Comments Add Comment

एक कुरूप व्यक्तिको सुन्दर मनोबल

दुई पटकसम्म अनुहार प्रत्यारोपण गर्नेको अपत्यारिलो कथा

फ्रान्सका जेरोम हेमोनलाई धेरैले तीनवटा अनुहार भएका व्यक्ति भनेर चिन्छन् । उनले उक्त उपाधि त्यसै पाएका हैनन् । विशेष शल्यक्रियाद्वारा एकपटक होइन, दुई-दुई पटकसम्म सम्पूर्ण अनुहारको प्रत्यारोपण गर्ने हेमोन सम्भवतः विश्वकै पहिलो व्यक्ति हुन् ।

हेमोनको दुवै शल्यक्रिया जर्ज पम्पिडओ युरोपियन हस्पिटल, पेरिसका सर्जन डा. लरेन्ट ल्यान्टेरीले गरेका थिए । गत जनवरीमा गरिएको दोस्रो शल्यक्रिया पश्चात हेमोनको अवस्था हाल सुधारोन्मुख छ ।

जब अनुहार कुरूप भयो

फ्रान्सका किताब विक्रेता हेमोन, न्युरोफाइब्रोमेटोसिस नामक वंशाणुगत रोगबाट पीडित थिए, जसले उनको अनुहारलाई क्रमशः कुरूप बनाउँदै लगेको थियो । यही रोगका कारण उनी यति धेरै कुरूप भए कि सन् २०१० मा डा. ल्यान्टेरीले पहिलोपटक हेमोनको सम्पूर्ण अनुहारको शल्यक्रिया गरेर अनुहारको माथिल्लो पत्र नै हटाइदिएका थिए । कतिसम्म भने उनको आँखाको माथिल्लो भाग आइलिड तथा आँखाबाट आँसु निस्कने ग्रन्थिसमेत हटाइएको थियो ।

६५ वर्षे एक दाताको छाला प्रयोग गरेर डा. ल्यान्टेरीले हेमोनको स्किन ग्रुपद्वारा सम्पूर्ण अनुहारकै सफल प्रत्यारोपण गरेका थिए । निलो आँखाबाहेक अनुहारको सबै भाग निकालेर गरिएको उक्त प्रत्यारोपणपछि हेमोनको जीवनले नयाँ मोड लियो ।

ती मोडहरू गन्तव्यसम्म पुग्न नपाउँदै उनकेा जीवनमा ठूलो समस्या आइलाग्यो । प्रत्यारोपण गरेको

करिब पाँच वर्षपछि उनी नराम्रोसित रुघाखोकीको सिकार भए । चिकित्सकहरूको सल्लाहमा उनले एन्टीबायोटिक्स सेवन गरे । उक्त एन्टीबायोटिक्स प्रत्यारोपण प्रतिरोधी थियो । हेमोनको शरीरले तत्काल अनुहारलाई स्वीकार गर्न छोड्यो ।

तत्काल चिकित्सकहरूले हेमोनको अनुहार पुनः एकपटक प्रत्यारोपण गर्ने निधो गरे । उनको नाम राष्ट्रिय प्रत्यारोपणको प्रतीक्षा सूचीमा राखिदिए ।

चिकित्सकहरूले हेमोनलाई प्रस्ट भनिदिए, ‘उनको पहिलो प्रत्यारोपण गुणस्तरीय जीवनका लागि गरिएको थियो भने दोस्रो उनको जीवनका लागि थियो ।’


हेमोनको पहिलेको प्रत्यारोपण नष्ट हुने क्रम सुरु भयो । छाला कडा हुन थाल्यो । गत नोभेम्बरमा हेमोनको सम्पूर्ण अनुहार हटाउन चिकित्सकहरू बाध्य भए । डा. ल्यान्टेरीका अनुसार अनुहारका सम्पूर्ण छाला हटाउँदा हेमोन ‘भूत’ भन्दा कम थिएनन् ।

विना छाला रहँदा जीवाणुहरूको संक्रमणका कारण सेप्टीसिमिया (गत प्वाइजनिङ हुने समस्या) भई मानिसको मृत्यु समेत हुनसक्ने सम्भाव्यतालाई ध्यानमा राखेर चिकित्सकहरूले विना छालाका हेमोनलाई झण्डै दुई महिनासम्म उच्च सुरक्षा सहितको स्टेरियलाइज कक्षमा राखेका थिए । उक्त कक्षमा रहँदा ओठसम्म नभएका कारण हेमोन न त चल्न सक्थे, न त पिउन नै, न त खान सक्थे, न त प्राकृतिक रूपमा सास फेर्न नै ।

हेमोनको कान समेत हटाइएका कारण उनी मुस्किलले सुन्न सक्थे । आइलिड नभएका कारण उनी आँखा समेत हेर्न सक्दैनथे ।

केही कुरा भन्नु परेमा उनी आइप्याडमा लेख्थे ।

‘त्यस दौरान उनले न त कहिल्यै गुनासो गरे, न त आपत्ति नै जनाए । बरु सधैं राम्रो मुडमा देखिन्थे’, प|mेन्च टेलिभिजनसितको कुराकानीमा उनको उपचारमा संलग्न एनेस्थेसिस्ट बर्नाड कोलीले भने ।

अन्ततः नयाँ जीवन

गत जनवरीको मध्यतिर ब्रेन डेथबाट मृत्यु भएका एक २२ वषर्ीय किशोरबाट हेमोनले नयाँ छाला प्राप्त गरे । परिवारको सहमति पश्चात्त नै डा. ल्यान्टेरीले हेमोनको दोस्रो पटक सम्पूर्ण अनुहारको प्रत्यारोपण गरेका थिए ।

‘अमेरिकामा प्रत्यारोपणका लागि व्यक्ति दाता हुनु आवश्यक छ । तर फ्रान्समा सम्बन्धित व्यक्तिको स्वीकृति नै काफी छ’, डा. ल्यान्टेरीले अन्तवार्ताका क्रममा भने । यो प्रावधान अनुसार हामीलाई विशेष अधिकारको आवश्यकता पर्दैन । यद्यपि अनुहारको प्रत्यारोपण गर्दाचाहिँ परिवारको अनिवार्य स्वीकृति लिने गर्छौं,’ उनले भने ।

प्रत्यारोपण पश्चात दाताका परिवारले उनलाई हेर्न पनि चाहेका थिएनन् । तर चिकित्सकहरूले भने आˆनो कर्तव्य ठानेर ती दाताका लागि प्रोस्टेटिक (नक्कली अनुहार)मास्कको निर्माण गरिदिए ।

हेमोनको दोस्रो शल्यक्रिया सुरु हुनुअघि चिकित्सकहरूले शल्यक्रियाका क्रममा आइपर्ने जटिलता रोक्न महिना दिन लामो प्रक्रियामार्फत उनको शरीरको सम्पूर्ण रगत समेत बदलिदिए । अस्पतालको मेडिकल टिमले करिब २४ घण्टा लगाएर उनको अनुहार प्रत्यारोपण गर्‍यो । शल्यक्रियामा तीस जना स्वास्थ्यकर्मी संलग्न थिए ।

पहिलो प्रंत्यारोपणका क्रममा उनको रक्तनली निकै खराब अवस्थामा रहेका कारण शल्यक्रियाका दौरान केही अप्ठ्याराहरु नआएका हैनन् । तर पनि परिश्रमको फल राम्रै आयो । शल्यक्रिया सफल भयो । शल्यक्रिया सकिने बेलामा उनको अनुहारको रङ्ग रातो हुँदै आयो ।

हेमोन अझै खान सक्दैनन् । उनलाई बोल्न पनि निकै अप्ठेरो महसुस हुने गर्छ । अनुहारको छालाले हड्डीलाई राम्ररी समातिसकेको छैन । यस दौरान उनको तौल पनि धेरै घटिसकेको छ । यद्यपि उनको साहस थोरै पनि कम भएको छैन । ‘उनी अहिले थकित छन् तर डिप्रेसनमा छैनन् । म यति विश्वस्त छु कि उनको उपचारले कुनै कुरा अस्वीकार गरेको छैन’, डा. ल्यान्टेरीले भने ।

४० वटा अनुहारको प्रत्यारोपण

एक तथ्यांक अनुसार सन् २००५ मा फ्रेन्च महिला इजावेल डिनोइरको पहिलो पटक अनुहारको प्रत्यारोपण गरिएसँगै हाल विश्वभर ४० वटा भन्दा बढी अनुहारको सफल प्रत्यारोपण भइसकेको छ । जसमध्ये सबैभन्दा धेरै अर्थात् झण्डै एक तिहाइ प्रत्यारोपण फ्रान्समा हुने गरेको छ ।

यस हिसाबले सम्पूर्ण अनुहारको प्रत्यारोपण गर्ने तथा विना अनुहार झण्डै दुई महिनासम्म जीवित रहनेमा हेमोन एक्ला छैनन् । उनी भन्दाअघि पनि धेरैकोे यस किसिमको प्रत्यारोपण भइसकेको छ ।

मंगलबार एक फ्रेन्च टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा हेमोनले आफ्नो  जीवनकालमा ६० वर्षका वृद्धदेखि २२ वर्षे युवकसम्मको अनुहार प्रत्यारोपण गरेको जिकिर गरे । भने, ‘अहिले म ४३ वर्षको भएँ । तर मेरो अनुहार २२ वर्षे दाताको छ । त्यसैले म अहिले २० वर्ष कम उमेरको भएको छु ।’

हेमोन शल्यक्रिया तथा उपचारमा लागेको खर्च करिब २ लाख ५० हजार युरो फ्रान्सस्थित फ्रेन्च  पब्लिक हेल्थ केयर सिस्टमले तिरिदिएको छ ।

प्रत्यारोपणमा नयाँ संभावना

हेमोनको यो शल्यक्रियासँगै अनुहार कुरूप हुने समस्याबाट पीडितहरूमा नयाँ आशा पलाएको छ । यद्यपि यस किसिमका आठवटा शल्यक्रिया गरिसकेका चिकित्सक डा. ल्यान्टेरीले भने यस्ता शल्यक्रियालाई सामान्य तरिकाले लिन भने नमिल्ने बताए ।

यो आफैंमा जटिल शल्यक्रिया हो । यसमा दाता खोज्नुदेखि जटिलता हुने सम्भावना समेत अत्यधिक हुने गर्छ । त्यस्तै यस किसिमको शल्यक्रिया सामान्य ठाउँमा गर्न पनि सम्भव छैन । त्यसमा पनि अनुहारको दोस्रो पटक प्रत्यारोपण गर्नु भनेको विरलै हो ।

‘यो एउटा अनुभव थियो, जसलाई म फेरि दोहोर्‍याउन चाहन्न’ डा. ल्यान्टेरीले भने, ‘मैले मात्र हैन, शायद उनले पनि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment