Comments Add Comment

क्यूबामा क्यास्ट्रो युग अन्त्य ! नयाँ नेतामा मिगेल चुनिए


६ वैशाख, काठमाडौं । क्यूबाको नयाँ नेताका रुपमा मिगेल डियाज कनेल चुनिएका छन् । देशको नयाँ नेताका लागि संसदमा भएको चुनावबाट मिगेल निर्वाचित भएका हुन् ।

कम्युनिस्ट पार्टीको बोलवाला रहेको क्यूबामा संसदबाट नेता छनोट गर्ने र राष्ट्रियसभाबाट राष्ट्रपति चुन्ने प्रचलन छ ।

अब त्यहाँको राष्ट्रियसभाले निर्वाचनको प्रक्रिया पूरा गरेसँगै कनेल औपचारिक रुपमा राष्ट्रपतिमा चुनिने छन् ।

क्यूबाका राष्ट्रपति राउल क्यास्ट्रोका दाहिने हातका रुपमा लिइने कनेललाई अघि सारेपछि यसलाई क्युवामा क्यास्ट्रो वंशको अन्त्यका रुपमा चित्रण गरिएको छ ।

वंश परम्पराको अन्त्य गराएका राउल क्यास्ट्रो पार्टीको एक प्रभावशाली नेताका रुपमा रहने अनुमान गरिएको छ । बताइए अनुसार, उनी कम्युनिस्ट पार्टीको अर्को महाधिवेशनसम्म प्रमुखका रुपमा रहनेछन् । कम्युनिस्ट पार्टीको अर्को महाधिवेशन सन् २०२१ मा हुनेछ ।

राउल सन् २००६ मा दाजु फिडेल क्यास्ट्रो अस्वस्थ भएपछि उनको स्थान लिन सफल भएका थिए । फिडेलको ९० वर्षको उमेरमा सन् २०१६ मा निधन भइसकेको छ ।

बीबीसीका अनुसार अर्थव्यवस्थालाई सुदृढ पार्नु र युवाहरुलाई परिवर्तनमा सहभागी गराउनु कनेलको मुख्य चुनौती हुनेछ ।

काे हुन् मिगेल ?

सन् २०१३ मा उपराष्ट्रपति बन्नुअघि सम्म कनेल खासै चर्चामा थिएनन् । उपराष्ट्रपति बनेसँगै ५७ वर्षीय कनेलको ख्याति ह्वात्तै चुलियो ।

फिडेल क्यास्ट्रो र उनका भाइ राउल क्यास्ट्रोसँग लामो क्रान्तिकारी इतिहास छ । तर मिगेलसँग त्यस्तो इतिहास छैन । त्यसैले उनका लागि नेतृत्व कठिन हुनसक्ने अनुमान कतिपयले गरेका छन् ।

मिगेलको जन्म अप्रिल १९६० मा भएको थियो । त्यसको एक वर्ष पहिले युवा फिडेल क्यास्ट्रो क्युवाको प्रधानमन्त्री बनेका थिए ।

मिगेल इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गरेका छन् । एक स्थानीय विश्वविद्यालयमा इन्जिनियरिङ विषय उनले पढाउने गर्दथे । युवा अवस्थामै योङ्ग कम्युनिस्ट लिगमा आवद्ध भएका उनले सान्टा क्लारामा युवाअवस्थामा आफ्नो राजनीतिक जीवन सुरु गरेका थिए । ३३ वर्षको उमेर मै उनी योङ्ग कम्युनिस्ट लिगको सचिव चुनिएका थिए ।

राउल क्यास्ट्रोले मिगेलको वैचारिक क्षमताको तारीफ गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment