Comments Add Comment

पाइलटविनाको चिनियाँ जहाज बुझ्दै पर्यटनमन्त्रीले भने-सय दिनभित्र उड्नुपर्छ


४ वैशाख, काठमाडौं । चीनले पछिल्लोपटक भित्रिएका २ वटा वाई-१२ ई विमान सरकारलाई हस्तान्तरण गरेको छ । नेपाल वायु सेवा निगमका लागि चीनबाट विमान आएको अढाई महिनापछि हस्तान्तरण भएको हो ।

चिनियाँ राजदूत यु होङबाट विमान बुझ्दै पर्यटनमन्त्री रबिन्द्र अधिकारीले अबको सय दिनभित्र सबै चिनियाँ जहाज उडिसक्नुपर्ने बताए । ‘सबै समस्या समाधान भएर सय दिनभित्र चिनियाँ जहाज उडिसक्नुपर्छ,’ अधिकारीले भने,’पाइलट अभाव छ भने त्यसलाई समाधान गर्न नेपाली युवालाई छात्रवृत्तिमा चीनमा तालिम दिनुपर्छ ।’

अहिले निगमका ४ वटा चिनियाँ जहाज वाई-१२ यतिबेला उडान नै नभरी त्रिभुवन विमानस्थलमै ग्राउण्डिङ भएका छन् । ४ वटा बिमान भएपनि उडाउन एक जनामात्रै पाइलट छन् । एक जना बिरमी विदामा छन् ।

आन्तरिक उडान भर्नुपर्नेे यी ४ वटै जहाज झण्डै ७० दिनदेखि विमानस्थलमै थन्किँदा निगमलाई ठूलो आर्थिक क्षति पुगेको छ ।
पर्यटनमन्त्री अधिकारीले चिनियाँ विमानहरुले एक प्रदेशबाट अर्को प्रदेशमा उडान भरेर सेवा दिनुपर्ने बताए । निगमले चीनबाटै ३ जना पाइलट ल्याउन लागेको छ । निगमलाई अंग्रेजी भाषा राम्रो भएका पाइलटहरु आवश्यक छ ।

चीनमा आन्तरिक उडान गर्ने थोरै मात्रै पाइलटहरुको अंग्रेजी राम्रो भएकाले निगमलाई समस्या परेको छ । अहिले निगमले मासिक ८ हजार डलर तलब दिने गरी पाइलट ल्याउन अन्तिम तयारी गरिरहेको छ ।


आज हस्तान्तरण भएका विमान फागुनको पहिलो साता त्रिभुवन विमानस्थल आइपुगेका थिए ।

दुईवटा चिनियाँ जहाजलाई नै पाइलट अभाव भएकै बेलामा निगमले कुनै व्यवस्थापन नै नगरी थप दुईवटा जहाज ल्याएको थियो । ०६९ सालमा नेपाल र चीनबीच सरकारीस्तरमा भएको सम्झौताअनुसार चीनबाट ६ वटा जहाज ल्याइएको हो ।

जुन निगमका लागि घाँडो मात्रै भएका छैनन् । दिनहुँ लाखौं रुपैयाँ कमाउनुपर्ने जहाजलाई थन्क्याएर राखिँदा निगमलाई ठूलो घाटा भइरहेको छ ।

चिनियाँ जहाजको बीमा शुल्कसमेत अन्यको तुलनामा बढी तिर्नुपर्छ । जसले गर्दा चिनियाँ जहाजका कारण निगमले आर्थिक नोक्सानी खेप्नु परेको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment