Comments Add Comment

प्रचण्डनिवासको निष्कर्षः एमालेभित्रै कुरा मिलेको छैन, एकताको मिति नतोकौं

९ वैशाख, काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको माओवादी केन्द्रीय कार्यालयको बिस्तारित बैठकले पार्टी एकताका लागि अग्रिम मिति तोक्नु उपयुक्त नहुने निष्कर्ष निकालेको छ । एकताका लागि अझै एक-दुई महिना लाग्नसक्ने बैठकको निष्कर्ष छ ।

बैठकपछि प्रवक्ता पम्फा भुसालले भनिन्, ‘ठ्याक्कै तिथि तोक्न सकिन्न । अलिकति टाइम लेला, तर एकता अनिवार्य छ ।’

बैठकमा अध्यक्ष प्रचण्डले एमाले नेताहरुसँग एकताको विषयमा भइरहेको छलफलको प्रगतिबारे जानकारी गराएका थिए ।

सैद्धान्तिक, राजनीतिक र सांगठनिक विषयमा विषयमा सहमति र समझदारी कायम गर्ने कुरामा सकारात्मक ढंगले कुराकानी अगाडि बढेको प्रचण्डले बैठकमा व्रिफिङ गरेका थिए ।

प्रचण्डको भनाइ उद्धृत गर्दै प्रवक्ता भुसालले भनिन्, ‘दुवै पार्टीका नेता, कार्यकर्ता र नेपाली जनताले अनुमोदन गरेको अहिलेको राष्ट्रको आवश्यकतामा पार्टीको एकता सम्पन्न गर्ने कुरा सुनिश्चित छ । त्यो पार्टी एकता सिद्धान्तनिष्ठ, समानता, सम्मानजनक र न्यायोचित आधारमा हुनेछ ।’

बैठकमा केन्द्रीय नेताहरुले आफ्ना सुझाव राखेका थिए । प्रायः सबै नेताहरुले पार्टी एकता आवश्यक भएको बताएका थिए । जवाफमा प्रचण्डले नेताहरुको व्यवस्थापन नभएर एकता रोकिएको भन्ने कुरा सही नभएको बताएका थिए ।

‘एमालेमै कुरा मिलेको छैन’

यसैबीच बैठकमा सहभागी अर्का एक नेताका अनुसार एमालेकै नेताहरुबीच कुरा मिल्न बाँकी रहेकाले एकता प्रक्रियाले अझै केही समय लिने प्रचण्डलगायतका नेताहरुको निष्कर्ष छ ।

बैठकमा उठेको प्रसंग उल्लेख गर्दै माओवादी स्रोतले भन्यो, ‘एमालेकै नेताहरुबाट विरोधाभासपूर्ण कुराहरु आइरहेका छन् । कहिले एकथोक भन्छन्, कहिले अर्कोथोक भन्छन् । त्यसैले एकताका लागि अहिल्यै मिति तोक्न सकिन्न, एकाध महिना अझै छलफल आवश्यक छ ।’

यसअघि एमाले र माओवादीबीच वैशाख ९ गते अर्थात् आज पार्टी एकताको घोषणा गर्ने सहमति भएको थियो । तर केही प्राविधिक विषयमा कुरा नमिलेकाले आजको मिति टरेको छ ।

दुई पार्टीबीच जनयुद्ध शव्द, चुनाव चिह्न र केन्द्रीय समितिमा कति-कति जना सदस्यहरु रहने भन्ने विषयमा कुरा मिल्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment