Comments Add Comment

‘प्रचण्डलाई महाधिवेशनपछि अध्यक्ष लेखेर दिन सकिन्न’

'प्रचण्डले भनिसक्नुभएको छ, ओलीको कार्यकाल ५ वर्ष'

६ वैशाख, काठमाडौं । स्थानीय तहको चुनावमा एमाले र माओवादीबीच एकले अर्कोलाई सिध्याउन हदैसम्मका हर्कत चलिरहेका बेला दुई पार्टी मिलेर जाने प्रस्ताव बोकेर प्रचण्डनिवास पुगेका थिए एमाले नेता विष्णु पौडेल ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको दूतका रुपमा पौडेल र प्रचण्डको दूतका रुपमा जनार्दन शर्माले दर्जनौंपटक एकताको छलफल चलाएका थिए ।

एमाले-माओवादी एकताका सूत्रधारका रुपमा चिनिएका एमाले उपमहासचिव पौडेल चर्चामा कम आउने तर भित्रभित्रै ठूला र निर्णायक पहल गर्ने नेताका रुपमा चिनिन्छन् । 

एमालेको नवौं महाधिवेशनमा ओली र बामदेवलाई मिलाउन सूत्रधारको भूमिका खेलेका पौडेल पछिल्लो समय ओली र माधव नेपाललाई मिलाउन सक्रिय भए । त्यसो त ओली र प्रचण्ड मिलाउने सूत्रधार पनि यिनै हुन् ।

पूर्वअर्थमन्त्री पौडेल अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुसँग समदूरीमा रहन सक्ने नेता भएकाले एमालेभित्र उनी निर्णायक मानिन्छन् । करिब एक महिनाअघि उनको निवासमा पुगेर अनौपचारिक कुरा गर्दा पार्टी एकता जटिल मोडमा पुगेको संकेत दिएका थिए । मिल्नुपर्ने कुरा सबै मिले पनि अदृश्य कुराले पार्टी एकतामा अवरोध ल्याउन सक्ने उनको आशंका अहिले आएर सही सावित हुन खोज्दैछ ।

अहिले पार्टी एकीकरण गर्नुअघि प्रचण्डले आफ्नो भावी हैसियत प्रष्ट हुनुपर्ने शर्त एमाले नेतृत्वसमक्ष राखेका छन् । पार्टी एकीकरण अभियानमा शुरुदेखि नै संलग्न रहेका एमाले नेता पौडेलसँग हामीले बिहीबार भेटेर पछिल्लो विकासक्रमबारे बुझ्ने प्रयास गर्‍यौं ।

पौडेलले प्रष्टै त भनेनन् तर प्रचण्डमा कहिँ न कहिँ आशंका रहेको स्वीकार गरे । तैपनि प्रचण्डलाई अहिले नै दुई वर्षपछिको अध्यक्ष ग्यारेन्टी गरेर पार्टी एकता नहुने पौडेलले प्रष्ट पारे ।

प्रस्तुत छ, एमाले उपमहासचिव पौडेलसँग पछिल्लो विकासक्रमबारे अनलाइनखबरले गरेको कुराकानी :

तपाई एमाले-माओवादी एकताप्रक्रियाको सूत्रधार हो, सबैभन्दा जटिल हुनुपर्ने चुनावी तालमेल जति सहज भयो, सबै कुरा मिलेर पनि एकीकरणचाहिँ जटिल बन्यो, खास कारण के हो ?

ठ्याक्कै त्यस्तो होइन । चुनावका बेला पनि अब सहमति नहुने भयो भत्कियो भन्ने भएपछि अब एकपटक अन्तिम कोशिस गरौं भनेर दशैंको टीका लगाउने अघिल्लो साँझ दुईजना अध्यक्षलाई भेटाएका थियौं । चुनावमा मिलेर जाने भनेर त्यो दिन सहमति भयो ।

त्यो दिन दुई नेताका बीचमा लिखित सहमति भएको हो, तर त्यसलाई हामीले बाहिर ल्याएनौं । तर अब लुकाइरहनु परेन कि त्यो लिखित सहमतिमा चुनाव चिन्ह सूर्य लिएर लड्ने र पार्टी एकता गर्ने भन्ने उल्लेख गरिएको थियो । दुवै अध्यक्षले हस्त्ााक्षर गर्नुभएको थियो ।

त्यसपछि असोज १७ गतेसम्म हामी त्यही सहमति कार्यन्वयन गर्न लाग्यौं, तर यसबीचमा कठिनाइ आए । सूर्य चिन्ह लिने सहमतिबाट कमरेड प्रचण्ड पछि हट्नुभयो ।

अब लुकाइरहनु परेन कि लिखित सहमतिमा चुनाव चिन्ह सूर्य लिएर लड्ने र पार्टी एकता गर्ने भन्ने उल्लेख गरिएको थियो । तर, कमरेड प्रचण्ड पछि हट्नुभयो ।

यद्यपि उहाँले सूर्य चिन्हबाट चुनाव लड्ने सहमतिबाट पछि हट्नुका केही कारण बताए पनि ती कारणमा पत्याउने आधार थिएनन् । तर हामी पछि नयाँ सहमतिसहित चुनावमा गयौं । चुनावमा मिल्ने सहमति पनि ओभरनाइट सहजै भएको थिएन, धेरै अभ्यासहरु भएका थिए ।

यसपटक पार्टी एकताका सन्दर्भमा, हामीले पार्टी एकता गर्ने भनेर जनताबीच गरेको साझा प्रतिवद्धता हो । पार्टी एकता नगर्ने हो थियो भने त्यहीबेला भन्नुपथ्र्यो । गर्ने भनेपछि पछि हट्ने वा टार्ने कुरा हुँदैन । यसमा कुनै इफ, बट, किन्तु, परन्तु, तापनि कुनै कुरा भनेर भाग्न पाइँदैन ।

तर, वैशाख ९ गते एकीकरण गर्ने भनेर पटक-पटक गरिएका निर्णय त लागू भएनन् नि ? कम्युनिस्ट नेताहरु धेरै भूमिका बाँधेर कुरा गर्छन्, तपाई प्रष्ट भन्नुस् के कुराले वैशाख ९ टर्‍यो ?

नौ गते नहुनुपर्ने म कुनै कारण देख्दिनँ । आज पनि हामी ९ गतेअघि नै छौं । यो बीचमा पनि एकताको निम्ति समय खर्च गर्ने हो भने एकीकरण सम्भव छ ।

म आफैं पनि अचम्मित छु । म मेरो अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई र माओवादी अध्यक्ष कमरेड प्रचण्डलाई सोध्न चाहान्छु- एकता गर्ने हो कि होइन ? एकता गर्ने सार्वजनिक प्रतिवद्धताबाट तपाईहरु पछि हटेको हो कि होइन ? यसको जवाफ तपाईहरुले दिनुपर्छ ।

अहिले एकता नगर्नुपर्ने कुनै कारण छैन । मुख्य मुद्दामा टुंगो भइसकेको छ । सिद्धान्तमा, विचारमा वा नीतिमा कुनै समस्या छैन । संगठनात्मक सन्दर्भमा पनि मुख्य कुरा दुवैजना अध्यक्ष रहने, पालोपालो अध्यक्ष हुने सहमति भएको छ । अब एकताबाट पछि हट्नुपर्ने कारण देखिन्न ।

दुवैजना अध्यक्ष रहने भनिए पनि ओली प्रधानमन्त्री भएकाले प्रचण्डले कार्यकारी भूमिका पाउनुपर्ने भन्ने आयो नि ?

योचाहिँ एउटा सहमति गर्ने, त्यसपछि अर्को शर्त अघि सार्ने तरिकाले एकता प्रक्रिया सहजरुपमा अघि बढ्न गाह्रो हुन्छ । मेरो भनाइ के हो भने, दुई अध्यक्ष समान हैसियतमा रहने, पालोपालो अध्यक्षता गर्ने भनेपछि समान हैसियत भइगो, यसमा को कार्यकारी र को सेरेमोनियल भन्ने प्रश्नै छैन । 

तपाईहरुले प्रचण्डलाई विश्वासमा लिन नसकेको वा आश्वस्त पार्न नसकेको देखियो । प्रचण्ड अहिल्यै ओलीको कार्यशैलीबाट डराएका छन्, कम्तीमा साढे दुई वर्षपछि प्रधानमन्त्री र महाधिवेशनपछि अध्यक्षको लिखित सहमति वा ग्यारेन्टी नभएसम्म एकीकरण नहुने देखियो नि होइन ?

प्रधानमन्त्रीका सन्दर्भमा त स्वयं कमरेड प्रचण्डले भन्नुभएको छ- केपी ओली यो कार्यकालका लागि प्रधानमन्त्री रहनुहुन्छ, ५ वर्ष नै रहनुहुन्छ, बीचमा हेरफेर हुँदैन भनेर भनिसक्नुभएको छ । मिडियाबाटै हामीले यो प्रश्नको जवाफ पाएका छौं । त्यसैले प्रधानमन्त्री उहाँले बीचमा मागेको भन्ने कुरा मलाई पत्यार लाग्दैन ।

जहाँसम्म अध्यक्षको प्रश्न हो, महाधिवेशनबाट टुंगो लगाउने विषयमा कुनै एक व्यक्तिले फलानो अध्यक्ष हुनुहुन्छ भनेर लिखित वा मौखिक सहमति गर्न मिल्छ र ? भोलि आयोजना हुने महाधिवेशनको अधिकार कुनै एउटा व्यक्तिले खोसेर लिन पाउँछ ?

स्वयं कमरेड प्रचण्डले भन्नुभएको छ, केपी ओली ५ वर्ष नै प्रधानमन्त्री रहनुहुन्छ, बीचमा हेरफेर हुँदैन ।

एमाले अध्यक्ष केपी ओलीले (महाधिवशेनपछि) म तपाईलाई अध्यक्ष बनाउँछु भनेर कुनै लिखित वा मौखिकरुपमा प्रचण्डलाई भन्न सक्न्नुहुन्छ ?

अथवा प्रचण्डले त्यो कुरा भन्न सक्नुहुन्छ ? उहाँहरुले बढीमा के भन्न सक्नुहुन्छ भने- म अध्यक्षमा उठ्दिनँ, महाधिवेशनमा तपाईलाई सघाउँछु भन्न सक्नुहुन्छ ।

अहिल्यै तपाई अध्यक्ष भनेर कसैले लिखित वा मौखिक रुपमा दिन मिल्दैन । केपी ओलीले अहिले नै प्रचण्डलाई अध्यक्ष बनाउने कुरा लेखेर दिने वा ग्यारेन्टी गर्ने भन्ने हुन्न ।

प्रचण्डको अडानचाहिँ यी दुई कुराको ग्यारेन्टीसहित पार्टीमा ५०/५० को हैसियत हुनुपर्छ अनि जनयुद्ध एमालेले स्वीकार गर्नुपर्छर् भन्ने आयो नि ? यो नभए अर्को स्टेप लिन पनि सक्ने मान्छे हुँ भनेर उहाँले पछि फर्किने संकेत दिनुभएको हो ?

त्यो त को कस्ता हौं भन्ने हामी सबैले देखेकै छौं । हाम्रा राम्रा नराम्रा सबै ट्रयाक रेकर्ड मुलुकले देखेकै छ । इतिहासमा हाम्रा सबल र दुर्बल पक्ष के हुन् । उहाँजस्ता नेतालाई दुनियाँले बुझेकै छ । त्यसैले स्टेपका कुरा नगरौं । जनताले अग्रभागमा रहेका नेता को कस्ता भनेर चिनिसकेका छन् ।

जहाँसम्म एकताको विषय छ, दुई अध्यक्षबीच हुनुपर्ने छलफल, संयोजन समितिमा हुने छलफल त्यहाँ नगरेर मिडियामार्फत पोजिशन बनाउने कुरानै एकदम गलत हो । ५० प्रतिशत चाहिन्छ भने दुईटा अध्यक्ष बसेर कुरा गर्दा भयो नि । मिडियामा पोजिशन बनाउनुको तुक छैन ।

एमालेले सम्मानजनक एकता चाहेन भन्ने माओवादीको गुनासो हो कि ? जस्तै-जनयुद्धकै कुरा ….

एकता भनेकै सम्मानको विषय हो । तपाईले मलाई सम्मान गर्नुहुन्न भने, मैले तपाईलाई सम्मान गर्दिनँ भने एकता सम्भव छैन । जनयुद्धको कुराचाहिँ के भने, नेपालमा जनयुद्ध भयो कि भएन, माओवादीको १० वर्षे सशस्त्र विद्रोहलाई जनयुद्ध भन्ने कि नभन्ने सन्दर्भमा नेपाली राजनीतिमा विवाद छ र यो विवाद रहिरहन्छ ।

नेपालमा जनयुद्ध भयो कि भएन, माओवादीको दश वर्षे सशस्त्र विद्रोहलाई जनयुद्ध भन्ने कि नभन्ने नेपाली राजनीतिमा विवाद छ र यो विवाद रहिरहन्छ

एमालेले जनयुद्ध गरेको होइन र एमालेेले त्यो बाटो ठीक छ भनेको पनि होइन । एमालेले के ठान्छ भने माओवादीले जनयुद्ध भन्नुहुन्छ, जनयुद्धको शीर्षकमा त्यो इतिहासको यथार्थलाई एमालेले स्वीकार गरेको छ । त्यो सशस्त्र विद्रोह जनयुद्धका नाममा जुन सञ्चाालन गर्नुभयो, त्यो यथार्थलाई हामीले कहाँ राख्नुपर्ने हो, राख्छौं । उहाँहरुको कोलममा त्यो रहन्छ ।

त्यसोभए भन्दिनुस् त पार्टी एकता कहिले हुन्छ ?

तपाईले जुन प्रश्न मलाई सोध्नुभयो, यही प्रश्न मैले केपी ओली र प्रचण्डलाई सोधिरहेको छु । जनताका विरुद्ध उहाँहरुलाई धोका दिने अनुमति छैन । नमिल्ने छुट छैन ।

प्रष्ट भन्नुस कि पार्टी एकतामा ५०/५० हुन्छ कि हुन्न ? सूर्यचिन्ह रहन्छ कि रहन्न ?

सूर्य चिन्हमा विवाद हुन्छ भन्ने मलाई लाग्दैन । हिजो अलग-अलग पार्टीका हैसियतमा रहँदा पनि चुनावमा जाँदा सूर्य चिन्हमा जाउँ भनेर लिखित सहमति भएको हो । अहिले एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य राख्नहुन्न भनेर तर्क गर्नुहुन्छजस्तो लाग्दैन । म दोहोर्‍याएर भन्छु, चुनाव चिन्ह सूर्य हुन्छ ।

हेर्नुस् भिडियो कुराकानी : 

५०/५० को कुरा तपाईले मलाई प्रश्न सोध्ने र मैले जवाफ दिने कुरा नै होइन । मैले त भनेको छु, व्यक्तिको इतिहास, योगदान र कार्यक्षमता हेरौं । एउटा पार्टी बनाउने भएपछि त्यहाँ प्रतिशत हुँदैन । दुईटा पार्टी अलग-अलग राख्ने हो भने प्रतिशतको कुरा आउँछ ।

एउटा पार्टी भएपछि प्रतिशत रहँदैन । एउटा बाल्टीको पानीलाई छुट्याएर यो एमालेको यो माओवादीको भन्ने हुँदैन । एउटा बाल्टीमा मिसाएपछि यो एमालेको र यो माओवादीको भन्ने हुँदैन ।

अहिले प्रचण्डमा देखिएको आशंका चाहिँ प्रधानमन्त्रीका रुपमा ओलीले एकलौटी अहिल्यै गरिसक्नुभयो भने भोलि एउटै पार्टी हुँदा त मेरो निर्णायक पोजिशन नै नरहने पो हो कि भन्ने देखिन्छ नि ?

निर्णायक पोजिशन भनेको के ? हामीले पार्टी एकता गर्दा दुईजना अध्यक्ष रहनुहुन्छ भनेपछि त्यो हैसियत भयो कि हैसियतविहीन भयो ? उहाँलाई त्योभन्दा निर्णायक पोजिशन कस्तो चाहिएको हो ?

सरकार त संविधानबमोजिम चलाउने हो । प्रधानमन्त्रीले आज युनिटीभन्दा अगाडि संयुक्त सरकार चलाउँदा गठबन्धनको मुख्य नेतासँग आवश्यक विषयमा परामर्श गर्नैपर्छ । गर्नुभएको जस्तो पनि लाग्छ । गर्नुभएको छैन भने गर्नुपर्छ । तर, सरकार त संविधान र कानुनबमोजिम चल्छ । प्रधानमन्त्रीले परामर्श गरेनन् भनेर मिडियामा प्रचारबाजी गरेर के सन्देश दिन खोजेको ? यो त भएन ।

तपाई अहिले नै माधव नेपाल र केपी ओलीलाई मिलाउन लाग्नुभयो, यसो गर्दा भोलि प्रचण्डको निर्णायक पोजिशन कमजोर हुँदैन त ?

म एमालेका सबै नेता मिल्नुपर्छ भन्ने पक्षमा छु । माधव नेपाल र केपी ओली मिलाउने कुरा के भयो र ? म केपी ओली र प्रचण्ड मिलाउन हिँडेको मान्छे, ओली र माधव नेपाल झगडा गर्नुपर्छ भन्न सक्छु र ?

जहाँसम्म प्रचण्डको निर्णायक पोजिशनको कुरा हो, उहाँले धेरै अविश्वास र आशंका नराखेको राम्रो । एमाले भनेको संस्थागत निर्णयमा चल्ने पार्टी हो । यहाँ कोही पनि नेताको एकाधिकार चल्दैन ।

केपी ओली सातौं महाधिवेशनमा अध्यक्ष बन्न हिँडेको तर किन हो उहाँ पछि हट्नुभयो । आठौं महाधिवेशनमा उहाँ हार्नुभयो । यद्यपि त्यो महाधिवेशनका यावत दृश्यहरु छन्, त्यसको जवाफ अहिले पनि भेटिएका छैनन् ।

उहाँले पराजय स्वीकार गर्दै नवौं महाधिवेशनबाट अध्यक्ष हुनुभयो । भन्नुको मतलब, एमाले प्रक्रिया र पद्दतिबाट चल्ने पार्टी हो । कसैले पनि डराउनुपर्दैन ।

त्यसोभए अहिलेको अवस्थामा एकीकरणको बाधक केपी ओली हुन् कि प्रचण्ड ?

आदरणीय नेताहरुलाई म अनुरोध गर्न चाहान्छु- तपाईहरु एउटा पार्टी बनाउँदै हुनुहुन्छ । नेपालको कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउन चाहानुहुन्छ भने परस्पर विश्वासमा चल्नुस् ।

प्रधानमन्त्रीले संयुक्त सरकार चलाउँदा गठबन्धनका मुख्य नेतासँग आवश्यक विषयमा परामर्श गर्नैपर्छ । गर्नुभएको छैन भने गर्नुपर्छ

आशंका रहलान्, सम्पूर्णरुपमा आशंका अन्त नहोलान् । तर, मुख्यरुपमा विश्वासमा चल्नुस् । परस्पर विश्वासमा रहनुस् । आशंकाले कहिँ पनि पुर्‍याउँदैन । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड एकअर्कामा आशंका नराख्नुस् भन्ने आग्रह हो ।

फेरि पनि तपाई भन्दिनुस्, एकीकरण कहिले हुन्छ ? कि हुँदैन ?

म कारण खोजिरहेको छु कि ९ गते किन एकता भएन ? जब कि ९ गते एकता नहुनुपर्ने कुनै कारण छैन । तर, पनि नहुने त लगभग निश्चित देखियो । तपाईले एउटा टाइमलाइन निश्चित गर्नुभयो । नेकपाको स्थापना दिवस एकीकरण गरौं भनेर मैले पनि शुरुदेखि नै भनेको हो । हामी दुवै कार्यदलले पनि एउटै सुझाव दिएका थियौं ।

वैशाख ९ गते पार्टी एकता गर्ने निर्णय गर्ने भनेर फेरि पछि हट्दा अब उहाँहरुले आलोचना भोग्नुपर्छ । एकता किन नगर्ने ? कसका कारण नगर्ने ? मेरो प्रश्न छ उहाँहरुलाई । के कारणले एकताबाट पछि हट्दै हुनुहुन्छ ? जनता र कार्यकर्तालाई जवाफ दिन तयार हुनुस् ।

मैले दोहोर्‍याएर भन्छु- एकतामा विलम्व गर्नुपर्ने कुनै वस्तुगत र नीतिगत कारण छैन । अविलम्व एकता गरौं, ९ गते नै एकता गरौं । यदि नेताहरुले ९ गते एकता गर्नुहुन्न भने स्वाभाविकरुपमा नेताहरुविरुद्ध जनता र कार्यकर्ताहरुबाट आलोचना शुरु हुन्छ ।

पार्टी एकता रोक्न त कसैले सक्दैन । एकता रोक्ने ताकत अब नेपालमा कसैसँग छैन । तर, विलम्व गर्दा केपी शर्मा ओली र प्रचण्डको आलोचना हुनेवाला छ । उहाँहरुले जवाफ दिनुपर्छ ।

जवाफ त क्लियर छ नि, प्रचण्डलाई उधारोमा होइन लिखतमा भावी अध्यक्ष र प्रधानमन्त्रीको ग्यारेन्टी नभएसम्म एकता होला र ?

त्यसरी माओवादी अध्यक्ष प्रचण्डले बोल्नुभयो भन्ने मलाई पत्यार छैन । मैले अघि नै भनिसकेँ, उहाँले पब्लिकली भन्नुभएको छ-प्रधानमन्त्रीको कार्यकाल आधा-आधा गर्ने होइन । पूरै ५ वर्ष केपी ओलीले नै सरकारको नेतृत्व गर्ने भनिसक्नुभएको छ । प्रधानमन्त्री बीचमा फेरिने कुरा छैन ।

रहृयो सवाल अध्यक्षको कुरा, महाधिवेशनबाट को अध्यक्ष बन्छ भन्ने कुरा अहिले केपी शर्मा ओलीले प्रचण्डलाई वा एकता संयोजन समितिलाई फलानो अध्यक्ष बन्नेछ भनेर लिखित वा मौखिक एगि्रमेन्ट गर्ने अधिकार छैन । अहिले नै अध्यक्ष तोकेर हिँड्ने अधिकार कसैलाई छैन, त्यो केपी ओलीले प्रचण्डलाई लेखेर दिने अधिकार नै छैन ।

भोलि प्रचण्डलाई अध्यक्ष मानेर जान तपाई एमाले नेताहरुलाई संकोच किन ?

हामी एकीकृत पार्टी बनाउँदैछौं । एकीकृत पार्टीका विभिन्न नेता जो कोही पनि अध्यक्ष बन्न सक्नुहुन्छ । अध्यक्ष बन्ने प्रक्रियाले हो ।

महाधिवेशनले अध्यक्ष छान्ने हो । सर्वसम्मतिले अध्यक्ष छान्ने हो, सर्वसम्मति नभए मतदान होला । तर, यो कुरा अहिले भन्न सकिन्न ।

तपाईहरुले प्राणभन्दा प्यारो ठान्ने जनताको बहुदलीय जनवाद त स्थगन गरिसक्नुभयो भने अब प्राविधिक कुरामा किन अल्झिने ? अलि उदार बनेर प्रचण्डलाई माने हुन्न ?

जबजको कन्टेन्टको सन्दर्भमा, त्यसको अन्तरवस्तुका सन्दर्भमा कुनै स्थगनको कुरा छैन । पार्टी एकतासम्बन्धी कार्यदलका दस्तावेजहरुले के कुरा बोलेका छन् भने जबजले जे जे कुरा मानेको छ, त्यो उल्लेख गरेका छन् ।

राज्यसत्ता सञ्चालन गर्ने र संगठित गर्ने लोकतान्त्रिक विधि कम्युनिस्ट पार्टीले अवलम्वन गर्नुपर्छ भन्ने जबजको जुन अन्तरवस्तु हो, हामीले प्रष्ट उल्लेख गरेका छौं । अब त्यो अन्तरवस्तुलाई हिजो हामीले जबज भनेर नामाकरण गर्‍यौं । अब महाधिवेशनसम्म छलफल गरौं भनेका छौं । जबजभन्दा कुनै सुन्दर नाम आयो भने त्यो राखौंला ।

मेरो कुरा भन्नुहुन्छ भने महाधिवेशनसमा छलफल खुला हुनेछ भनेको हुनाले जनताको बहुदलीय जनवादको नामाकरण र अन्तरवस्तु दुवै हिसाबले उपयुक्त छ । छलफलको अधिकारलाई म यसरी उपयोग गर्छु ।

भन्नुको मतलब, भोलि महाधिवेशनमा जबजको च्याप्टर फेरि खोल्ने तयारी तपाईहरुको हो ?

जबजको च्याप्टर क्लोज भएकै छैन । यसको अन्तरवस्तुलाई एमाले र माओवादीको सहमतिको सातबुँदे दस्तावेजले स्वीकार गरेको छ । जबजले अघि सारेको अन्तरवस्तु स्वीकार गरिसकेको हुनाले च्याप्टर क्लोज भन्ने कुरै छैन ।

जबजको कन्टेन्टमा आपत्ति छैन भने नामाकरणमा आपत्ति किन भन्नेबारे भोलि महाधिवेशनमा छलफल होला । अहिले नै म जबजको नामाकरणका बारेमा धेरै बहस गरेर विषयान्तर चाहान्न । त्यो महाधिवेशनले टुंगो लगाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment