Comments Add Comment

क्रिकेट रंगशालालाई गोदावरी नै किन छानियो ? मनोज गजुरेलले खुलाए कारण

९ वैशाख, काठमाडौं । हास्यव्यंग्य कलाकार सीताराम कट्टेल धुर्मुसले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेसँगै उनलाई धेरै व्यक्तिहरुले दह्रो आडभरोसा दिइरहेका छन् । तीमध्ये एक हुन् हास्यव्यंग्यकर्मी मनोज गजुरेल ।

रंगशाला निर्माण अभियानको प्रारम्भदेखि निरन्तर उनी धुर्मुसको वरीपरी छन् । हरेकजसो स्थलगत भ्रमण तथा छलफल भेटघाटहरुमा उनको सहभागिता रहेको छ ।

देश विकासको अभियानमा समाजका हरेक तह र तप्काका नागरिकहरुको योगदान हुनुपर्ने मान्यता राख्ने गजुरेल धुर्मुसको विगतको कार्यसम्पादनको आधारमा उनलाई नेता मानेर हिँडेको बताउँछन् । धुर्मुसले हालै क्रिकेट रंगशाला ललितपुरको गोदावरीमा बनाउने फाइनल गरेका छन् ।

गोदावरी नै किन ?

धुर्मुसको टिमले रंगशाला निर्माणका लागि देशका विभिन्न स्थानहरुमा रहेका सरकारी जग्गाको स्थलगल निरीक्षण गर्‍यो ।

काठमाडौंदेखि, मुलपानीदेखि भैरहवा, पोखरा, चितवन र हेटौडा लगायतका स्थानहरुमा निरीक्षणमा गजुरेल पनि पुगे । अन्त्यमा ललितपुरको गोदावरीमा रहेको एक सय २८ रोपनी जग्गा छनोट गरिएको छ ।

यो जग्गा छनोट गर्नुको कारणबारे प्रश्न गर्दा गजुरेलले विज्ञ टोलीले विभिन्न दृष्टिकोणबाट अरुभन्दा उत्तम ठहर्‍याएको बताए ।उनले तीन कारणहरु दिँदै भने, ‘पहिलो, यो ठाउँ पर्यटकीय हिसाबले उत्कृष्ट छ । भोलि विदेशी खेलाडीहरु आउँदा यहाँको दृश्यावलोकनबाट पनि आनन्द लिन सक्छन् । दोस्रो, निर्माण सहजताको दृष्टिकोणले यो ठाउँ उपयुक्त छ । गह्रा-गह्रा भएकाले प्याराफिट बनाउन सजिलो हुने देखिन्छ ।

तेस्रो, हामीले काठमाडौंको केन्द्र भागभन्दा अलि बाहिरी क्षेत्र चाहेका थियौं । यो ठाउँ काठमाडौंको बाहिरी भाग छ तर धेरै टाढा छैन । दर्शकहरुलाई आउन पनि असुविधा हुँदैन ।’

तर, काठमाडौं बाहिर बनाएको भए राम्रो हुन्थ्यो भन्ने कतिपयका प्रतिक्रियाहरु पनि आइरहेका छन् नि ? भन्ने प्रश्नमा उनले भने, ‘जेजस्ता प्रतिक्रियाहरु आएका छन्, राम्रो भावनाबाटै आएका हुन् । हामीले तीनलाई मनन गर्नुपर्छ । तर, जुन ठाउँ रोजेको भए पनि प्रतिक्रिया त आउँथे नै । हामीले सर्वजन हितायः गर्न नसके पनि बहुजन हितायः को मान्यतालाई अंगालेका छौं ।’

काठमाडौ नै रोज्नुमा उनले अन्तर्राष्ट्रिय विमानस्थलको सुविधालाई मुख्य कारकतत्वका रुपमा औंल्याए ।

‘सरकारी काम गराई हेर्दा विभिन्न स्थानमा निर्माण गर्ने भनिएका अन्तर्राष्ट्रिय विमानस्थल ५-६ वर्षमा पनि पुरा होलान् भनेर विश्वास गर्न सकिन्न । हामीले डेढदेखि २ वर्षमा निर्माण गर्ने भनेका छौं । रंगशाला निर्माणपछि अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना हुँदा अन्तर्राष्ट्रिय विमानस्थल अपरिहार्य हुन्छ । त्यसैले काठमाडौं रोज्नुपरेको हो ।’

साथै रंगशालाको आवश्यकताका आधारमा पनि काठमाडौंलाई प्राथमिकता दिइएको उनले उल्लेख गरे ।

‘मूलपानी कहिले बन्ने हो, कहिले । देशको राजधानीमा एउटा क्रिकेट रंगशाला अत्यावश्यक भइसक्यो । यहाँ बनाएपछि विभिन्न प्रदेशमा त्यहाँकै सरकारले पनि निर्माण गर्न तात्नेछन्,’ गजुरेलले भने ।

यसैबीच, आइतबार बिहानै धुर्मुससहितको एक टोलीले गोदावरीको जग्गा निरीक्षण गरेको छ । निरिक्षण टोलीमा क्रिकेटरहरु पारस खड्का, ज्ञानेन्द्र मल्ल, कलाकार गजुरेल, गायक प्रमोद खरेल, सांसद नवराज सिलवाललगायत थिए ।

गोदावरीमाथि फेरि पनि पुनर्विचार हुन सक्छ ? भन्ने प्रश्नमा गजुरेलले भने, ‘संविधानमा लेखिएका अक्षरहरु त परिवर्तन हुन सक्छन् भने यो त सरकार र हामीबीच समझदारीको कुरा न हो । असम्भव भन्ने केही छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment