Comments Add Comment

नेपाललाई बढी हुने बिजुली किन्न भारत सकारात्मक


६ वैशाख, काठमाडौं । भारतले नेपालको बिजुली खरिद गर्ने संकेत देखाएको छ । आफ्नो लगानी रहेकाबाहेकका आयोजनाबाट बिजुली नकिन्ने निर्णय गरेको भारतले नेपालबाट वर्षायाममा बढी हुने बिजुली किन्न सकिने जनाउ दिएको छ ।

हालै भएको ऊर्जासचिव स्तरिय संयुक्त ऊर्जा समिति बैठकमा भारतले नेपालबाट विद्युत किन्नेबारे भारतले सकारात्मक प्रतिक्रिया दिएको हो । उसले त्यसका लागि आफ्नो अन्दरदेशीय विद्यत ब्यापार निर्देशिका र नियमावली पुनरावलोकन भइरहेको जानकारी नेपाली पक्षलाई दिएको छ ।

छिमेकी मुलुकहरूले दिएको सुझावका आधारमा यो निर्देशिका परिमार्जन गर्ने गरी काम भइरहेको जानकारी भारतले दिएको बैठकमा सहभागी नेपाल विद्युत प्राधिकरणका विद्युत ब्यापार विभाग प्रमुख तथा प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

सो निर्देशिमामार्फत भारतीय लगानी भएका आयोजनाबाट मात्रै बिजुली किन्ने विषय बाहिर ल्याएको थियो । त्यसले नेपालमा उत्पादन हुने विजुली भारत पुग्ने बाटो बन्द हुने अवस्था थियो । सरकारकको निरन्तरको पहलपछि नेपालमा वर्षायाममा बढी हुने विजुली किनेर लैजान सहमति जनाएको हो ।

भारतको यस्तो निर्णयले विदेशी लगानीकर्ता र स्वतन्त्र ऊर्जा उत्पादकलाई आयोजना अघि बढाउन अन्योल भएको थियो । ऊर्जा सचिव अनुपकुमार उपाध्यायले नेतृत्व गरेको नेपाली प्रतिनिधि मण्डलसँगको भेटमा भारतीय विद्युत मन्त्री आरके सिंहले नेपालमा खेर जाने विजुली आफुहरु किन्न तयार रहेको बताएका छन् ।

उनले नेपालले प्रस्ताव गरेको इनर्जी बैंकिङ कार्यान्यवनमा आए भारतको विद्युत प्रणालीको सुन्तुलनमा महत्वपूर्ण योगदान पुग्ने बताएका हुन् ।

बैठकमा भारतीय विद्युत मन्त्रालयका सचिव एके भल्लाले पनि आफ्नो प्रणालीका लागि नेपालबाट आउने बिजुली सहयोगी हुने अपेक्षा व्यक्त गरेका थिए । बैठकमा भारतीय पक्षले केही वर्ष पछि नेपालले विद्युत निर्यात गर्न सक्ने विषयलाई स्वीकारेको छ ।

अहिले नेपालमा निजी क्षेत्रबाट ६ हजार मेगावाट बराबरको आयोजना पाइपलाइनमा छन् । विद्युत प्राधिकरण र उसका सहायक कम्पनीअन्तरगत ७२६ तथा स्वतनत्र ऊर्जा उत्पादकका १५ सय ९४ मेगावाटका आयोजना निर्माणका चरणमा छन् ।

बैठकमा भारत ऊर्जा बैंकिङ कार्यान्यवनका लागि अघि बड्न पनि सहमत भएको छ । वर्षमा नेपालमा खपत नहुने बिजुली भारत लैजान र हिउँदमा नेपालमा भारतबाट बिजुली ल्याउने गरी गरिएको प्रस्तावमा भारतको केन्द्रीय विद्युत प्राधिकरणले सहमति जनाएको छ ।

यसका लागि थप अध्ययन आवश्यक देखिएको छ । नेपालमा कुन परिमाणमा बिजुली बढी हुने र भारतबाट कतिसम्म ल्याउनुपर्ने हो भन्नेबारे अध्ययन भएपछि मात्रै इनर्जी बैकिङ कार्यान्यवन हुने बताइएको छ । अर्को सचिव स्तरीय बैठकमा दुबै दशेका प्राधिकरणले यसबारे प्रतिवेदन बुझाउने ऊर्जा मन्त्रालयले जानकारी दिएको छ ।

अहिले नेपालमा ४५६ मेगावाटको तामाकोशी जजविद्युत आयोजनाको निर्माणको काम अन्तिम चरण्मा छ । र, यो बनेपछि वषर्ायाममा नेपालबाट भारतमा बिजुली निर्यात गर्न सकिने अवस्था आउने विश्वास छ ।

यसैगरी बैठको ४ सय केभी क्षमताको बुटवल-गोरखपुर अन्तरदेशीय प्रशारणलाइन निर्माणका लागि ३ महिनाभित्र प्रशारण शल्क र लगानीको मोडालिटी टुंग्याउन दुबै देश सहमत भएका छन् ।

बैठकले कुसाह-कटैया र परवानीपुर-रक्सौल १३२ केभी प्रसारणलाइनलाई विस्तार गरी दोहोरो सर्किटमा रुपान्तरण गर्ने निर्णय पनि गरेको छ । दुबै प्रशारणलाइनबाट अहिले नेपालले बिजुली ल्याइरहेको छ ।

भारतले टनकपुरमा अहिले ५० एमभीएमा रहेको ट्रान्सर्फमरलाई सय एमभीएमा विस्तार गर्न पनि सहमति जनाएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment