Add Comment

‘छक्का पन्जा २’ र ‘सत्रु गते’ यसकारण गरेनन् प्रदिपले, ‘रोजी’ के गर्लान् ?


नायक प्रदिप खड्का अहिले चलचित्र ‘लिलिबिली’को प्रचारमा दौडिरहेका छन् । यो चलचित्रको सफलतासँगै प्रदिप खड्काको स्टारडम पनि चलचित्र क्षेत्रका बढेको छ । प्रदिप चलचित्र खेल्ने कुरामा निकै चुजी छन् । उनलाई चलचित्रमा काम गराउन त्यती सजिलो छैन । कथावस्तु, भूमिका, नायिकादेखि हरेक कुरा हेरेर मात्र उनी चलचित्र खेल्ने वा नखेल्ने निर्णय गर्छन् ।

प्रदिपले गतबर्षका २ ब्लकबस्टर चलचित्रको अफर अस्विकार गरे । चलचित्र ‘छक्का पन्जा २ र सत्रु गते’को टिमले प्रदिपलाई अफर गरेको थियो । तर, यी दुबै चलचित्रमा उनले काम गरेनन् । आखिर, हाँस्य कलाकारहरुको समुहबाट किन प्रदिप टाढा हुन खोजिरहेका छन् ?

क्लाइमेक्स नभनेकाले ‘छक्का पन्जा २’ गरिन
नायक प्रदिप खड्काले अनलाइनखबरसँग कुरा गर्दै भने-‘छक्का पन्जा २ का लागि निर्माता तथा कलाकार दीपकराज गिरी दाइसँग कुरा भएको थियो । तर, उहाँहरुले मलाई क्लाइमेक्सको कथा सुनाउन नमिल्ने बताएपछि मैले गरिनँ ।’

प्रदिपका अनुसार, चलचित्रको क्लाइमेक्सको स्क्रीप्ट दीपकराजले दिन नमिल्ने बताएपछि उनले यो चलचित्र गरेनन् । यो चलचित्रमा उनलाई मुख्य भूमिकाकै लागि अफर गरिएको थियो । प्रदिपले अगाडि भने-‘आफ्नो भूमिका अन्तिमसम्म के हुन्छ भन्ने नवुझिकन चलचित्र नगर्ने कुरा पनि भएन । अन्तिममा मेरो भूमिका के हुन्छ भन्ने त वुझ्न पर्‍यो नी होइन र ?’

प्रदिपले चलचित्रको क्लाइमेक्स नपाउने भएपछि नगरेको बताउँदै गर्दा चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले यो कुरा स्विकार गरे । उनले भने-‘हामीले चलचित्रको सबै कथा कलाकारलाई सुनाउँदैनौ । किनकी, पाँचौ सिनमा मर्नुपर्ने दृश्य छ भने कलाकार चौथो सिनदेखि नै मर्न थाल्छ ।’ उनले, आफूले कहिले पनि चलचित्रको पुरै कथा कलाकारलाई सुनाउने नगरेको बताए ।

‘सत्रु गते’ किन गरेनन् ?
नायक प्रदिप खड्काले चलचित्र ‘सत्रु गते’मा पनि काम गरेनन् । चलचित्रका निर्माता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नै उनीसँग कुरा गर्न खोजेका थिए । तर, कुरा हुन सकेन । प्रदिपले भने-‘मलाई उहाँहरुले सम्पर्क गर्न खोज्नुभएको रहेछ । तर, मैले थाहा नै पाइनँ । यस्तै, मलाई मोबाइलमा पनि फोन गर्नुभएको थियो, तर मैले मोबाइल नम्बर परिवर्तन गरेकाले कुरा हुन पाएन ।’

प्रदिपसँग कुरा हुन नसकेपछि यो चलचित्रको निर्माणपक्षले पल शाहलाई अफर गरेको थियो, जुन अफरलाई पलले स्विकार गरे ।

‘रोजी’ के गर्छन् ?
नायक प्रदिप खड्काले अहिले चलचित्र ‘रोजी’मा काम गर्ने चर्चा चलिरहेको छ । तर, प्रदिप अहिले नै यो चलचित्रमा काम गर्ने पक्का नभएको बताउँछन् । चलचित्रमा, जुन नायिकाको नाम अहिले चर्चामा छ, त्यसो भएको खण्डमा आफूले नगर्ने उनले बताए । प्रदिपले भने-‘चलचित्रमा मिस नेपाल जस्तो नायिका चाहिन्छ । यसैले, मैले उहाँहरुलाई त्यो लुक्सको नायिका खोज्न भनिरहेको छु । सबै कुरा मिल्यो भने गर्छु, नत्र गर्दिनँ ।’

प्रदिपले साउनमा चलचित्र ‘भैरवी’मा काम गर्ने बताए । यदि, त्यो अगाडि चलचित्र ‘रोजी’मा काम नगरे निर्माता सन्तोष सेनसँग मिलेर कमेडी चलचित्रमा काम गर्ने प्रदिपको तयारी छ । अहिले, यसको तयारी बेजोडले भैरहेको समेत प्रदिपले जानकारी दिए । प्रदिपले सन्तोषको ब्यानरमा ‘प्रेमगीत र प्रेमगीत २’मा काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment