Comments Add Comment

जितगढी किल्लाको मुहार फेरिदै, उपमहानगरपालिकाले गर्दैछ ५० लाख लगानी

घरहरुमा एउटै रंग लगाइने


६ वैशाख, बुटवल । बुटवल उपमहानगरपालिकाले नेपाली फौजले अंग्रेज फौजलाई हराएको बुटवलको ऐतिहासिक जितगढी किल्लामा विजय उत्सव दिवस मनाउने भएको छ ।

जितगढीमा विजय प्राप्त गरेको २०३ वर्ष पुगेको अवसरमा उपमहानगरपालिकाले विजय उत्सव मनाउने जितगढीमा हालसम्मकै ठूलो राष्ट्रिय झण्डा र कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक राख्ने भएको छ ।

जितगढी क्षेत्र रहेको उपमहानगरपालिकाको वडा नंं १ र २ का घरहरुमा एकै रंग लगाइने र वस्तीलाई पुरातात्विक क्षेत्रको रुपमा विकास गर्न उपमहानगरपालिकाले ५० लाख रुपैयाँ बिनियोजन गरेको छ ।

‘जितगढी नेपालको विजय संगै राष्ट्रिय एकताको पनि प्रतिक भएकाले यहाँ अहिलेसम्मकै ठूलो राष्ट्रिय झण्डा चौबिसै घण्टा फहराउने गरी राखिने छ भने कर्णेल उजिर सिंहको पूर्ण कदको शालिक पनि राखिनेछ’ नगर प्रमुख शिवराज सुवेदीले भने ‘अहिले उजिरसिंहको उत्तर तर्फ फर्केको अर्धकदको शालिक छ अब दक्षिणतर्फ फर्केको पूर्ण कदको बन्छ ।’

जितगढीलाई प्रदेशको मात्र नभई देशकै पर्यटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्यसहित ठूलो राष्ट्रिय झण्डा र उजिरसिंहको पूर्ण कदको शालिक राख्न लागिएको उनले बताए ।

जितगढी विजय उत्सवको अवसरमा भोलि वैशाख ७ गते उजिरसिंहको पालाको जस्तै पोशाकमा नेपाली सेनाको टोलीसहित पञ्चेबाजा र शोभा कलश यात्रासहित प्रभातफेरि निकालिने छ ।

दिउँसो जितगढी किल्ला पुगेर झण्डोत्तोलन गरिने र मूल समारोह गरिने प्रमुख सुवेदीले बताए । जितगढीको सामरिक महत्वबारे बेलायत सरकारसंग समन्वय गरी बेलायती नागरिकलाई नेपाल भ्रमणका अवसरमा जितगढी किल्लासम्म ल्याउन पहल गर्ने उपमहानगरपालिकाको योजना छ ।

जितगढीमा १८७२ सालमा वैशाख ७ गते भएको लडाईंमा नेपालसंग हारेपछि अंग्रेज सेना नेपालबाटै फर्किएको इतिहास छ । सोही दिन (वैैशाख ७ गते) लाई विजय उत्सव दिवसका रुपमा बुटवल उपमहानगरपालिकाले मनाउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment