Comments Add Comment

दोधारमा ओलीः पहिले चीन जाने कि मोदीलाई काठमाडौंमा स्वागत गर्ने ?

मेलेम्चीमा ठेकेदारको अवरोध, पूर्वमन्त्रीसहित ५० लाई क्लिन चिट


आज आइतबार, राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले सदाझै विविध विषयहरुलाई समेटेका छन् । पत्रपत्रिकाहरुले सबैखाले सामग्रीलाई पत्रिकामा स्थान दिएका भए पनि पहिलो पृष्ठमा भने राजनीतिक विषयले नै बढी महत्त्व पाएको छ ।

राजनीतिक विषयमा एमाले–माओवादी एकता प्रक्रिया सबैजसो दैनिक पत्रिकाको आँखामा परेको छ । पत्रपत्रिकाहरुले विभिन्न शीर्षकमा जारी प्रक्रियाबारे खबर लेखेका छन् । केहीले दुई पार्टीका अध्यक्षले आज एकता सन्देश दिने सारको समाचार छापेका छन् भने केहीले अल्झन आएको दाबी गरेका छन् ।

रेलमार्ग अनुदानमा बनाइदिन नेपालले चीनसँग गरेको आग्रहलाई पनि आजका पत्रपत्रिकाहरुले नछुटाइकन लेखेका छन् । चीन भ्रमणबाट शनिबार फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन–नेपाल सीमापार रेल निर्माण अनुदानमा गरिदिन चीनसमक्ष प्रस्ताव गरेका हुन् । केरुङबाट काठमाडौंसम्म रेल ल्याउन तीन खर्ब रुपैयाँभन्दा बढी लाग्ने प्रारम्भिक अनुमान छ ।

नयाँ पत्रिका दैनिकले यातायातमा २० वर्षको विकासलाई केलाएको छ । समाचार अनुसार यो अवधिमा सडक ५६ र गाडी २० गुणाले वृद्धि भएको छ । २० वर्षअघि एक किलोमिटर सडकमा १८ गाडी गुड्ने गरेकोमा अहिले ४१ गुडिरहेका छन् ।

यसका अतिरिक्त मोदी नेपाल भ्रमणमा आउन लागेको, ठेकेदारले मेलम्ची खानेपानी आयोजना निर्माण रोकेको लगायत खबरले पनि उत्तिकै महत्त्व र स्थान पाएका छन् ।

दोधारमा ओलीः पहिले चीन जाने कि मोदीलाई काठमाडौंमा स्वागत गर्ने ?


भारतको तीनदिने राजकीय भ्रमणलगत्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बेइजिङ पठाएका प्रधानमन्त्री केपी शर्मा ओली पहिला चीन भ्रमण गर्ने कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंमा स्वागत गर्ने दोधारमा छन् ।

कान्तिपुर दैनिक लेख्छ– ज्ञवालीको भ्रमणका क्रममा चीनले ओलीलाई स्वागत गर्न आतुर रहेको सन्देश दिएको छ भने कूटनीतिज्ञहरुले भारतीय समकक्षीलाई चीन भ्रमणअगावै काठमाडौंमा स्वागत गर्न सुझाएका छन् । यसले प्रधानमन्त्रीलाई निर्णय लिन थप कठिन बनाएको छ ।

स्रोतको हवाला दिँदै कान्तिपुर अगाडि लेख्छ– मोदी काठमाडौं ओर्लनुअघि नै प्रधानमन्त्री बेइजिङ पुगेर फर्कनेबारे आन्तरिक छलफल चलिरहे पनि निर्णय हुन बाँकी छ । भारतीयले उक्त चाहना कूटनीतिक माध्यमबाट व्यक्त गरिसकेको भए पनि त्यसको निर्णय भएको छैन ।

प्रधानमन्त्री भएपछि पहिला दिल्ली जाने परम्परालाई निरन्तरता दिएका ओलीलाई चीन भ्रमण तत्काल गर्न एक प्रकारको दबाव छ । परराष्ट्र मन्त्रालयमा प्रधानमन्त्रीको उत्तर यात्राबारे लगातार छलफल भइरहे पनि कुन पहिला भन्ने टुंगो लाग्न सकेको छैन ।

माओवादीका यी नेताले पाए अख्तियारबाट ‘क्लिन चिट’


पूर्वस्वास्थ्यमन्त्री एवं बहालवाला शिक्षामन्त्री गिरिराजमणि पोखरेल, पूर्वऊर्जामन्त्री जनार्दन शर्मा र सरकारका पूर्वसचिव शान्तबहादुर श्रेष्ठसहित ५० जनालाई भ्रष्टाचार र अकुत सम्पत्तिको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सफाइ दिएको छ ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, सफाइ पाउनेमा पूर्वएआईजी, महानिर्देशक, विश्वविद्यालयका उपकुलपतिसमेत छन् ।

पूर्वस्वास्थ्यमन्त्री पोखरेलमाथि त्रिभुवन विश्वविद्यालयले एमबीबीएस भर्नाका लागि लिएको प्रवेश परीक्षामा भएको अनियमिततामा संलग्न भएको आरोप लगाइएको थियो । पोखरेलको संलग्नतामा प्रश्नपत्र गोपनीयता भंग भएको भन्दै छानबिन गर्न माग गरिएको थियो । तर उनलाई अख्तियारले क्लिन चिट दिएको छ ।

यस्तै बूढीगण्डकी जलविद्युत्त आयोजनाको विस्तृत अध्ययनका लागि प्रस्ताव पेश गरेका २४ ठेकेदार कम्पनीमध्ये मूल्यांकन समितिको अन्तिम सिफारिसमा परेका ६ कम्पनीबाट बिनाआधार स्वेच्छाचारी रुपमा शर्मा नेतृत्वको ऊर्जा मन्त्रालय र विद्युत्त प्राधिकरण समतिले तीनवटालाई अयोग्य घोषित गरिएको भन्दै अख्तियारमा मुद्दा परेको थियो ।

ठेकेदारले रोके मेलम्ची, दशैंको लक्ष्य अनिश्चित

सरकारले काठमाडौंमा मेलम्चीको खानेपानी आगामी दशैंंसम्म ल्याउने दाबी गरे पनि काममा भएको ढिलासुस्तीका कारण समयसीमाभित्र उपत्यकावासीको अपेक्षा पूरा नहुने भएको छ । मेलम्चीको सुरुङ खन्ने काम सकिए पनि अहिले आयोजनाको काम पूर्णरूपमा रोकिएको अन्नपूर्णमा खबर छ ।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्तले ठेकेदारले काम रोकेको जानकारी दिए । उनले भने, ‘हामीले दिनुपर्ने भुक्तानी दिइसकेका छौं । तर, काम रोकिएको छ । काम कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल जारी छ ।’

फाइल फोटो

आयोजनाको सुरुङ खन्ने काम सकिए पनि ‘फिनिसिङ’ हुन सकेको छैन । अहिलेसम्म ३.६ किलोमिटर मात्र सुरुङ फिनिसिङ’ भएको छ । सुरुङलाई पूर्ण रुपमा ढलान गरेपछि मात्र यसमा पानी पठाउन सकिन्छ ।

इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी)ले पैसा अभाव भएपछि एक अर्ब ६५ करोड भेरियसन दाबी गर्दै आएको अन्नपूर्णको समाचारमा उल्लेख छ । चिनियाँ कम्पनीले काम छाडेपछि सरकारले सीएमसीसँग २०१४ मा तयारी सुरुङ निर्माण र हेडवक्र्सको कामका लागि सम्झौता गरेको थियो । सात अर्ब ७१ करोड रुपैयाँमा काम सक्ने गरी भएको सम्झौताअनुसार अहिलेसम्म सुरुङ खन्ने काम मात्र सकिएको छ । अहिलेसम्म हेडवक्र्स (इन्टेक) का लागि माटो काट्ने काम मात्र भएको छ भने सुरुङ फिनिसिङको काम भएको छैन ।

आयोजनाका सिनियर डिभिजन इन्जिनियर पन्तले सुरुङ निर्माणको काम नसक्दासम्म पानी फर्काउन नसकिने बताए ।

सामुदायिक विद्यालयमा मासिक शुल्क  !

सरकारले तामझामसाथ विद्यालय भर्ना अभियान सञ्चालन गरिरहेको छ । तर कपिलवस्तुमा भने सामुदिायक विद्यालयको मासिक शुल्क तिर्न नसकेकै कारण सयों विद्यार्थी शिक्षाबाट वञ्चित भएका छन् ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–१ को एक दलित वस्तीका छात्रछात्रा सामुदायिक विद्यालयले लिने मासिक शुल्क तिर्न नसकेकाले शिक्षाबाट वञ्चित भएका छन् । महाराजगञ्जमा अवस्थित जानकी माविले विद्यार्थीबाट सहयोग शुल्कबापत मासिक मासिक शुल्क लिने गरेको छ ।

महाराजगञ्ज नगरपालिकाको कार्यालयनजिकै रहेको विद्यालयले कक्षा ४ देखि १० सम्म मासिक शुल्क उठाउँदै आएको समाचारमा उल्लेख छ । झण्डै १२ सय ५० विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा कक्षा ४ देखि १० कक्षासम्म नै सहयोग रकममार्फत मासिक शुल्क उठाउने गरिएको छ । कक्षा ४ विद्यार्थीसँग २५ र १० का विद्यार्थीसँग मासिक ८० रुपैयाँसम्म लिने गरिएको छ ।

होटल बन्यो मन्त्री निवास

कर्णाली प्रदेशमा मन्त्रिपरिषद् गठन भएको दुई महिनाभन्दा बढी भयो । सात सदस्यीय मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित ६ जना मन्त्री सरकारी निवासमै बस्छन् । प्रदेश सरकारका एक जना मन्त्री भने अहिले पनि होटलमा बस्दै आएका छन् ।

नागरिक दैनिकका अनुसार, सविधायुक्त सरकारी निवास नपाएपछि भौतिक पूर्वाधार विकास मन्त्री दीपक खड्क खत्री वीरेन्द्रनगरको राप्ती होटल एण्ड लजमा बस्दै आएका हुन् ।

खत्री प्रदेश सांसदमा निर्वाचित भएदेखि नै राप्ती होटलमा दुई कोठा भाडामा लिएर बस्दै आएका थिए । मन्त्री भएपछि पनि उनी त्यही बसिरहेका छन् ।

होटलमा मन्त्रीसहित उनको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी र निजी सहायक पनि बस्छन् । उनलाई भेट्न चाहनेहरु होटलमा नै आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment