Comments Add Comment

तेक्वान्दो विवादः राखेपले निम्त्याएको गलफत्ती

दुई संघको विवादले खेलाडी छनोटमा अन्यौल

९ वैशाख, काठमाडौं । नेपाली खेलकुदलाई तेक्वान्दोले लगाएको गुन चाहेर पनि भुल्न सकिँदैन । ओलम्पिकदेखि सागसम्मका अन्तर्राष्ट्रिय इभेन्टमा नेपाललाई सबैभन्दा बढी सफलता यही खेलबाट मिलेको छ ।

ओलम्पिकमा नेपाललाई पहिलो पदक (प्रदर्शनी खेलमा) दिलाउने विधान लामादेखि एसियन गेम्समा पहिलो रजत जित्ने सविताराज भण्डारीसम्म तेक्वान्दो खेलाडी थिए ।

छनोट चरण पार गर्दै ओलम्पिक खेल्ने पहिलो नेपाली संगीना वैद्य हुन् या ओलम्पिक खेल्ने दोस्रो नेपाली खेलाडी दीपक विष्ट, सबै यही खेलका उत्पादन हुन् । सागमा लगातार चार स्वर्ण, एसियाडमा दुईर् कास्यको कीर्तिमान पनि तेक्वान्दोसँगै जोडिएको छ ।

तर, १८ औैं एसियाली खेलकुदको पूर्वसन्ध्यामा तेक्वादो आन्तरिक विवादमा रुमल्लिएको छ ।

इन्डोनेसियामा खेल सुरु हुन साढे ३ महिनामात्र बाँकी रहँदा नेपालबाट कसले खेल्ने नै टुंगो छैन । नेपाल तेक्वान्दो संघले १० खेलाडी छनोट गरिसकेको छ तर, राष्ट्रिय तेक्वान्दो संघले पनि खेलाडी छनोट गरेपछि अन्यौल देखिएको हो ।

राखेपले निम्त्याएको गलफत्ती 

प्रकाशशमशेर राणा अध्यक्ष रहेको नेपाल तेक्वान्दो संघ राखेपसँगै अन्तर्राष्ट्रिय मान्यता प्राप्त संघ हो र उसले नै अहिलेसम्म खेलाडी छनोट गर्दै आएको थियो ।

तर, राखेपका तत्कालीन सदस्य सचिव युवराज लामाले कार्यकालको अन्त्यतिर राष्ट्रिय तेक्वान्दो संघ दर्ता गर्न अनुमति दिए । यद्यपि अहिले भने नेतृत्वको दबावमा दर्ता गरेको तर, त्यो गल्ती भएको उनले बताउने गरेका छन् ।

यो समूहले १७ औं एसियन गेम्समा सहभागिताबारे विवाद उब्जाउने प्रयास गरेपनि सफल भएन । यो चार वर्षको बीचमा राखेपले विवाद मिलाउने वा आफ्नो गल्ती सच्याउने कुनै प्रयास गरेन । बरु एसियन गेम्सका खेलाडी छनोटमा युवराज लामाले निम्त्याएको विवादलाई मलजल गर्ने काम गरेको छ ।

नेपाल तेक्वान्दो संघले जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय प्रतियोगिता गर्दै खेलाडी छनोट गर्‍यो । राखेपले दिएको १२ लाख बजेटमा उसले तोकेको २८ कोटामा बन्द प्रशिक्षण गर्‍यो । दुई चरणको छनोट पुरा गरी १० खेलाडी तयार पारियो ।

तर, राष्ट्रिय तेक्वान्दो संघलाई पनि बन्द प्रशिक्षण गर्न राखेपले नै बजेट दिएको पाइएको छ । साथै रंगशाला परिसरको हल प्रशिक्षण लिइरहेका खेलाडीहरुलाई ‘रेड स्टिक लागेको छ, छाड्नुस्’ भनेर त्यो हल अर्को समूहलाई दिएको छ ।

कतिपयले भने राष्ट्रिय तेक्वान्दो संघमा माओवादी निकट रहेकाहरु हावी भएको र एमालेसँग एकता गर्न लागेको मौका छोपेर खेलकुदमा अनावश्यक दबाव दिएको बताएका छन् । राखेप सदस्य सचिव केशव विष्ट र खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा एमालेकै हुन् ।

अहिले विष्ट स्वयंले दुवै संघले छानेका खेलाडीलाई भिडाउने र आफूले खेलाडी छान्ने भन्न थालेका छन् ।

‘दुबैतिर खेलाडी नै छन् । त्यसैले उनीहरुलाई मर्कामा पार्नु भएन,’ विष्टका प्रेस सल्लाहकार रोहित दाहालले अनलाइनखबरसँग भने, ‘उनीहरुलाई खेलाउँछौं र जित्नेले एसियन गेम्समा भाग लिन्छन् ।’

पूर्व खेलाडीसमेत रहेका तेक्वान्दो संघका सचिव दिपक विष्ट भने यो सम्भव नभएको बताउँछन् । उनले भने, ‘यस्तो गर्ने भए जिल्ला, क्षेत्र, राष्ट्रिय छनोट किन गर्नु ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment