Comments Add Comment

एमाले-माओवादी एकता टर्दैनः माधवकुमार नेपाल

५ वैशाख, बर्दिवास । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एमाले-माओवादीबीचको एकता अब कसैको इच्छा र लहडले नटर्ने बताएका छन् ।

महोत्तरीको बर्दिवासमा बुधबार एमाले बर्दिवास नगर कमिटीले आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था र कार्यभार’ विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले अब बाहिरी शक्ति मात्र नभइ एमाले र माओवादी केन्द्रकै कुनै नेताको लहडले पनि एकता नटर्ने बताए ।

‘दुवै कम्युनिष्ट पार्टीबीच एकीकरणको कुरा अब घोषणा हुन् मात्र बाँकी छ’, उनले भने । दुवै पक्षका नेताहरुको व्यस्तताका कारण एकीकरणको कामले अपेक्षित गति लिन नसकेको उनको भनाइ थियो । वैशाखभित्रै एकीकरण घोषणा भइसक्ने उनले दाबी गरे ।

‘दुबै पक्षका कार्यकर्ता र जनता एकीकरण पर्खेर बसेका छन्’, नेपालले भने, ‘यो पर्खाइ अब खेर जाँदैन ।’

प्रदेश २ को विकास र समृद्धिका लागि वामगठबन्धन र वर्तमान सरकारले योजनाबद्ध काम थाल्ने नेता नेपालले बताए । ‘हामी निकट भविष्यमै प्रदेश नं २ मा बृहद् उद्यम भेलाको आयोजन गर्दैछौँ’, उनले भने । प्रदेश २ को विकासका लागि सङ्घीय सरकार प्रदेश सरकारसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको नेपालको भनाइ थियो ।

नेता नेपालले बर्दिवास-१४ स्थित राष्ट्रिय आधारभूत विद्यालय पुगेर आर्थिक रुपले कमजोर दुई बालबालिकालाई विद्यालय भर्ना गराई स्वेच्छिक अभिभावकत्व लिएका छन् ।

औरही-१ की सात वर्षीया सवनम खातुन र बर्दिवास-१४ का पाँच वर्षीय कृष्ण महराको अभिभावकत्व उनले लिएका हुन् । सबनम कक्षा एकमा तथा कृष्णलाई बाल कक्षामा भर्ना गरिएको छ  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment