Comments Add Comment

सडकको ओटासिलसँगै एकै वर्षमा बग्यो साढे ६ अर्ब

९ वैशाख, काठमाडौं । ओटासिल प्रविधिलाई सहीसँग प्रयोग नगरिँदा एकै वर्षमा करिब साढे ६ अर्ब रुपैयाँ लगानी खेर गएको छ । अहिले पनि सम्झौता भइसकेका सडकमा यो प्रविधिमा सडक कालोपत्रे गर्ने काम भने जारी छ ।

विश्व बैंकले ग्रामीण सडकका लागि उपयोगी भन्दै ओटासिल प्र्रविधि नेपालमा भित्र्याएको थियो । नेपालको सडकमैत्री नभएको यो प्रविधिमा ठेकेदार कम्पनीले पनि राम्रोसँग काम नगर्दा हरेक सडकमा समस्या आएको छ ।

महालेखा परीक्षकको ५५ औं वार्षिक प्रतिवेदनले भने सरकारी निकायको बेवास्ताका कारण पनि ओटासिल असफल भएको जनाएको छ ।

ओटासिलको प्रविधिको उपयोगिता नेपाली सडकमा हुँदै नभएको भन्दै सडक विभाग र स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागले अब नयाँ आयोजनाहरुमा यसको प्रयोग नगर्ने निर्णय गरिसकेका छन् ।

गत आर्थिक वर्षमा सडक कालोपत्रे, मर्मत र स्याण्डसिल गर्न ६७ योजनामा ओटासिल प्रविधि प्रयोग भएको छ । जसमा ६ अर्ब ६ अर्ब ३९ करोड ८ लाख रुपैयाँ खर्च भएको छ । यो रकम बालुवामा पानी खन्याएजस्तै भएको छ ।

महालेखाको प्रतिवेदनअनुसार ओटासिल प्रविधिले अपेक्षित नतिजा दिन नसक्ने अवस्था हुँदाहुँदै मकवानपुरको कुलेखानी-फाखेल-हुमानेभञ्ज्याङ सडक पहिलो चरणमा भएको त्रुटी पनि नसच्याई काम हुँदा लगानी खेर गयो ।

अत्यधिक वर्षा तथा हिमपात हुने मकवानपुरको दामन डाँडाबास बैकुण्ठ खैराङ्ग काँकडा सडकमा पनि त्यही समस्या देखियो । धेरै पानी पर्नेे र सवारी चाप बढी हुने कास्कीको सराङकोट-नौडाडा-कास्कीकोट सडकमा पनि सरकारले पैसा मात्रै खन्यायो ।

ओसिलो भूगोल भएको पाल्पाको हार्थोक-छहरा-टिंग्रे सडक, अत्यधिक नदीजन्य सामाग्री ढुवानी हुने कपिलवस्तुको सिवलवा-लबनी-एमआरएम सडक, अत्यधिक सवारी साधन चल्ने नवलपरासीको दलदले मुन्दे सडक र सवारी चाप, ग्रेड र घुम्ती धेरै भएको तनहुँको दुलेगौडा-साँखे-राईपुर लगायत सडकमा कामै नलाग्ने गरी ओटासिल बिछ्याइएको छ ।

लागत अनुमान तथा ठेक्का व्यवस्थापनको समयमा सिआरएम लेयरको मोटाइ १० सेन्टिमिटर कायम हुनुपर्ने हो । तर धेरैजसो सडकमा १५ सेन्टिमिटर कायम गरी तथा अति भिरालो र घुम्तीमा डबल ओटासिल गर्ने गरी भेरियसन आदेश जारी गरेको अवस्था पनि पाइएको महालेखा परीक्षकको कार्यलयले आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । यसरी अवैज्ञानिक रुपमा मोटाइ बढाउँदा लागत मात्रै बढेको छैन, सडकको दुरावस्था पनि काम नसक्दै निम्तिएको छ ।

विगतमा ग्रामीण पहुँच सुधार कार्यक्रममा प्रयोग भएको प्रविधिमा सिआरएम लेयर र स्याण्ड सिल थप गरी प्रयोग गरे पनि ओटासिल गरेको ४०-४५ दिनपछि मात्रै स्याण्डसिल गर्न सकिने अवस्था हुन्छ । ओटासिलका लागि न्यूनतम तापक्रम १७ डिग्री सेन्टिग्रेड चाहिन्छ । त्यसअनुसार भदौ-कात्तिक र फागुन-जेठको समयमा यसको काम गर्नु उपयुक्त हुन्छ । तर, अधिकांश सडकमा मनलाग्दी समयमा काम भएका छन् ।

घुम्ती, ओसिलो एवं भिरालो भूगोल ओटासिलका लागि उपयुक्त हुँदैन । सर्फेस गरेको १९ दिनपछि पानी नपरेको अवस्थामा मात्र ओटासिल गर्न सकिन्छ । तर, त्यही सर्फ]{ गरेपछि सडकमा सवारी आवागन रोक्न नसकिने सडकमा पनि ओटासिल प्रविधि जबरजस्ती प्रयोग गरिएको ठहर महालेखा परीक्षकको प्रतिवेदनले पनि गरेको छ ।

सडकमा सवारी चापको अवस्थालगायतका विषयमा पर्याप्त विश्लेषण नगरी ओटासिल प्रविधि प्रयोगमा ल्याएको पाइएको महालेखा परीक्षकको पनि ठहर छ ।
‘प्रयोग गरेको प्रविधिबाट उच्च नतिजा प्राप्त गर्ने गरी आधारभूत मापदण्ड बमोजिमका कार्य सम्पन्न हुने व्यवस्था गर्नुपर्छ,’ प्रतिवेदनले भनेको छ ।
महालेखाले ओटासिलका लागि सम्झौता भएका सडकहरुमा तोकिएको समयमै काम हुन नसकेको विषय पनि औंल्याएको छ ।

यो पनि पढ्नुहोस्

असफल भएपछि सडकबाट ओटासिल प्रविधि ‘फेज-आउट’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment