Comments Add Comment

वीरगञ्जमा पुगेर बोर्डले भन्योः चनाखो भएर सेयर कारोबार गर्नु

४ वैशाख, वीरगञ्ज । सेयर कारोबार गर्दा लगानीकर्ता नै चनाखो हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बजारको अवस्थाको बारेमा कसैले अनुमान लगाउन नसक्ने बताउँदै सरोकारवालाहरुले कम्पनीको वित्तीय विवरण, सञ्चालक समिति लगायत सबै कुरा बुझेर मात्र लगानी गर्न सुझाव दिए ।

वीरगञ्जमा मंगलबार आयोजित पूँजी बजार सम्बन्धी जनचेतना अभिवृद्धि तथा प्रशिक्षण तथा अन्र्तक्रिया कार्यक्रममा यस्तो धारणा राखेका हुन् । नेपाल धितोपत्र बोर्ड र वीरगञ्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो ।

ठूला लगानी कर्तालाई मात्रै सेयरपर्ने गरेको, लगानी गर्ने चाहना हुँदा हुँदै पनि सेयर नपर्ने गरेको, बोर्डले स्वीकृति दिएर पूँजी बजारमा आएको कम्पनी भाग्दा पनि क्षतिपूर्ति नपाएको, बजार एक्कासी बढ्ने र घट्ने गरेको लगायतका विविध विषयमा सहभागीहरुले जिज्ञासा राखेका थिए ।
धितोपत्र बोर्डका कार्यकारी अध्यक्ष डा.रेवत बहादुर कार्कीले पहिले भन्दा पूँजी बजारमा धेरै कुरामा सुधार भएकोे बताए ।

कार्कीले भने,‘सेयरका लागि लाईन बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ, डिम्याट खाता खोलेर बैंकमा भएको रकम सिधै सेयरमा लगानी गर्न सकिन्छ ।’  उनले लगानीकर्ताहरुले बुझेर सेयर कारोबार नगरी हल्लाको पछि लाग्दा भने विविध समस्या आउने गरेको बताए ।

वीरगञ्ज महानगरपालिका कार्यालयका प्रमुख विजय कुमार सरावगीले ठूला लगानीकर्ताले पूँजी बजारलाई चलाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । उनले पूँजी बजारमा देखिएको समस्या समाधान गरेर नयाँ लगानीकर्तालाई आर्कषित गर्न सक्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोर्डका उप निर्देशक नारायण प्रसाद शर्माले धितोपत्र बजार तथा बस्तु बजारका विविध आयामहरुको बारेमा जानकारी दिँदै क्यापिटल मार्केटमा ठूला ठूला उद्योगहरुलाई ल्याउन नसकिएको बताए । ‘वीरगञ्जलाई औद्योगिक क्षेत्रको रुपमा परिभाषित गरेका छौं, तर यहाँका उद्योगलाई क्यापिटल मार्केटमा ल्याउन नसकेको अवस्था छ,’ उनले भने ।

वीरगञ्ज उद्योग वाणिज्य संघका कार्यबहाक अध्यक्ष गोपाल केडियाले पछिल्लो समयमा वीरगञ्जमा सेयरको कारोबार प्रति आकर्षण बढ्दै गएको देखेर लगानीकर्तालाई सचेत बनाउन बोर्डसँगको सहकार्यमा अन्र्तक्रियाको आयोजना गरिएको बताए ।

वीरगञ्जबाट हाल ५६ नम्बरको ब्रोकर कम्पनी नासा सेक्युरिटिज र १६ नम्बरको प्राईमोले सेयरकारोबारको सुविधा दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment