Comments Add Comment

समातिए युवा संघका नेता सुजु मल्लः आन्दोलन गर्ने, गोप्य सूचना मनोजलाई दिने

६ वैशाख, बुटवल । गुण्डा नाइके मनोज पुनको सुराकीको आरोपमा बुटवलका सुजु मल्ल पक्राउ परेका छन् ।

मल्ल एमाले भातृ संगठन युवा संघका केन्द्रीय सदस्य हुन् । युवासंघको केन्द्रीय समिति बैठकमा सहभागी हुन काठमाडौं गएका बेला उनलाई पक्राउ गरिएको हो ।

ठेकेदार समेत रहेका मल्ललाई रुपन्देही प्रहरीले बुधबार बेलुका पक्राउ गरेको हो । उनलाई आज भैहवा ल्याइने रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए ।

आन्दोलनको अगुवा गर्दै मनोजलाई सुराकी

मनोज पुन तीनै हुन्, जसले युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारी र नेता बसन्त पौडेल बलुको हत्या गरे । मनोज पनि प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

तर, मनोजको सुराकीका रुपमा युवा संघ र माओवादीका नेता नै रहेको खुलेको छ । मनोजको योजनामा ४ पुस २०७३ मा युवा संघका नेता तिवारीको हत्या भएको थियो । तिवारी हत्याको विरोधमा युवा संघले लगातार आन्दोलन गरेको थियो । आन्दोलनको अग्रपङ्तीमा मल्ल पनि हुन्थे ।

आन्दोलनमा उत्रिएर चर्का भाषण गर्ने उनी आन्दोलन टुंग्याउनका लागि दल र प्रहरी प्रशासनसँग हुने बैठकहरुमा पनि सहभागी हुन्थे । तर, बैठकमा आएका गोप्य सूचनाहरु मल्लले नै मनोज पुनलाई दिने गरेको प्रमाण फेला परेको रुपन्देही प्रहरी प्रमुख ज्ञवालीले बताए ।

त्यसपछि पनि मनोजको अपराध कर्ममा सघाउन भूमिका खेलेको पाइएको ज्ञवालीले बताए ।

प्रहरीले पुनको सुराकी भएको आरोवमा माओवादी नेता लेखनाथ न्यौपाने र युवा संघका जिल्ला नेता उत्तम आचार्य, देवदह-५ का तुलसी न्यौपाने, देवदह-६ का रोशन खड्का र बुटवल-४ बस्ने हरिप्रसाद श्रेष्ठलाई पक्राउ गरेको थियो ।

उनीहरूमाथि संगठित अपराध ऐनअन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

अनुसन्धान गर्दै जाँदा अन्य राजनीतिक नेतृत्व समेत तानिन सक्ने प्रहरीको अनुमान छ ।

तिवारीको हत्यामा संलग्न श्यामबहादुर गोङबे, शालिकराम चापागाई, पारस भट्टराई लगायत १८ जना थुनामा छन् छन् । उनीहरुमाथि संगठित अपराध ऐन अन्तरगत मुद्दा चलाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबरजस्ति चन्दा असुली, हात हतियार तथा खरखजाना अन्तर्गत पनि मुद्दा चलाइने प्रहरी उपरीक्षक ज्ञवालीले बताए ।

मनोज पुन र उनका विशेष सहयोगी सोम आले ९ फागुन ९ मा प्रहरीको इन्काउन्टरमा मारिएका छन् । पुनको सहयोगी रहेका एक भारतीय नागरिकसहित केही व्यक्ति अझै फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

मनोज पुनका सुराकी माओवादी र युथफोर्सका नेता !

गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए

मनोज पुनको अपराध यात्राः वाईसीएल, युथफोर्सदेखि अन्डरवर्ल्डसम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment