Comments Add Comment

सुनकेसरीबारे ऋचा भन्छिन्ः हो, रिस्क मोलेकै हुँ

त्यसो त ऋचा शर्मा आजभोलि ‘कोहलपुर एक्सप्रेस’का कारण चर्चामा छिन् । सो फिल्ममा विवादित मोडल तिर्सना बुढाथोकीको हाउभाउमा पेश भएकी नायिका सञ्चारमाध्यममा पनि तिर्सनाको बयान गरेर थाकिरहेकी छैनन् । यसले ऋचाको इमेजलाई फाइदा नपुर्‍याए पनि फिल्मलाई भने फाइदै गरेको छ ।

यता ऋचा आफैंले निर्माण गरेको फिल्म ‘सुनकेसरी’ पनि पाइपलाइनमा छ । अहिले कोहलपुर एक्सप्रेसको दौडधुपले गर्दा उनले फिल्मको पब्लिसिटी थाल्न पाएकी छैनन् । हरर जनरामा बनेको फिल्मको ट्रेलर केही दिनअघि रिलिज गरिएको थियो । यसमा मिश्रति प्रतिक्रिया आएका छन् । कतिपयले हलिउड फिल्मको झलक आएको प्रतिक्रिया दिएका छन् भने कतिपयले खासै दम नभएको उल्लेख गरेका छन् ।

कोहलपुर एक्सप्रेस रिलिज भएलगत्तै आफू सुनकेसरीको पब्लिसिटीमा जुट्ने ऋचाले बताइन् । यसअघि ‘आधा लभ’ बनाएर धक्का खाएकी नायिका सुनकेसरीमा भने जसरी पनि सफल हुने दाउमा छिन् । नेपालमा हरर फिल्महरु त्यति बन्दैनन् । जति बनेका छन् ती पनि हाँस्यास्पद छन् । ऋचाले भने आफ्नो फिल्म विदेशी हरर फिल्महरुभन्दा कम नहुने दावी गरेकी छिन् ।

‘मैले कुनै पनि कुरामा सम्झौता नगरिकन अन्तर्राष्ट्रिय स्तरको फिल्म बनाएकी छु,’ ऋचा भन्छिन्, ‘सफल हुनेमा आशावादी छु ।’

त्यसो त आफूले छानेको विषयवस्तु व्यापारिक हिसाबले रिस्की रहेको उनलाई थाहा छ । अहिले प्राय कमेडी र लभस्टोरी फिल्महरु बाहूल्यता रहेको बेला उनको हरर फिल्मले कति दर्शक बटुल्न सफल हुने हो यसै भन्न सकिँदैन ।

ऋचा भन्छिन्, ‘हो मैले रिस्क मोलेको छु । तर, विदेशी हरर फिल्म हेरेर मनोरञ्जन लिने दर्शकलाई मेरो फिल्मले निराश पार्नेछैन ।’

नेपालमा अहिलेसम्म स्तरीय हरर फिल्म नबनेकाले नै आफूले यो जनरा रोजेको उनको भनाई छ ।

‘मलाई पनि धेरैले कमेडी जनरामा नै बनाउन सुझाव दिनुभएको थियो । तर सानो इन्डष्ट्री भए पनि सबै जनरालाई एक्सप्लोर गर्नुपर्छ भन्ने लाग्यो । विदेशी हरर फिल्महरुले नेपालीहरुको पैसा सोहोरिरहेका छन् भने त्यो पैसा हामीले नेपालमै किन नराख्ने ?’ ऋचा भन्छिन् ।

ऋचाले फिल्म निर्माणमा १ करोड खर्च भइसकेको बताइन् । पब्लिसिटीमा थप ४० लाख खर्चने उनको योजना छ । फिल्मको सम्पूर्ण सुटिङ अष्ट्रेृलियामा गरिएको छ ।

‘अहिले नेपाली फिल्मको होराइजन ठूलो भएको छ । देशभित्रका हलहरुमा मात्रै निर्भर नभएर डिजिटल राइट, ओभरसिज राइटबाट पनि पनि आम्दानी हुन्छ । त्यसैले लगानी डुब्ला भन्ने चिन्ता लागेको छैन । ब्लकबस्टर नभए पनि हिट त पक्कै हुन्छ ।’ ऋचाले भनिन् ।

सुनकेसरी ११ जेठमा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment